• २० चैत २०८१, बुधबार

खोर्लावेशीमा पाँच करोडको लागतमा बेलीब्रिज निर्माण हुने

blog

गुणबहादुर रोका

सुलीकोट, चैत १९ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, खोर्लावेशीस्थित मिङरुङ खोलामा करिब ५ करोडको लागतमा बेलीब्रिज निर्माण हुने भएको छ । 

गाउँपालिकाको समन्वय तथा टाइम्स इनर्जी प्रा.लिको आर्थिक एवं प्राविधिक सहयोगमा मिङरुङ खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । 

"बर्खाका बेला सवारीसाधन ओहोरदोहोर गर्न कठिनाइ हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या हुँदै आएको छ", उहाँले भन्नुभयो, "पालिका क्षेत्रमा हाइड्रो निर्माण गर्न लागेकाले टाइम्स इनर्जीेको सामाजिक उत्तरदायित्वको बजेटमार्फत बेलीब्रिज निर्माण गर्न लागिएको हो ।" उक्त बेलिब्रिज ३० मिटर लम्बाइ र ४ मिटर चौडाइको हुने गरी स्टमेट डिजाइन गरिएको छ। 

बेलीब्रिज निर्माणपछि धार्चेको खोर्लावेशी, हुलचुक, उहियाँ, रुन्चेत, चुमनुब्री गाउँपालिका सातवटै वडाका नागरिकहरु लाभान्नित हुने उहाँले बताउनुभयो । बेलीब्रिज निर्माणको काम तीन महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका प्रवन्ध निर्देशक हिम पाठकले जानकारी दिनुभयो । 

"पारिपट्टीको चट्टान ‘ब्लास्टिङ’ ढुङ्गा फाल्न सकियो भने तीन महिना भित्रमा पुल निर्माण सक्नेगरि काम अगाडी बढाउन लागिएको छ", उहाँले भन्नुभयो, "अहिले हिउँदमा मात्र सडक सञ्चालनमा रहेको यसक्षेत्रमा पुल निर्माण भएपछि बर्खाका बेलामा समेत नियमित यातायात सञ्चालन गर्न सकिनेछ ।"

धार्चे गाउँपालिकाको विशेष पहलमा उत्तरी गोरखाको धार्चे गाउँपालिका र चुमुनुब्री गाउँपालिकाका ७ वडामा उक्त बेलीब्रिजले सहज रुपमा हिउँद र बर्खा दुबैमा सडक यात्रा गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारको भनाइ छ ।   

उक्त बेलीब्रिजको एक कार्यक्रममाबिच गाउँपालिका अध्यक्ष गुरुङले शिलन्याससमेत गरी काम अघि बढाइएको छ । टाइम्स इनर्जी प्रा.लि ले धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा पर्नेगरि बुढीगण्डकी नदीमा ३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अघि बढाइसकेको छ । 

आगामी ५ वर्षभित्रमा आयोजना निर्माण सम्पन्न हुने पाठकले बताउनुभयो ।