ढल्केबर समाचारदाता
ढल्केबर, चैत १९ गते । धनुषाको मिथिला नगरपालिका–२ स्थित सुकुमवासी बस्तीमा पानीको चरम सङ्कट उत्पन्न भएको छ । बस्तीमा रहेका तीन इनारमध्ये दुई वटामा पानी सुकेपछि समस्या उत्पन्न भएको हो ।
स्थानीय हरिदेव महतोले इनार सुकेपछि सुकुमवासी बस्तीमा यस्तो अवस्था आएको बताउनुभयो । तीन इनारमध्ये दुई वटामा पानी सुकेपछि डेढ सयभन्दा बढी घरपरिवार पानीका लागि एउटै इनारमा भर पर्नु परेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय हरिदेवले भन्नुभयो, “अलि हुनेखानेले इनारमा मोटर जडान गरेर पानी निकाल्ने गरेका थिए भने नहुनेहरूले बाल्टी र डोरीको सहायताले पानी तान्ने गर्थे । अहिले भने पानी नै नरहेपछि सिङ्गोे बस्ती समस्यामा परेको छ । फागुन अन्तिम सातातिर ती दुई वटै इनारको पानी सुकेपछि सबैलाई समस्या भएको छ ।”
उहाँका अनुसार स्थानीय सरकारले केही महिनाअघि एउटा डिप ट्युबेल गाडे पनि सञ्चालनमा आउन सकेको छैन । डिप ट्युबेल सञ्चालन गर्न विद्युत् ट्रान्सफर्मर जडान, मोटर जडान, पाइपलाइन विस्तारलगायतका काम गर्न बाँकी छ । वडाध्यक्षलगायत सम्बन्धित निकायलाई हामीले ताकिता गरिरहेको उहाँले जानकारी दिनुभयो ।
सुक्खायमको सुरुवातसँगै सुकुमवासी बस्तीमा मात्रै नभएर धनुषा जिल्लाको उत्तरी क्षेत्रमा पानीका स्रोत सुक्न थालेका छन् । जिल्लाको बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा रहेका नदी, खोल्सी, जरुवा, इनार, चापाकल जस्ता जलस्रोत सुकेका कारण यहाँका बासिन्दाले खानेपानीको चरम सङ्कट भोग्नु परिरहेको छ । इनारको पानी सुक्न थाले पनि पिउने पानी अभावसँगै सिँचाइ समस्याका कारण किसान मर्कामा परेका छन् ।
मिथिला नगरपालिका–३, हरिहरपुरका मनोजकुमार महतोले इनार सुकेपछि सिँचाइ गर्न नसकिने हुँदा तरकारी खेती गर्ने योजना रोकिएको बताउनुभयो । मौसमी तरकारी तथा अन्नबाली उत्पादन गरेर आम्दानी गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “हामीले सिँचाइका लागि इनार खनेका छौँ तर अब त इनारमा पानी नै छैन । खेती गर्न सिँचाइ नभई हुँदैन, आकासे पानीको भर पर्नु परेको छ ।” अहिलेसम्म ३० प्रतिशतभन्दा बढी पानीका स्रोत सुकिसकेको उहाँको भनाइ छ ।
पछिल्ला केही वर्षयता रातु, बडहरी, औरही, जलाद, कमला नदीबाट अनियन्त्रित रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । चुरे पहाडको दोहन र वन विनाश बढ्दै गएकाले जलाधार क्षेत्र सुक्न थालेको स्थानीयवासीको बुझाइ छ । वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत सुरेश शर्माले तराई क्षेत्रमा यस वर्ष हिउँदे वर्षा नहुनु पनि जल सङ्कटको प्रमुख कारण बनेको बताउनुभयो । उहाँका अनुसार असोजयता आकासे पानी परेको छैन । सामान्यतः कात्तिक–मङ्सिरमा एकदुई पटक पानी पर्ने गथ्र्यो तर यस पटक पानी नपर्दा जमिनमुनि पानीको सतह झन् तल गएको छ ।
अनियन्त्रित रूपमा नदीजन्य पदार्थ उत्खननले गर्दा जमिनले पर्याप्त मात्रामा पानी सोसेर राख्न नसकेको बताउँदै उहाँले भन्नुभयो, “हामीले प्राकृतिक सम्पदाको उपयोग र संरक्षणमा धेरै लापर्बाही गरिरहेका छौँ । खोला नदीहरूको अनियन्त्रित दोहन, चुरे क्षेत्रको विनाश र जलाधार क्षेत्रको संरक्षणमा ध्यान दिएनौँ भने पानीको सङ्कट झन् भयावह बन्ने छ ।”
चुरेविद् डा. विजयकुमार सिंह दनुवारले जमिनमुनि पानीको सतह तल तल झर्दै जानु नै यो सङ्कटको मुख्य कारण भएको बताउनुभयो । उहाँका अनुसार प्राकृतिक रूपमा चुरे क्षेत्र जल भण्डार हो । चुरे क्षेत्रमा तटबन्ध निर्माण गरेर वर्षाको पानी त्यहीँ रोक्न सकियो भने भूमिगत जलस्तर बढ्न सक्छ । उहाँले भन्नुभयो, “यस समस्या समाधानका लागि जलस्रोतको संरक्षण, वन फडानी रोकथाम, अनियन्त्रित उत्खननमा कडाइ तथा वर्षाको पानी सङ्कलन आवश्यक छ । उचित कदम चालिएन भने धनुषा मात्र नभई तराई क्षेत्रमै जल सङ्कट गहिरिने खतरा देखिन्छ ।” समयमै समाधान खोज्न सकेनौँ भने आठदस वर्षपछि सिङ्गो तराईमै पानीको चरम अभाव झेल्न बाध्य हुने चेतावनी चुरेविद् दनुवारले दिनुभयो ।