• २० चैत २०८१, बुधबार

आइटीलाई उद्योगको रूपमा स्थापित गर्छौं : मन्त्री गुरुङ

blog

कार्यक्रममा धारणा राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौँ, चैत १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सबै स्थानीय निकायहरूलाई ब्रोडब्यान्ड कनेक्टिभिटीद्वारा जोड्ने र आइटीलाई उद्योगको रूपमा स्थापित गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभएकोछ । 

काठमाडौँमा आज एसिया प्यासिफिक टेलिकम्युनिटि (एपिटी) को आयोजनामा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा  गरिएको ‘३४ औँ मिटिङ अफ द एपिटी वायरलेस ग्रुप (एडब्लुजी) कार्यक्रममा मन्त्री गुरुङले एआई नीति ल्याउनुको साथै, डिएनएफ २.० तयारी गर्ने र कम्तिमा प्रमुख शहरका केन्द्रहरूमा ५ जी सेवाहरू विस्तार गर्ने योजना रहेको समेत उहाँले जानकारी दिनुभयो । 

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले कुशल वायरलेस सञ्चार आर्थिक वृद्धि, नवीनता र कनेक्टीभिटीको लागि कुञ्जी रहेको उल्लेख गर्नुभयो । खासगरि प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतापुर्ण नेपाल अहिले प्राविधिक रूपान्तरणमा देखिएको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “वायरलेस प्रविधि नेपालजस्तो पहाडी र हिमाली देशका लागि वरदान हो । अब उदाउँदो आइटी र डिजिटल अर्थतन्त्रको प्रवृत्तिलाई उच्च सम्भावना भएका क्षेत्रहरूसँग एकीकृत गर्ने समय आएको छ ।”

त्यस्तै, उहाँले पछिल्लो समय मन्त्रालयले सूचना प्रविधिका माध्यमबाट देशभरि कागजविहीन सरकार र अनुहारविहीन सेवा वितरणको लक्ष्य हासिल गर्न सबै प्रणालीमा डिजिटाइजेसन गर्न जरुरी रहेको बताउनुभयो । साथै उहाँले नेपाल डिजीटल भविष्यलाई अँगाल्ने चाहना राख्दै डिजिटल साक्षरता, साइबर सुरक्षा, एआई सीप प्रशिक्षण, र कार्यशैली विकासमा व्यापक कार्यक्रमहरूको सुरुवात गर्दैआएको बताउनुभयो । 

“हामी भविष्यलाई एआईको फ्युजनको रूपमा कल्पना गर्छौं” उहाँले भन्नुभयो, “यसका लागि वायरलेस प्रविधिलाई डिजिटल रूपान्तरणका लागि प्रमुख आधार मानिन्छ ।” नेपाललाई क्षेत्रीय आइटी हबको रूपमा स्थापित गर्न पनि एपिटीसँग सहकार्य गर्न सकिने मन्त्री गुरुङले बताउनुभयो । पाँच दिनसम्म चल्ने कार्यक्रमको छलफलको निचोडमा अन्तर्दृष्टि र सहकार्यले राष्ट्रहरूलाई डिजिटल खाडल कम गर्न र सबैका लागि समावेशी कनेक्टिभिटी सुनिश्चित गर्न सशक्त अवधारण आउने विश्वास व्यक्त गर्नुभयो । 

यसै क्रममा नेपाल डिजिटलाइजेसनलाई बढावा दिन, स्पेक्ट्रम दक्षता प्रवर्धन गर्न र अर्को पुस्ताको सञ्चार प्रविधिहरू अँगाल्न तयार रहेको समेत मन्त्री गुरुङले प्रष्ट पार्नुभयो । 

सञ्चार सचिव राधिका अर्यालले नेपालले सूचना प्रविधिको विस्तार विकासमा विस्तारै फड्को मार्दै गइरहेको र यससम्बन्धी सञ्चार मन्त्रालयले निकै महत्त्वपूर्ण कार्य सम्पादन गरी आएको जानकारी दिनुभयो ।

एपिटीका महासचिव मासानोरी कोन्डोले स्पेक्ट्रम हार्मोनाइजेनस, रेडियो कम्युनिकेसन र यसका बहुराष्ट्रिय प्रभावहरूबारे छलफल गर्नका लागि यो एक सशक्त समूह रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म विशेषगरी स्पेक्ट्रम हार्मोनाइजेनसलगायत विषयमा केन्द्रित रहँदै १२ वटा सिफारिसहरू र १ सय ८४ वटा प्रतिवेदन तयार भइसकेको छ । 

यी उपलब्धीहरू प्राविधिक मात्र होइनन, डिजीटल कनेक्टिभिटी विस्तार गर्न र एपिटी स्ट्रक्चर प्लान २०२४—२०२६ का पिलर तर्जुमाका बलिया आधार समेत रहेको उहाँले जानकारी दिनुभयो ।