ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), चैत १८ गते । अक्करे कहाली लाग्ने भिर, तल कालीगण्डकी नदीको खोँचमा साँघुरो सडक भएकाले दुर्घटनाको जोखिम मोल्दै बर्सौंसम्म दैनिक सयौँको सङ्ख्यामा गाडी वारपार गरेका थिए । बेनी–जोमसोम सडकखण्डमध्ये यो स्थान सबैभन्दा जोखिमपूर्ण मानिन्थ्यो तर अहिले काभ्रेभिर र बदरजुङ भिरमा गाडी सरर चलाउन मिल्ने भएको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अत्यन्तै जोखिम मानिएको काभ्रेभिरमा ‘रक एङ्करिङ’ प्रविधिबाट सडक निर्माण गरिएपछि दुर्घटनाको जोखिम हटेको छ । ढुक्कले गाडी गुडाउन मिल्ने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले दुई वर्षको प्रयासपछि काभ्रेभिरमा सडक सहज बनाएको हो ।
आयोजनाले काभ्रेभिर र बदरजुङ भिरको विभिन्न स्थानमा गरेर ‘रक एङ्करिङ’ प्रविधिको प्रयोग गरेर पाँच सय मिटर सडक फराकिलो पारेको छ । अनकन्टार भिरको मध्यभागमा दुई लेनको सडक निर्माण गरिएको छ । भिर कटान गर्दा थप पहिरोको जोखिम बढेपछि आयोजनाले ‘रक एङ्करिङ’ प्रविधिको प्रयोग गरेर सडकदेखि तल भिरबाट मेसनरीवाल उठाएको छ । अक्करे भिरमा साघुरो सडक भएका कारण विगतमा धेरै दुर्घटना हुने गरेका थिए । आयोजनाका लागि यो स्थानमा सडक निर्माण गर्न धेरै चुनौती पनि थियो तर अहिले अवस्था बदलिएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईंले भन्नुभयो, “धेरै नै प्रयासपछि अहिले सडक फराकिलो बनेको छ । यस खण्डमा पर्ने दुई किलोमिटर दुरीको सडकलाई आठ मिटर चौडाइमा फराकिलो बनाएर ढलान गरिएको छ भने पाँच सय मिटरमा सडकदेखि तल अक्करे भिरमा ‘रक एङ्करिङ’ प्रविधिबाट मेसिनरी वाल उठाएर सडक निर्माण गरेका छौँ ।”
सडकमुनिको भिरमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको छ । उहाँका अनुसार भिर कटान गर्दा थप पहिरो खस्ने समस्या भएपछि रक एङ्करिङ प्रविधिको प्रयोग उपयोगी भएको उहाँले बताउनुभयो । काभ्रेभिर, बादरजुङ र घोप्टेभिरमा यो प्रविधिबाट सडक निर्माण गरिएको उहाँले बताउनुभयो । सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि यातायातका साधन वारपार गर्न सहज र सुरक्षित भएको आयोजनाले जनाएको छ ।
उहाँले भन्नुभयो, “पहिरो खस्ने सम्भावित स्थानमा रक एङ्करिङ र रक नेलिङ प्रविधिको प्रयोग गरेर सडक विस्तार गरेका छौँ भने अन्य ठाउँमा विस्फोटक पदार्थको प्रयोगबाट भिर फुटाएर सडक निर्माण गरिएको हो ।” दुई वर्ष लगाएर काभ्रेभिर–बादरजुङ भिर क्षेत्रको सडक विस्तारको काम सकिएको उहाँले बताउनुभयो ।
१० किलोमिटर पाँच सय मिटर दुरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । सडकखण्ड अन्तर्गत पर्ने सिरुबारी, गुइँठेभिर र खामभित्ता पहिरो नियन्त्रण तथा व्यवस्थापनका लागि आयोजनाले टेन्डर निकाले पनि कसैले पनि ठेक्का नहालेपछि पुनः टेन्डर निकाल्ने प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार सिरुबारी र गुइँठेभिरका लागि १०/१० करोड र खामभित्ताको पहिरो नियन्त्रण गर्न सात करोड रुपियाँको लागत अनुमान गरिएको थियो ।