बिजुवार समाचारदाता
बिजुवार, चैत १८ गते । प्युठान र रोल्पा जिल्ला जोड्ने बिजुवार–ढुङ्गेठाँटी–सुलीचौर सडकको स्तरोन्नति कार्य सुरु भएको छ । २०५५ सालमा खुलेको ३२ किलोमिटर लामो बिजुवार–सुलीचौर सडकको सुधारका लागि चालु आर्थिक वर्षमा १० करोड रुपियाँभन्दा बढी बजेट सुनिश्चित गरिएको छ ।
सडक डिभिजन कार्यालय प्युठानका प्रमुख बिसुन्दास लामाले पहिलो चरणमा दुई करोड ६२ लाख रुपियाँको बजेट विनियोजन गरेर ठेक्कामार्फत काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्युठान नगरपालिका–४, टारीदेखि जुम्रीकाँढा–ढुङ्गेठाँटीसम्मको ६.९ किलोमिटर सडकको सुधार कार्यको ठेक्का प्रक्रिया तयारी अवस्थामा छ ।
सङ्घीय सांसद सूर्य थापाका अनुसार सडकलाई अन्तरजिल्ला जोड्ने महत्वपूर्ण मार्गका रूपमा विकास गर्न थप छ करोड रुपियाँको बजेट व्यवस्था गरिएको छ । सडक स्तरोन्नतिपछि आवागमन सहज हुने, व्यापारिक चहलपहल बढ्ने र स्थानीय जनजीवनमा सुधार आउने अपेक्षा गरिएको छ । सडक पूर्वाधार कार्यालय प्युठानले १५ लाख रुपियाँको बजेटबाट ढुङ्गेठाँटीभन्दा माथिल्लो क्षेत्रमा काम अघि बढाएको कार्यालयका प्रमुख चन्द्र शाहले जानकारी दिनुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले यस वर्ष सुलीचौरदेखि अरेससम्मको सडकको काम अघि बढाउन एक करोड ५० लाख रुपियाँको बजेट विनियोजन गरेको पूर्वाधार कार्यालय रोल्पाका प्रमुख हेमन्त रोका क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँले स्रोत सुनिश्चित नभएकाले ठेक्का प्रक्रियामा ढिलाइ भएको बताउनुभयो । बर्सौंसम्म ओझेलमा रहेको यो सडकको जर्जर अवस्थाले स्थानीयलाई बजार, अस्पताल र यातायातमा कठिनाइ उत्पन्न गरेको थियो ।
सडक स्तरोन्नतिपछि रोल्पाको सुनील स्मृति गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका बस्तीहरू प्रत्यक्ष लाभान्वित हुने छन् । स्थानीयका अनुसार यातायात सहज भएपछि आर्थिक गतिविधि र जनजीवनमा सुधार आउने छ ।