• २० चैत २०८१, बुधबार

जातीय विभेद तथा छुवाछुत प्रथा कायमै

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत १८ गते । बाजुरामा जातीय विभेद तथा छुवाछुत प्रथा कायमै रहेको छ । यहाँका विभिन्न राजनीतिक दलले बाहिर छुवाछुत प्रथा हटेको भनिए पनि भित्री रूपमा कायमै रहको पाइन्छ । यहाँका विभिन्न गाउँबस्तीमा जातीय विभेद तथा छुवाछुत प्रथा कायमै रहेकाले दलित समुदायले सास्ती खेप्नु परेको छ । बाजुरामा रहेका सार्की, विक, लुहार, नेपाली, गन्धर्व, वादीलगायतका दलित समुदाय अहिले पनि सार्वजनिक स्थल मठमन्दिरमा समेत पूजापाठ वञ्चित हुँदै आएका छन् । 

यहाँको त्रिवेणी नगरपालिकामा रहेको बडीमालिका मन्दिरमा दलित समुदायले पूजा गर्न पाए पनि अन्य गाउँबस्तीका कुनै मन्दिरमा भने उनीहरूलाई उपल्लो जात अर्थात् बाहुन तथा पुजारीले वञ्चित गर्दै आएका छन् । त्यति मात्र होइन यहाँ दलित समुदायका युवकयुवतीले मठमन्दिरमा विवाह गर्न जाँदा सदरमुकाम मार्तडीमा रहेको मालिका मन्दिरमा समेत यहाँको पुजारीले उनीहरूको विवाहसमेत नगरिदिएको मार्तडी–८ का दलित समुदायका युवकयुवती बताउँछन् ।

जिल्लामा कुप्रथाका रूपमा रहेको जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्यका लागि यहाँका विभिन्न संस्थाले काम गर्दै आएको भए पनि न्यूनीकरण भने अझै हुन सकेको छैन । दलित समुदायलाई निजी तथा सार्वजनिक स्थलमा जातीय विभेद गरेकाले यसको उन्मूलन गर्नका लागि बाजुराका नौ वटै स्थानीय तहका दलित समुदाय तथा दलित नेटवर्कसमेत लागि परेका छन् ।

लामो समयदेखि कुप्रथाका रूपमा रहेको यो जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्य गर्नुको उल्टो यहाँका अधिकांश जनप्रतिनिधिबाट नै विभेद हुन थालेपछि उनीहरू यो प्रथालाई हटाउन लागि परेका हुन् । यहाँका कतिपय स्थानमा दलित समुदायमाथि विभेद गर्ने, मठमन्दिर प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । यहाँका नौ वटै स्थानीय तहमा सार्की, विक, लुहार, नेपाली, चँदारा, गन्धर्व, सनाई ओड, कुमाल, सुनार, कामी, कडारा, तिरुवा र परीलगायतका विभिन्न दलित जातजाति बसोबास गर्दै आएका छन् ।

यी जातजातिले पनि एक अर्कोलाई विभेद गर्दै आएका छन् । कामी, लुहार र सार्कीले नेपाली दमाईं वादीहरूको हातको पानी नखाने र नेपालीले गन्धर्व र भाँडको हातको पानी समेत चलाउँदैनन् ।