• १९ चैत २०८१, मङ्गलबार

पर्यटन कूटनीतिमा पोखरा महानगरपालिका

blog

पोखरा महानगरपालिकाका प्रमुख र चीनको लुजाउ महानगरका प्रमुख जिआनसहितको टोलीको भेट। तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, चैत १७ गते। पर्यटनको राजधानी पोखराले विश्व बजारमा आफूलाई स्थापित गराउन पर्यटन कूटनीतिलाई अगाडि बढाएको छ। पोखरा भ्रमण वर्ष घोषणा गर्दै महानगरले सो अभियानलाई तिव्रता दिएको हो। पोखराको हावा, पानी, प्रकृति र संस्कृतिसँग मेल खाने मात्र नभई पर्यटनमा समेत समानताको दृष्टिकोणसँग मेलखाने मित्रराष्ट्रका सहरसँग पोखराले कूटनीतिक सम्बन्ध स्थापित गर्दै आएको छ। 

पोखरा महानगरपालिकाले सन् २००१ बाट जापानको कोमागाने सहरबाट सुरु गरेको मितेरी अर्थात् भगिनी सम्बन्धलाई पछिल्लो समयमा चीन, टर्की, दक्षिण कोरिया, अमेरिका, बेलायत गरी ६ देशका १९ वटा सहरसँग भगिनी सम्बन्ध विस्तार गरेको छ । अहिले छिमेकी मुलुक चीनका ११ सहरका महानगरमा भगिनी सम्बन्ध जोडेको छ। यसैबिच हालसालै चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ सहरसँग पनि मितेरी सम्बन्ध अगाडि बढाएको छ।

यस बारेमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मितेरी सम्बन्धले मित्र राष्ट्रबाट पर्यटक भित्र्याउन सहज र सजिलो हुने बताउनुहुन्छ। यस प्रकारको सम्बन्धबाट चिनियाँ नागरिकमा नेपालप्रति चासो बढ्दै गएको छ। नेपालका सहरमा पोखरा उनीहरूको पहिलो रोजाइमा पर्ने गरेको प्रमुख आचार्य बताउनुहुन्छ। उहाँका अनुसार पोखराको नेचर, कल्चर र एड्भेन्चरमा चिनियाँ पर्यटक रमाउने गरेका छन्।  

चीन भ्रमणको क्रममा प्रमुख आचार्यले गत वर्ष नै लुजाउ र पोखराबिच मितेरी सम्बन्धको औपचारिक घोषणा गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। यस्ता सम्बन्धले दुई देशको प्रचारप्रसार हुने उहाँको भनाइ थियो। प्रमुख आचार्यले चीनमा मात्र नभई निकट भविष्यमा भारतका दुई वटा सहरमा पनि भगिनी सम्बन्ध विस्तार गरी यस वर्ष ५ वटा सहरमा थपिने जानकारी दिनुभयो। भगिनी सम्बन्धकै कारण पर्यटन कूटनीति मात्र नभई उद्योग वाणिज्य क्षेत्रमा गरिने सम्बन्ध र नागरिक–नागरिक बिचको सम्बन्ध जनस्तरमा पुग्ने उहाँको विश्वास छ।

यसैगरी चीन भ्रमणको क्रममा लुजाउका प्रमुख जिआनले पोखराको बारेमा धेरै सुन्दै आएको भन्दै अबको भ्रमण पोखरा नै हुने बताउनुभयो। उहाँले लुजाउ नगरपालिकाले गरेका विकास, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रबारे जानकारी गराउनुभएको थियो। भेटका क्रममा दुई सहरका प्रमुखले नेपाल र चीनको दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र पोखराले पनि पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेकोमा खुसीयाली साटासाट गर्नुभयो। यसलाई पर्यटन कूटनीतिका रूपमा लिइएको छ।

यसैगरी चीन भ्रमणका क्रममा पर्यटकीय कूटनीतिलाई थप विस्तार गर्दै लैजाने कुरा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताउनुभएको थियो। भगिनी सम्बन्धका कारण दुई देशबिचका जनता–जनता बिचको सम्बन्ध अझै परिपक्क हुने विश्वास उहाँको थियो। पर्यटन प्रवर्धन मात्र नभई विकास र प्राविधिक पक्षको आयामलाई दुवै देशले अध्ययन, अवलोकन गरी नागरिकस्तरमा पुर्‍याउन सहज हुने चौलागाई बताउनुहुन्छ। यस्तो सम्बन्धलाई  पर्यटक भित्रिएपछि कुन क्षेत्रमा कस्तो लगानी गर्ने भन्ने विषयमा बजारको माग अनुरूप लगानी भित्रिने उहाँको भनाइ छ।

यस बारेमा छेन्दुस्थित नेपाली महावाणिज्य दूताबास महावाणिज्यदूत सुरेश रावतले नेपाल–चीनका महानगरपलिका बिच भएका सम्बन्धले दुई देशबिचको सम्बन्ध मात्र नभई पर्यटन कूटनीति अर्थात भ्रमण अभियानको संस्कृतिमा टेवा पुगेको बताउनुहुन्छ। उहाँले चीनको दक्षिण–पश्चिममा रहेका सिचुवान, छङ्छिङ् महानगर, कियुचो प्रदेश गरी तीन वटा प्रदेश १८ करोड जनसङ्ख्यालाई लक्षित गरी कार्यक्रम ल्याए नेपालको पर्यटन बजार कायापलट हुने बताउनुभयो।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं अग्रज पर्यटन व्यावसायी वासु त्रिपाठीले पर्यटन कूटनीतिलाई सफल बनाउन हाम्रा महावाणिज्य दूताबासहरूलाई थप परिचालन गर्नुपर्ने बताउनुहुन्छ।

यसैबिच नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणि लामिछानेले पर्यटन कूटनीतिले नेपालको आर्थिक क्षेत्रको विकास मात्र नभई दुई देशका नागरिक बिचको सम्बन्ध प्रगाढ हुने र सांस्कृतिक एवं सामाजिक पक्ष अझै बलियो हुने धारणा व्यक्त गर्नुहुन्छ।

पर्यटन बोर्डले चीनको लुजाउलगायत अन्य ठाउँमा सेल्स मिसन गर्दै आएपनि यसपटक थप नयाँ सहर छोङ्छिङ्मा आयोजना गरिएको सेल्स मिसन पहिलो भएको बताउँदै यसले पनि पर्यटन कूटनीतिमा नयाँ आयाम थपिएको उहाँ बताउनुहुन्छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ अधिकारीले कूटनीति पर्यटनका लागि सरकारी तबरबाट पहल हुनुपर्ने र निजी क्षेत्रले पूर्वाधार खडा गर्दै जाँदा यो अभियान सफल हुने बताउनुहुन्छ।