नवराज श्रेष्ठ
रामेछाप, चैत १७ गते । गत शुक्रबर काठमाडौँस्थित तीनकुनेमा भएको एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चार गृहमाथिको आक्रमणका विरोधमा रामेछापको पत्रकार कालोपट्टी बाँधेर कार्यस्थलमा खटिएका छन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको सर्कुलर अनुसार नेपाल पत्रकार महासङ्घ रामेछापको आह्वानमा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले पत्रकार हत्या र प्रेसमाथिको आक्रमणको विरोधस्वरूप कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् ।
पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने र विभिन्न सञ्चार गृहमाथि आक्रमण गर्ने जो कोहीलाई छानबिन गरी कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाहीको माग पत्रकारले गरेका छन् ।
आइतबार बसेको नेपाल पत्रकार महासङ्घको आकस्मिक बैठकले एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चारमाथिको आक्रमणविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा थियो । बैठकले घटनाको अध्ययन र छानबिन गरेर प्रतिवेदन पेस गर्न उपाध्यक्ष उमिद वागचन्दको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति पनि बनाएको छ ।
केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला शाखा रामेछापले भोलि मङ्गलबार बिहान ११ बजे प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । त्यसैगरी बुधबार पत्रकारसँग सम्बद्ध विभिन्न सङ्घ–सङ्गठन र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपकुमार घिमिरेले बताउनुभयो ।