• १९ चैत २०८१, मङ्गलबार

गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिने तयारी

blog

टेंढुवा गाउँको गहुँमा बसेको बाघ। तस्बिर सौजन्य : वडा सदस्य विक्रम चौधरी

अविनाश चौधरी

धनगढी, चैत १६ गते। कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ। 

शुक्रबाररातिदेखि टेंढुवा गाउँ पसेको बाघ शनिबार दिनभर स्थानीय विमला चौधरीको गहुँबारीमा बसिरहेको छ। बाघलाई नियन्त्रणमा लिनका लागि वनकर्मीको टोलीले घेरबार लगाइसकेको वडा अध्यक्ष कलवीर चौधरीले जानकारी दिनुभयो। 

उहाँका अनुसार पाटेबाघलाई नियन्त्रणमा लिनका लागि हात्तीसहितको प्राविधिक टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आइरहेको छ। टोली साँझतिरमात्रै पुग्ने खबर पाएको वडा अध्यक्ष चौधरीले बताउनुभयो। 

“बाघ राति नै गाउँमा आएर स्थानीय हरिप्रसाद चौधरीको गोठमा गाईको बाच्छालाई मारिसकेको छ”, चौधरीले भन्नुभयो,“गाईको बाच्छालाई मारेर गहुँतिर गएको बाघ फेरि राति नै बाच्छालाई तान्न आएपछि स्थानीयले घेरा हालेर बाघलाई गहुँबारीमा रोकेका थिए।”

कञ्चनपुरमा केही महिना अगाडिमात्रै दोधारा चाँदनी नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो। यसैगरी, दुई वर्ष अगाडि बेलौरी नगरपालिकाकै खप्टी खोलामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो।