• १९ चैत २०८१, मङ्गलबार

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना एकको मृत्यु, ११ जना घाइते

blog

साङ्केतिक तस्बिर

राममणि दाहाल

मकवानपुर, चैत १६ गते। मकवानपुरमा शनिबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र ११ जना घाइतेभएका छन्। हेटौँडा उपमहानगरपालिका–१९ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टरको चालकको मृत्युभएको छ।

हेटौँडा १९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टतर्फ जाँदै गरेको बा.प्र.२–०३–००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो। 

दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक पर्सा जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने १९ वर्षीय सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो।

यस्तै, भीमफेदी कुलेखानी काठमाडाैँ सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ स्थित प्रेमडाँडामा विद्युतीय गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। 

रौतहटबाट काठमाडौँ तर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५५१५ नं.को विद्युतीय गाडीको सडकबाट ७० मिटर तल भिरमा  खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रहरी टोलीले गाडीका चालकसहित ११ जना घाइतेलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेको उपचारको लागि मधेश प्रदेश ०३–००१ ज. ०४५३ नम्बरको विद्युतीय गाडीमा काठमाडौँ पठाएको छ।