• १९ चैत २०८१, मङ्गलबार

म्याराथनमा ताप्लेजुङका रमेश प्रथम

blog

फालेलुङमा आयोजित म्याराथन प्रतियोगिताका सहभागी गन्तव्यतर्फ जाँदै। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, चैत १६ गते। पाँचथरको फालेलुङमा आयोजित ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार राशीको म्याराथन प्रतियोगितामा ताप्लेजुङका रमेश तावाहाङ प्रथम हुनुभएको छ।

उहाँले निर्धारित ४४ किलोमिटर दुरी तीन घण्टा २३ मिनेट, ५८ सेकेन्डमा दुरी पार गर्नुभयो। यसैगरी पाँचथर फिदिमका विशाल राई तीन घण्टा २९ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा विभागीय क्लब त्रिभुवन आर्मीका राजन मेयोङवा तीन घण्टा ३८ मिनेट ३० निर्धारित दुरी पार गरेर तेस्रो हुनुभयो।

प्रतियोगितामा सहभागी ४६ जना धावकलाई पछि पार्दै उहाँ पुरस्कृत हुनुभएको हो। प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २७ हजार २ सय २७ र तेस्रो हुनेले १२ हजार दुई सय १२ रुपियाँ नगद हात पार्नुहुने भएको छ। उहाँहरूलाई पुरस्कार वितरण औपचारिक कार्यक्रम आयोजना गरेर आइतबार वितरण गर्ने तयारी छ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको फालेलुङ ३ नाम्लुवा भन्ज्याङदेखि सुरु भएको दौड तीन हजार दुई सय मिटर उचाइमा अवस्थित फालेलुङ ४ को फालौट (गोर्खेपानी)मा अवस्थित बोर्डर आउट पोष्ट पुगेर पुनः नाम्लुवा भञ्ज्याङमै आइपुगेपछि टुङ्गिएको आयोजक परिवर्तन संभ फालेलुङका अध्यक्ष रावण राईले जानकारी दिनुभयो।

नाम्लुवा भन्ज्याङदेखि पहाड र उच्च पहाड हुँदै हिमाली क्षेत्रमा पर्ने  गोर्खेपानी पुगेर फर्किदा धावकले ४४ किलोमिटरको दुरी पार गरेका थिए। साहसिक खेल मार्फत पर्यटन प्रवर्धन गर्नुका साथै युवालाई लागु औषध दुर्व्यवहारबाट टाढा रहनुपर्छ भन्ने सन्देश दिन यत्तिका उचाईमा म्याराथन प्रतियोगिता गरिएको हो।

यो प्रतियोगिता जिल्लामा आयोजना हुने म्याराथन मध्येकै लामो दुरी र सर्वाधिक पुरस्कार राशीको हो।