रमेश विश्वकर्मा
गुल्मी, चैत १६ गते। गुल्मीका पत्रकारले पत्रकार हत्या तथा सञ्चार गृहमा भएको आगजनीविरुद्धमा कालोपट्टी बाँधेर विरोध गरेका छन् । शुक्रबार पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा भएको आगजनीविरुद्ध कालोपट्टी बाँधेर विरोध गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाको आयोजनामा शनिबार पत्रकार रजकप्रति एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि कालोपट्टी बाँधेर विरोध सभा गरिएको छ ।
बिहान झण्डै एक घण्टासम्म भएको विरोध सभामा गुल्मीका पत्रकारहरूले पत्रकारको हत्या र सञ्चारगृहमा आगजनी गर्ने जोकोहीलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
पत्रकार तथा सञ्चार माध्यम माथिको आक्रमण बन्द गर्न आवश्यक छ । पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएको हुँदा पत्रकारहरूमाथि कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने नेपाल पत्रकार महासङ्घ गुल्मी शाखा संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो । यस्ता गतिविधि गर्ने जोकोहीलाई हदैसम्मको कानुनी कारबाही गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
अप्रत्याशित घटनाको निन्दा गर्दै दोषीहरूलाई कारबाहीको माग समेत गरिएको छ । राजावादीको नाममा भएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत सुरेश रजकको हत्यासहित पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमणविरुद्ध विरोध सभा गरिएको नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले जनाएको छ ।
विरोध सभामा नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाका पूर्व अध्यक्षद्वय जनार्दन घिमिरे, टोपलाल अर्याल, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुँवर, पत्रकार महासङ्घ गुल्मी शाखाका पूर्व सचिव तारा भुसाल लगायतको उपस्थिति रहेको थियो ।