• १९ चैत २०८१, मङ्गलबार

पत्रकारको हत्यामा संलग्नलाई कारबाहीको माग

blog

पत्रकारको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा शनिबार हेटौँडामा आयोजित विरोध कार्यक्रम । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, चैत १६ गते ।
काठमाडौंको तिनकुनेमा कार्य क्षेत्रमा रहेको पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणमा संलग्न भएकालाई कारबाही गर्न माग गरिएको छ ।

पत्रकार सुरेश रजकको मृत्यु नभएर पूर्व राजावादीहरुले जलाएर हत्या गरेको भन्दै हेटौँडामा शनिबार आयोजित कार्यक्रममा पत्रकार र नागरिक समाजका अगुवाहरू उक्त घटनाको निन्दा र घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेका हुन् ।

शुक्रबार पूर्व राजावदीहरूको प्रदर्शनका क्रममा समाचारका लागि भिडियो खिचिरहेको घरमा राजवादीहरुले उक्त घरमा आगजनी गर्दा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको मृत्यु भएको थियो । 

नेपाल पत्रकार महासङ्घ मकवानपुर र पत्रकार महासङ्घ बागमती प्रदेश समितिको समन्वयमा शनिबार हेटौँडामा भएको विरोध प्रदर्शन र कोण सभामा वक्ताहरूले पत्रकारहरू कुनै वंशवादको पक्षमा नभएको र लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै गणतन्त्र विरोधीहरूको पहिलो निशानामा पत्रकार र सञ्चारमाध्यमहरू विगतदेखि नै पर्दै आएको बताउनुभयो ।

विरोध कार्यक्रम पत्रकार महासङ्घका पूर्व अध्यक्ष प्रताप विष्टले पत्रकारलाई कुनै पनि प्रकारको निरंकुशता स्वीकार्य नभएको भन्दै नागरिक स्वतन्त्रताका पक्षमा रहेका पत्रकारका विरुद्धमा सधैँ निङ्कुशतावादीहरू रहने गरेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल प्रेस युनियनका अध्यक्ष सुवास बिडारी, प्रेस चौतारीका अध्यक्ष सरिता दाहाल र नागरिक समाजका तर्फबाट भारती पाठकले पत्रकार रजक जिउँदै जलाएर मार्नेलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै अराजतक तत्वहरूका कारण पत्रकारको मृत्यु भएको र प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने भएको कार्यको निन्दा गर्नुभयो । साथै उहाँहरुले अराजक गतिविधिलाई नियन्त्रण गर्न सरकार उदासिनता देखाए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

पत्रकार रजकको हत्यारालाई कारबाही गर, अराजकता बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, सञ्चारगृहमा आक्रमण बन्द गरलगायतका प्लेकार्ड व्यानर बोकेर मकवानपुरका पत्रकार र नागरिक समागका अगुवाहरूले विरोध प्रदर्शन गरेका थिए ।

हेटौँडा उपमहानगरपालिका २ स्थित पल्पसा रोडबाट सुरुभएको विरोध र्‍याली सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा पत्रकार रजकप्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।