अविनाश चौधरी
धनगढी, चैत १६ गते । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लेनदेनको विवादास्पद अडियो बाहिरिएपछि उहाँले शुक्रबार पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
चौधरीले राजीनामा पत्र मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाइ सक्नु भएको छ । अतिरञ्जित तरिकाले अडियो सार्वजनिक भइसकेपछि नैतिकताको हिसाबले आफूले पदबाट राजीनामा दिएर कानुनी रूपमा सत्यतथ्य छानबिनका लागि मार्ग प्रशस्त गरेको चौधरीले बताउनुभयो ।
उहाँले लेनदेनको विषयमा दोषी ठहर भए कानुनी रूपमा सजायको भागेदार हुन आफू तयार रहेको उल्लेख गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री हुनु भएका चौधरीले सुदूरपश्चिम प्रदेशको दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषदबाट पास गरी कार्यान्वयन गर्ने सन्दर्भमा आर्थिक लेनदेनको विवादास्पद अडियो बाहिरिएको बताइएको छ ।