घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), चैत १६ गते । कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले उक्त स्थान छाडेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिएको थियो, तर उनीहरूले शुक्रबार उक्त स्थान छाडेका हुन् । २८ दिन पहिले भारत, अमेरिका, चीन, जापानलगायत देशका करिब १५० जना विदेशी नागरिक सो जङ्गलमा बसोबास गरेर अस्वाभाविक गतिविधि गर्दै आएका थिए । स्थानीयले त्यसको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको समूहले स्थलगत अनुगमन गरी ठाउँ छोड्न निर्देशन दिएको थियो ।
कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सरकारी जङ्गलमा कुनै पनि निकायबाट अनुमति नलिई बसेकाले उनीहरूलाई ठाउँ छोड्न २४ घण्टाको समय दिए पनि पर्यटन भिसामा आफूहरू नेपाल आएको र समुदायलाई असर पर्ने गरी कुनै काम नगरेको भन्दै उनीहरूले २८ दिनमा ठाउँ छोड्ने बताएका थिए ।
प्रजिअको निर्देशनपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरीको समूह उक्त ठाउँमा पुगेर खाली गराउने प्रयास गरेपछि केही दिनभित्र आफैँ छाडेर जाने भनेपछि प्रहरी खाली हात फर्केका थिए । उनीहरू त्यहाँ २८ दिन बस्ने गरी आएका थिए । उनीहरू शुव्रmबार आफ्नो गन्तव्य तिर लागेको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर रावतले बताउनुभयो ।
उहाँका अनुसार आफू जङ्गलमा पुग्दा उनीहरू जाने तयारीमा आफ्नो बन्दोबस्तीका सामान मिलाउँदै थिए । उहाँले सिमली जङ्गलमा लामो समय विदेशीहरू बसे पनि कुनै असर पर्ने गतिविधि नगरेको बताउनुभयो । उनीहरूलाई बिदाइ गर्न नगरप्रमुख रावत वडा नम्बर ९ का वडाध्यक्ष हरिशचन्द्र शाह, पर्यटन व्यवसायीलगायत सिमली पुग्नुभएको थियो । विकीपिडियाका अनुसार रेन्बो फ्यामिली एक स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समुदाय हो । यसको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनबाट सुरु भएको र हाल यो विश्वभर फैलिएको छ । सन् १९८० र ९० को दशकमा अमेरिका बाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ ।
रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ । नेपालमा यसअघि अछामको रामारोशन, गुल्मीमा यो समुदायको जमघट भएको बताइन्छ । पर्यटन व्यवसायी डबल शाहले नेपालमा रेम्बो फ्यामिलीलाई सन् २०२५ मा घोडाघोडी ल्याउन पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहकै मध्यस्थतामा घोडाघोडी नगरपालिकाको आयोजनामा सांस्कृतिक आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो ।