• १९ चैत २०८१, मङ्गलबार

पुल बन्दैन, ठेकेदारको म्याद थपेको थप्यै

blog

तनहुँ समाचारदाता 

तनहुँ, चैत १६ गते  । ठेक्का सम्झौताको १० वर्ष पूरा हुँदा पनि तनहुँको आँबुखैरेनी–५ र भरतपुर–२९ जोड्ने त्रिशूली नदीमाथि बन्ने पुल निर्माण पूरा भएको छैन ।

निर्माण व्यवसायीको चरम लापर्बाहीले गर्दा निर्माणको काममा ढिलाइ भइरहेको छ भने सम्बन्धित निकायले ध्यान दिएको छैन । लामो समयदेखि पुल निर्माण नहुनु तथा सडक स्तरोन्नति नभएपछि बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित छन् । 

उपभोक्ताले सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिँदै आइरहेका छन् । पुल निर्माणको काम अलपत्र पर्दा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वी राजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दुरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । 

विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने पटक पटक बताउँदै आए पनि सम्बन्धित कार्यालयले म्याद थप गर्दै आएकाले आन्दोलित हुनु परेको सङ्घर्ष समितिले जनाएको छ । पुल निर्माणमा दबाब दिने उद्देश्यले गठित सङ्घर्ष समितिले उक्त पुलको तत्काल निर्माण सुरु गर्न माग गरेको छ । करिब ११ वर्षअगाडि सम्झौता अनुसार १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ डिजाइनमा रहेको घुमाउने पुल निर्माणको काम हालसम्म ३० प्रतिशत मात्र प्रगति भएको देखिन्छ । 

सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त थापामगरले पुलको निर्माणमा ढिलासुस्ती भएकाले सङ्घर्ष समिति गठन गरिएको  बताउनुभयो । समितिले गत पुस २७ गते घुमाउनेघाटमा विरोध प्रदर्शन,  माघ १४ गते जिल्ला प्रशासन कार्यालय तनहुँ, पूर्वाधार विकास कार्यालय तनहुँ र सडक डिभिजन कार्यालय तनहुँमा बृहत् जनसहभागितासहितको सामूहिक रूपमा गम्भीर ध्यानाकर्षणपत्र बुझाउँदासमेत कामले गति लिन नसकेको सङ्घर्ष समितिका सचिव कमल गुरुङले जानकारी दिनुभयो ।  बुद्धसिंह मार्ग सञ्चालनका लागि घुमाउने पुलका साथै सुडेखोला, ढाँडखोला, खानीखोला, बाखेखोला, भूतखोला, बन्दीपुर–६ र देवघाट–३ जोड्ने पुल र व्यास नगरपालिका–१४ र देवघाट–२ जोड्ने पुल नहुँदा आवतजावतमा समस्या परेकाले काठमाडौँमा दबाब दिन लागिएको बन्दीपुर निवासी रेशम गुरुङले बताउनुभयो । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार काम नहुँदा पनि निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सकेको छैन ।