• १९ चैत २०८१, मङ्गलबार

तीन सय रोपनीमा लिफ्ट सिँचाइ

blog

तस्बिर : अनिल पराजुली मकवानपुरको बकैया–१२, ठिङ्गनबेँसीमा निर्माण गरिएको लिफ्ट सिँचाइ ।

हेटौडा समाचारदाता

हेटौँडा, चैत १६ गते । बागमती नदीको पानीबाट तीन सय रोपनी क्षेत्रमा लिफ्ट सिँचाइ गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित ठिङ्गनबेँसीमा बागमती नदीको पानी ३२५ मिटरभन्दामाथि उचाइमा लिफ्टमार्फत तानेर सिँचाइ गरिएको हो । 

हिउँदको समयमा सधैँ उजाड रहने माटोमा सिँचाइ सुविधा भएपछि कृषि उत्पादन सहज हुने भएको छ । बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय हेटौँडाबाट गत आवमा विनियोजन भएको बजेटबाट लिफ्ट सिँचाइ निर्माण भएको हो । 

बकैया गाउँपालिका–१२, ठिङ्गनबेँसीका ३० घरपरिवारका लागि लिफ्ट सिँचाइ योजना निर्माण भएको हो । यहाँको तीन सय रोपनी जमिनमा सिँचाइ हुने गरी उक्त योजनाको लागत ६७ लाख रुपियाँ रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । उपभोक्ता समितिले लिफ्ट सिचाइ र नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको काम गरेको हो । 

गत असोज ११ र १२ गते आएको वर्षासँगैको बाढीले यहाँको इनार र पानी तान्ने पम्पमा क्षति पारेको थियो । बकैया गाउँपालिकाको तीन लाख रुपियाँको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ठिङ्गनबेँसी बागमती लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष रूपेन घलेले जानकारी दिनुभयो । ११ केभिएको प्रसारण लाइनबाट स्टेप डाउन ट्रान्सफर्मर प्रयोग गरेर लिफ्ट सिँचाइ गरिएको उहाँले बताउनुभयो । गत आवमा सुरु भएको योजना चालु आवमा सम्पन्न भई सञ्चालनमा आएको हो । 

गाउँमा लिफ्ट सिँचाइ आएपछि यहाँका स्थानीय नवराज दाहाल खुसी हुनुभएको छ ।