मियामी, चैत १५ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार युक्रेन युद्ध अन्त्य गर्न वासिङ्टनको प्रयासमा मस्कोको प्रतिक्रिया हेर्दै गर्दा उच्चस्तरीय वार्ताको अपेक्षा गर्न अझै सही समय नभएको चेतावनी दिनुभएको छ ।
“मलाई लाग्छ तपाईँले प्राविधिक स्तरमा थप प्रगति गर्नुपर्छ”, साउदी अरबमा दुई पक्षसँग अप्रत्यक्ष अमेरिकी वार्तापछि उच्चस्तरीय वार्ताको समय आएको छ कि भनेर एक पत्रकारले सोधेको प्रश्नमा आफ्नो तीन राष्ट्रको क्यारेबियन भ्रमणबाट मियामी फर्कँदै गर्दा रुबियोले भन्नुभयो, “दुवै पक्षसँग, विशेष गरी रूसी पक्षसँग धेरै काम गर्नुपर्छ, जससँग हामीले वर्षौंदेखि कुरा गरेका छैनौँ ।”
प्रगति गर्न कति समय लाग्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “म यसमा समयसीमा राख्न सक्दिनँ किनभने यो हामीमाथि निर्भर छैन ।”
रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बैठकको नतिजाबारे छलफल गर्न परामर्श गर्ने बताउनुभयो ।
ट्रम्पले सम्भवतः साउदी अरबमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेट्ने आशा गरेको बारम्बार बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले मङ्गलबार रुस र युक्रेन दुवै कृष्णसागरमा आक्रमण रोक्न सहमत भएको घोषणा गरेको थियो ।
तर रुसले पछि युक्रेनमा सन् २०२२ फेब्रुअरीको आक्रमणलाई लिएर पश्चिमले लगाएको व्यापक प्रतिबन्धहरूबाट राहत खोज्दा आफ्ना सर्तहरू रहेको बताएको छ ।
रुबियोले यसअघि रुसलाई ३० दिनको युद्धविरामका लागि युक्रेन समर्थित प्रस्तावलाई बिना शर्त स्वीकार गर्न आह्वान गर्नुभएको थियो ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पश्चिमी प्रतिबन्धहरू कम गर्ने रुसी आह्वानलाई अस्वीकार गर्दै यो धेरै चाँडो भएको र थप प्रगति आवश्यक रहेको बताउनुभएको छ । रासस/एएफपी