• १८ चैत २०८१, सोमबार

षडानन्द पढेको संस्कृत पाठशाला

blog

महन्थ रामदास तस्मैया बाबाका शिष्य जयकृष्ण दासको नेतृत्वमा मटिहानीको संस्कृत पाठशाला १७७५ सालमा सुरु भएको थियो । तत्कालीन मकवानपुर राज्यमा सुरु भएको यस पाठशालालाई सेनवंशी राजा मणिक सेन, हेमकर्ण सेन र दिगबन्धन सेनले संरक्षकत्व प्रदान गरेका थिए । 

महन्थ जयकृष्ण व्याकरणका ज्ञानकार भएकाले यो विद्या पुस्तान्तरण होस् भनेर उनले पाठशाला खोलेको बताइन्छ । मटिहानीका सेवानिवृत्त प्राध्यापक धु्रव रायका अनुसार पाठशाला सुरु भएको २६ वर्षपछि मात्र आधिकारिता प्रदान गरिएको थियो । हेमकर्ण सेनले १७९० सालमा गद्दीमा आसीन भएपछि तमसैया भक्तराम दासलाई १८०१ सालमा विष्णु प्रीतिकुशविर्ता ताम्रपत्र दिए । सोही समयबाट पाठशाला मान्यता प्राप्त भएको कुरा देश विदेशसम्म सञ्चारित भयो । 

मकवानी राजा माणिक सेनले वैष्णव पीठ स्थापनार्थ १७६६ सालमा मटिहानीलाई चयन गरेका थिए । सो समयमा भाउजू राजेश्वरीको नायबी शासन थियो । उनी १७७४ सालदेखि सर्वेसर्वा भए ।

मकवानपुर राज्यलाई पृथ्वीनारायण शाहले १८१९ सालमा गोर्खा राज्यमा समाहित गरेपछि पाठशाला शाहवंशीय राजा र त्यसपछि राणाकालमा प्रधानमन्त्रीहरूको संरक्षकत्वमा सञ्चालन हुँदै आयो । पाठशाला स्थापनाको १२५ वर्षपछि अर्थात् १९०० सालसम्ममा धेरै विद्यार्थीले त्यहाँ अध्ययन गरे । सोही कालखण्डका एक विद्यार्थी षडानन्द अधिकारी अर्थात् बालागुरुको अहिलेसम्म चर्चा र स्मरण गरिन्छ । 

मटिहानी संस्कृत पाठशालाको भ्रमण र अवलोकन गर्न पुग्नेलाई त्यहाँका गुरुले बालागुरु षडानन्दले पढेको विद्यालय भनेर जानकारी दिने गर्छन् । भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँका लक्ष्मीनारायण अधिकारी तथा रुक्मिणीको सन्तानका रूपमा १८९२ साल मार्ग शुक्ल पञ्चमीका दिन जन्मिएका षडानन्द अधिकारीको न्वारानको नाम षडानन हो । 

वैष्णव सम्प्रदायका लागि महत्वपूर्ण मानिने दिन मार्ग शुक्ल पञ्चमीमा जन्मिएका षडानन्दको यज्ञोपवित संस्कार आठ वर्षको उमेरमा भयो । त्यसपछि शाहवंशीय राजाले नै वैष्णव सम्प्रदायको प्रमुख स्थान भनेर दर्जा दिएको मटिहानीको संस्कृत पाठशालामा उनको अध्ययन सुरु भयो । मार्ग शुक्ल पञ्चमीका दिन मिथिला क्षेत्रमा सीताराम विवाहपञ्चमी सम्झनास्वरूप महोत्सव मनाइन्छ । हरेक घरमा खिर पुरीलगायत मिष्ठान्न भोजन पकाएर खाने परम्परा छ । देश विदेशबाट आएका श्रद्धालुले जनकपुरमा उत्सव मनाउने परम्परा छ । सोही तिथिमा षडानन्दको जन्म भएकाले ईश्वरको विशेष कृपा रहेको मानिन्छ ।

बाल्यकालमा खडु भनेरसमेत चिनिएका षडानन्दले यही पाठशालामा आबाल ब्रह्मचारी रहने निर्णय गरेका थिए । १८ वर्षको उमेरसम्म उनले यसै पाठशालामा ज्ञान हासिल गरे । पाठशालामा पढाइएका विषय अन्य विद्यार्थीलाई पढाउने बानीकै कारण उनलाई बालागुरु भनेर सम्बोधन गर्ने गरियो । आबाल ब्रह्मचारी रहने निर्णय गरेका उनी पछि मटिहानीबाट बनारस लागेका थिए । मटिहानी संस्कृत पाठशालामा पढेकाहरूले थप अध्ययन तथा अभ्यास गर्न चाहेमा त्यसका लागि बनारस जानुपर्ने बाध्यता त्यसबेला थियो ।  

मटिहानी वैष्णव सम्प्रदायको प्रमुख स्थान मात्र नभई जलेश्वर महादेवको कृपा क्षेत्रमा पर्छ । बनारसमा समेत अध्ययन गरेका बालागुरुले वैष्णव सम्प्रदायको रामानन्दी पथ अर्थात् भगवान् रामलाई अनुसरण गरेको देखिन्छ । बालागुरुले अध्ययन गरेको पाठशालालाई राणा शासन पतन भएपछि २००८ सालमा राजकीय संस्कृत प्रधान पाठशाला भनियो । प्रधानाध्यापकको जिम्मेवारी शिवशङ्कर झालाई दिइयो । २०२५ सालमा माध्यमिक तहसम्म मात्र पढाउनुपर्ने नियम बन्यो । सोही समयमा लक्ष्मीनारायण मठका मानमहन्थ कौशलकिशोर दासको संरक्षकत्वमा निजी स्रोतबाट लक्ष्मीनारायण महाविद्यालय स्थापना भयो । त्यसपछि पाठशालामा आचार्यसम्मको पढाइ हुन थाल्यो ।

एउटा अञ्चलमा एउटा संस्कृत क्याम्पस हुनुपर्ने प्रावधान भएपछि जनकपुरमा निजी स्रोतबाट सञ्चालित याज्ञवल्क्य महाविद्यालयलाई २०३० सालमा मटिहानीको लक्ष्मीनारायण महाविद्यालयमा गाभियो । बालागुरुले १९१० सालसम्म अध्ययन गरेको पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालय तथा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (क्याम्पस) मा पठनपाठन जारी छ । 

–राकेशप्रसाद चौधरी   

 –युवामञ्च