• ९ पुस २०८१, मङ्गलबार

वायु प्रदूषणको जोखिममा बालबालिका

blog

विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘एयर पोलुसन एन्ड चाइल्ड हेल्थ प्रेस्क्राइबिङ क्लिन एयर’ शीर्षकबाट वायु प्रदूषण एवं बाल स्वास्थ्यबारे तय गरी जारी गरिएको प्रतिवेदन हो । वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटी प्रत्येक दिन यस्तो हावामा सास फेर्छन्, जुन प्रदूषित हुने गर्छ । यस्तो प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ । जसका कारण कैयौँ बालबालिकाको मृत्युसमेत हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार सन् २०१८ मा छ लाख बालबालिकाको प्रदूषित वायुका कारण हुने सङ्क्रमणका कारण मृत्यु भएको थियो । 

प्रतिवेदनका अनुसार जब गर्भवती महिला प्रदूषित हावाको सम्पर्कमा आउँछिन् भने तिनीहरूमा समयभन्दा पहिले बच्चा जन्माउने सम्भावना बढी हुन्छ । यसरी जन्मेका बच्चा स–साना तथा जन्मिँदाको बेला कम तौलका हुने गर्छन् । वायु प्रदूषणले मस्तिष्कको विकास एवं संज्ञानात्मक क्षमताको विकासलाई पनि प्रभावित गर्छ । यो अवस्था चाइल्डहुड क्यान्सरको पनि कारण बन्न सक्छ । जुन बालबालिका उच्च स्तरको वायु प्रदूषणको सम्पर्कमा आउँछन् तिनमा उमेर बढ्दै गर्दा मुटुसम्बन्धी बिरामी हुने जोखिम बढी हुने गर्छ । 

प्रदूषित वायुले लाखौँ बालबालिकाका लागि विषको काम मात्र गरिराखेको हुँदैन जीवन नै जोखिममा परेको हुन्छ । त्यसैले यो सुनिश्चित गरिनु आवश्यक छ कि सबै बालबालिका स्वच्छ हावामा सास फेर्न सकून् जसले गर्दा तिनीहरूले पर्याप्त शारीरिक विकास गरी आफ्नो पूर्ण क्षमता प्राप्त गर्न सकून् । वायु प्रदूषणबाट प्रभावित बालबालिका विशेषगरी कमजोर हुनुको एउटा कारण यो पनि हो कि यिनीहरू वयस्कभन्दा तीव्र गतिमा सास फेर्दछन् । नवजात शिशु एवं स–साना बालबालिका घरेलु वायु प्रदूषणप्रति पनि बढी संवेदनशील हुन्छन् । जहाँ खाना पकाउनका लागि तातो, न्यानोका लागि, बत्ती बाल्नका लागि नियमित रूपले प्रदूषण फैलाउने खालका इन्धन एवं प्राद्यौगिकीको उपयोग गरिन्छ । 

वायु प्रदूषणले मस्तिष्कको विकासलाई प्रभावित गर्दछ जसले गर्दा बालबालिकाको संज्ञानात्मक क्षमतामा ह्रास आउँछ । यसले बालबालिकाको मानसिक एवं शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका ३५ प्रतिशत बालबालिका यस्तो परिवेशमा रहन्छन् । स्वास्थ्य सङ्गठनद्वारा निर्धारित कणिकीय पदार्थ २.५ को तुलनामा उच्च हुने गर्छ जसमा पाँच वर्षभन्दा कम उमेरका ६३० एवं १५ वर्षभन्दा कम उमेरका १.८ अर्ब बालबालिका सामेल छन् । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्ष २०१६ मा बाह्य एवं घरेलु प्रदूषणका कारण पाँच वर्षभन्दा कम उमेरका पाँच लाख ४३ हजार, जब कि १५ वर्ष आयुका ५२ हजार बालबालिकाको मृत्यु भयो । बालबालिका समाजका भविष्य हुन् तर यी यसका सबैभन्दा कमजोर सदस्य पनि हुन् । 

पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकामध्ये ९८ प्रतिशत विश्वका निम्न एवं मध्यम आय हुने देशमा रहन्छन् जहाँ कणिकीय पदार्थ २.५ को स्तर उच्च छ । तुलनात्मक रूपले उच्च आय भएका देशमा पाँच वर्षभन्दा कम आयुका ५२ प्रतिशत बालबालिका यस्ता क्षेत्रमा रहन्छन् जसको वायुमा कणिकीय पदार्थ २.५ को स्तर विश्व स्वास्थ्य सङ्गठनले निर्धारित गरेको (२.५) मापदण्डभन्दा उच्च छ । सन् २०१८ मा १५ वर्षभन्दा कम आयुका बालबालिकाको सम्बन्धमा लगभग छ लाखको मृत्युमा वातावरण एवं घरेलु प्रदूषणको संयुक्त प्रभाव जिम्मेवार मानिएको छ । कम एवं मध्यम आय भएका देशमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा हुने श्वास सङ्क्रमणका लागि खाना पकाउँदा हुने घरेलु वायु प्रदूषण एवं बाहिरी वायु प्रदूषण ५० प्रतिशतभन्दा बढी जिम्मेवार मानिएको छ ।

वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ जसले पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये एक मृत्युका लागि जिम्मेवार ठानिन्छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार भारतले विश्वमा सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित मृत्युदर एवं बिमारीको बोझ सामना गर्नुपरेको छ । त्यहाँ प्रत्येक वर्ष दुई मिलियनभन्दा बढी मृत्यु हुन्छ । त्यसमध्ये वायुको बिगँरदो गुणस्तरका कारण हुने मृत्युको सङ्ख्यामा २५ प्रतिशत भागिदारी भारतको छ । वर्ष २०१६ मा भारतमा पाँच वर्षभन्दा कम उमेरका लगभग एक लाख बालबालिका मारिए तिनको स्वास्थ्यमा आएको जटिलताका कारण बाह्य एवं घरेलु वायु प्रदूषणको स्तर थियो । भारतपछि बालमृत्युको तथ्याङ्कअनुसार नाइजेरिया दोस्रो स्थानमा रह्यो ।

यसपछि क्रमशः पाकिस्तान, कङ्गो, इथियोपिया गणराज्य यस श्रेणीमा सामेल छन् । भारत ती देशमध्ये एउटा मानिन्छ, जहाँ पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकामध्ये ९८ प्रतिशतभन्दा बढी यस्तो क्षेत्रमा बसोबास गर्दछन्, जहाँ कणिकीय पदार्थ २.५ को स्तर विश्व स्वास्थ्य सङ्गठनद्वारा निर्धारित गुणस्तरभन्दा बढी छ । हामी पनि भारतकै छिमेकी भएकाले हाम्रो अवस्था पनि यसभन्दा भिन्न नहोला भन्न सकिन्न । सबै देशले बालबालिकाको स्वास्थ्य एवं सुरक्षालाई प्रोत्साहन गर्नका लागि विश्व स्वास्थ्य 

सङ्गठनको वैश्विक वायु गुणस्तर दिशानिर्देशको लक्ष्य प्राप्त गर्न काम गर्नुपर्ने हुन्छ । यसलाई प्राप्त गर्न सरकारले वैश्विक ऊर्जाका रूपमा जीवाष्म इन्धनमाथिको अधिक निर्भरतालाई कम गरी ऊर्जा दक्षतामा सुधार एवं ऊर्जा स्रोतको उत्थानलाई सुविधाजनक बनाउने खालको उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । 

राम्रो र नराम्रो फोहोरमैलाको व्यवस्थापनले फोहोरमैलाको मात्रालाई कम गर्न सक्छ, जसका कारण सामुदायिक वायु प्रदूषण पनि घटाउन सकिन्छ । घरहरूमा भोजन पकाउन, न्यानो पार्न एवं प्रकाश व्यवस्थाका लागि स्वच्छ प्राद्यौगिक एवं इन्धनको विशेष उपयोगले घर एवं वरिपरिको समुदायमा वायुको गुणस्तरलाई धेरै हदसम्म सुधार गर्न सक्छ । प्रदूषित वायुबाट बालबालिकालाई बचाउन विशेष कदम चाल्नुपर्ने हुन्छ । जस्तै, स्कुल खेलमैदान, व्यस्त सडक, राजमार्ग एवं बिजुलीका संयन्त्र वायु प्रदूषणका प्रमुख स्रोतहरूबाट टाढा राखिनुपर्छ । 

बालबालिकामा वायु प्रदूषणका कारण हुने प्रभावमा फोक्सोको विकासमा बाधा, फोक्सोको क्रियाशीलतामा कमी, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण, मानसिक एवं शारीरिक विकासमा अवरोध हुने व्यवहारसम्बन्धी विकार, जन्मँदा कम तौल हुनु, समयपूर्व बच्चा जन्मिनु, शिशु मृत्यु एवं चाइल्डहुड क्यान्सर प्रमुख हुन् । साथै वयस्क हुँदा हृदयसम्बन्धी रोग, मधुमेह एवं पक्षघातको खतरा हुन सक्छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्ष २०१६ मा बाह्य एवं घरेलु प्रदूषणका कारण पाँच वर्षभन्दा कम उमेरका पाँच लाख ४३ हजार, जब कि १५ वर्ष आयुका ५२ हजार बालबालिकाको मृत्यु भयो । बालबालिका समाजका भविष्य हुन् तर यी यसका सबैभन्दा कमजोर सदस्य पनि हुन् । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यलाई हुन सक्ने खतरालाई मनन गर्दै वैज्ञानिक एवं स्वास्थ्य विशेषज्ञले यसलाई न्यून गर्ने उपाय सुझाउनुपर्छ । 

सामूहिक एवं समन्वित प्रयासको माध्यमबाट वैज्ञानिक एवं स्वास्थ्य विशेषज्ञले प्रदूषणको जोखिमलाई कम गराउन भूमिका खेल्नुपर्छ । प्रत्येक दिन प्रदूषित वायुको सम्पर्कमा आउने लाखौँ बालबालिकालाई बचाउन यो आवश्यक छ कि तत्काल सही दिशामा यथोचित कदम उठाउनुपर्नेछ । अन्यथा अहिले त हामी कोभिड–१९ को प्रलयकारी वैश्विक महामारीको भुमरीमा रुमलिएका छौँ, जसबाट सकुशल निस्कने/उम्कने सजिलो बाटो सुदूर क्षितिजमा कतै देखिएको छैन । प्रदूषणको स्तर यथास्थितिमा रहिरहे भोलि के कस्तो स्थिति सिर्जना होला हाम्रो कल्पनाभन्दा परको कुरा भयो । भनिन्छ, हिजो बाँचेका थियौँ त्यसैले आज छौँ, आज बाँच्यौँ भने न भोलि रहौँला, नत्र कसले भोलिलाई देखेको छ र बाँचौँला । 

Author

डा. केदार कार्की