मानिसलाई लाग्ने रोग के हो र यसले जीवनमा के कस्तो असर गर्दछ भन्ने वास्तविकता बुझ्न अति जरुरी हुन्छ । रोगसम्बन्धी यथार्थ चिन्तन गर्न सक्यौँ भने मात्र हामी निरोगी हुन सक्छौँ । हामीबाट हुन जाने ती के कस्ता कमजोरी हुन् जसका कारणले रोगले जन्म लिन पुग्छ, थाहा पाउनु पर्दछ । वास्तवमा रोग लागेपछि अनेक झन्झट र पीडामा फसी समय, धन र श्रम खेर फाल्नु बुद्धिमानी होइन । तसर्थ रोग के हो ?, यो कसरी, कहाँबाट, कुन कुन कमजोरीले उत्पन्न हुन्छ ?, यसका कारण, रोकथामका आधारभूत कुरालाई ध्यानमा राख्नु पर्दछ ।
मानव शरीरमा जीवनी–शक्तिले सन्तुलित भोजनको माध्यमबाट ऊर्जा शक्तिलाई निरन्तर कायम राखी विकृत पदार्थ जस्तै मूत्र, मल, वायु, पसिना, थुक, र्याल तथा सिँगान आदिलाई बाहिर फ्याँक्छ तर कहिलेकाहीँ यस्तो अवस्था पनि आउन सक्छ जुनबेला शरीरका नसानाडी र पेटमा विकार अर्थात् मल, विषादि वस्तु रोकिन जान्छ । जसका कारण पेटमा कब्जियत हुन गई धेरै समयसम्म रहेमा त्यसका कारण रगतमा पनि सूक्ष्म विकारको प्रवेशले रक्त प्रवाहमा बाधा उत्पन्न भई जीवनी–शक्तिमा ह्रास आउन थाल्छ ।
पेटमा दूषित पदार्थ बढ्नाले दूषित वायु र दुर्गन्ध बढ्न गई त्यहाँ रोगाणुले जन्म लिन्छन् । शरीर शुद्ध र सफा छैन भने त्यसबाट उत्पन्न हुने विकारले पनि उत्पन्न गर्ने अवस्थाबाट मानिस रोगी बन्छ या उसको मृत्यु नै हुन सक्छ ।
ज्यादै फोहोर र सफाइ नै गर्न नसकिने गरी खण्डहर भएको घरलाई व्यक्तिले छोडे जस्तै शरीर ज्यादै फोहोर र विकारग्रस्त हुँदा आत्माले पनि शरीरलाई छोडिदिन्छ । घर फोहोर नै भए पनि आफ्नो घर सम्झेर व्यक्ति त्यसैमा रहिरहेझैँ आत्माले विकारग्रस्त शरीर छोडेन भने त्यो अवस्था रोग हो । आफ्नो घरलाई छोड्न कोही पनि चाहँदैन तर जताततै फोहोर भएर बसिनसक्नु भयो भने घर छोड्न विवश हुनु पर्दछ । त्यसै गरी आत्माले पनि घररूपी शरीर छोड्न चाँहदैन तर ज्यादै रोगले ग्रस्त बनायो भने त्यो आत्मा वाक्क भएर शरीर छोड्न बाध्य हुन सक्छ ।
तसर्थ जसरी घरमा बस्दा समय समयमा उचित सरसफाइ गर्नु पर्दछ त्यसै गरी शरीरका लागि हामीले आफ्नो जीवनी–शक्तिलाई सकिय पार्न शरीर बाहिर र भित्रका विकारलाई फ्याल्नु पर्दछ । शरीरमा दूषित पदार्थ बढ्नाले जीवनी–शक्ति स्वतः सकिय हुन्छ । त्यो सकिय भएको जीवनी–शक्तिले स्वतः विकार बाहिर निकाल्ने प्रक्रियामा आएका अवरोधको नाम नै रोग हो । यी भए शरीरबाट उब्जने रोग । वास्तवमा मानिसको आहारविहार र आचारविचार गलत भए भने तिनैले रोगलाई जन्म दिन्छन् । त्यसैले आयुर्वेदले जीवनमा शुद्ध आहार, शुद्ध विहार, शुद्ध आचारविचार हुनुपर्छ भन्छ ।
मानिसमा दुई किसिमबाट रोग आउँछ । एक शरीरभित्र विकार बढेर दूषित हुन गयो भने रोग उत्पन्न हुन्छ भने अर्को हो बाह्य वातावरण, मानिस, जनावर, कीरा र प्रकृतिबाट सरेर आउने रोग । यसरी मानिसको शरीरमा बाह्य रूपमा सर्दै र भित्री रूपमा उब्जिने प्रकृतिका रोग देखा परिरहन्छन् ।
विभिन्न किसिमका सरुवा रोग
शरीरमा भित्रबाट देखा पर्ने रोगमा क्यान्सर, ज्वरो, तनाव, पागलपन, खटिरा, मधुमेह, रक्तचाप, कब्जियत, टाउको दुख्ने आदि हुन् । त्यस्तै कोभिड, डेङ्गु, क्षयरोग, निमोनिया, रेबिज, स्वाइन फ्लु इत्यादि बाह्य प्रकृतिबाट आउने डरलाग्दा रोग हुन् ।
सुरुमा कोभिड सरुवा रोगका आएका बेलामा गम्भीर रूपमा प्रचार गरियो । यो रोगको त्रासका कारणले पनि धेरै मानिसले ज्यान गुमाए । विश्वमा लाखौँ मानिसको मृत्यु हुन सक्छ भनेर डर देखाइयो । जसले गर्दा सबै मान्छे त्रसित भए । स्वास्थ्य क्षेत्रले मानसिक बल दिनु पथ्र्यो, त्यो गरिएन । उल्टो तर्साउने काम मात्र भयो ।
वास्तवमा संसार स्वार्थी छ, स्वार्थ जता मिल्छ त्यतै मानिस जान्छन् । संसारमा सत्य कुरा पाउन बहुतै मुस्किल पर्छ । हेर्दा सबै सत्य जस्तो लाग्छ तर यहाँ सत्यभन्दा असत्यको भुमरी ज्यादा छ । त्यो भुमरी केमा छ भन्ने कुरा मानिसलाई थाहै हुन्न । त्यही भुमरीमा परेर मानिस सधैँ पिसिँदा रहेछन् ।
रोग सर्ने आधार
विश्व स्वास्थ्य सङ्गठनले कुनै पनि सरुवा रोग मुख्यतया मानिसबीच आपसमा भेटघाट गर्दा, सँगै बस्दा, एकले अर्काको जुठो खाँदा र भीडभाडमा फैलिन्छ भनेको छ । त्यस्तै रोग सङक्रमित लामखुट्टेले टोक्दा, जनावरसँग खेल्दा, रोगी जनावरको मासु खाँदा, सङक्रमित व्यक्तिसँग ज्यादा नजिक हुँदा, सङक्रमित व्यक्तिले सास फेर्दा, खोक्दा, हाच्छिउँ गर्दा तथा कुराकानीबाट सजिलैसँग सरुवा रोग सर्छ । अरू दूषित सतहबाट पनि रोग प्रसारित हुन सक्छ । त्यस कारण हरेक सार्वजनिक स्थान सफा, सुग्घर र प्रदूषणमुक्त गराउनु पर्दछ ।
कुनै पनि रोगको रोकथाम र नियन्त्रणका उपायमा स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हातखुट्टा धुने, खोक्दा मुख ढाक्ने, आँखा र मुख धुने, खोक्दा वा हाच्छिउँ गर्दा टिसु पेपर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सङक्रमित मानिसबाट टाढै बस्ने, लामखुट्टे र जनावरको टोकाइबाट बच्नु पर्दछ ।
यसका साथै योग तथा प्राकृतिक चिकित्सामा लाग्ने गरेमा रोगबाट बच्न मद्दत पुग्दछ । पोषणयुक्त खाना, फलफूल, तरकारी, नित्य व्यायाम र प्राकृतिक औषधिलाई प्रयोग गर्नु पर्छ । बिरामीको सम्पर्कमा रहनेले होसियारी अपनाउनु पर्दछ । लगाउने लुगा सधैँ सफा हुनु पर्छ । सफा पानीले स्नान गर्ने बानी बसाल्नु पर्दछ ।
–युवामञ्च