सन्धिखर्क समाचारदाता
सन्धिखर्क, चैत १४ गते । वन डढेलो नियन्त्रण गर्न दस्ता निर्माण गरी परिचालन गरिएपछि डढेलो नियन्त्रण अभियान प्रभावकारी भएको छ । विगतको तुलनामा आगलागीका घटना न्यून भएका छन् । प्रहरी, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह र समुदायलाई नै अभियानमा सक्रिय बनाएर पूर्वतयारीका काम गरिएपछि नियन्त्रणमा प्रभावकारिता देखिएको हो ।
गत वर्षको चैतसम्म १८ स्थानमा आगो लागिसकेको थियो तर यस वर्ष भने दस्ता निर्माण गरी अभियान सञ्चालन भएपछि जम्मा तीन स्थानमा मात्र आगो लागेको छ । उक्त तीन स्थानका आगलागी पनि दस्ताले तत्काल नियन्त्रण गरेपछि कुनै क्षति नभएको डिभिजन वन कार्यालय अर्घाखाँचीका वन डढेलो नियन्त्रण समितिका संयोजक केशर खड्काले जानकारी दिनुभयो ।
डढेलोको उच्च जोखिममा रहेका अर्घाखाँचीका वनमा दस्ता परिचालन गरी रातदिन निगरानी गरिएको छ । स्थानीय पालिकाको समन्वयमा डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण दस्ता निर्माण गरी रातिमा पनि निगरानी गरिरहेको छ ।
जिल्लामा डढेलोको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी दस्ता खटाइएको छ । अर्घाखाँचीमा ७० वटा सामुदायिक वनले चारदेखि १० जनासम्मको समूह विभाजन गरी दस्ता निर्माण गरिएको छ । भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले भन्नभुयो, “विगतमा डढेलो नियन्त्रण गर्न नसक्दा धेरै क्षति बेहोर्न परेको थियो । यस वर्ष भने पूर्ण नियन्त्रणको अभियानमा छौँ ।”
अभियान अन्तर्गत २५ वटा प्रहरी युनिटबाट बस्तीनजिक रहेका जलनशील पदार्थहरू पातपतिङ्गर हटाउने, अग्नि रेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थापन गर्ने काम भएका छन् ।
सामुदायिक वन उपभोक्ता समूह, कर्मचारी तथा सरोकारवाला निकाय र समुदायसँग अन्तर्क्रिया गर्दै प्रहरीसहितको दस्ता परिचालन भएको छ । नागरिकलाई सचेत हुन सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुका साथै अन्तर्क्रिया तथा जनचेतानामूलक कार्यक्रम पनि सञ्चालन भएका छन् ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लाका अधिकांश सामुदायिक वन तथा निजी आवादी वन डढेलोको उच्च जोखिममा छन् । जिल्लाको ६० प्रतिशत भूभाग वनजङ्गल छ । विगतमा मानवीय त्रुटि र सामान्य सावधानी नअपनाउँदा जङ्गलमा डढेलो लागेर वातावरण र ठुलो धनजनको समेत क्षति हुने गरेको थियो । डिभिजनल वन कार्यालयका अनुसार मानवीय कारणले ८० प्रतिशत, प्राकृतिक कारणले १० प्रतिशत तथा १० प्रतिशत नागरिकलाई थाहा नभएका कारण डढेलो लाग्ने गरेको छ ।
अर्घाखाँचीका ४४६ वटा सामुदायिक वनबाट आगलागी नियन्त्रण गर्ने कार्ययोजना र जोखिममा रहेका १६ क्षेत्रमा विशेष दस्ता परिचालित छ । विगतमा वनको डढेलोले बस्तीमा क्षति पु¥याएपछि माघदेखि नै अभियान सञ्चालन गरिएको थियो । तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गरी दस्ता निर्माण गरिएको खड्काले बताउनुभयो ।
गत वर्ष आगलागीबाट ४२ घर पूर्ण रूपमा जलेका थिए । ५८ गोठ जलेर नष्ट भएका थिए । आगलागीमा ५३ चौपायाको मृत्यु भएको थियो । दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लाग्दा ५८३ क्युफिट काठ पनि नष्ट भएको थियो ।