• १७ चैत २०८१, आइतबार

पालो कुर्नुपर्ने अवस्था अन्त्य

blog

बुटवल समाचारदाता

बुटवल, चैत १४ गते । लुम्बिनी प्रादेशिक अस्पतालले इन्डोस्कोपी सेवाका लागि महिनौँ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै दैनिक रूपमा सेवा सुरु गरेको छ । 

इन्डोस्कोपी सेवाका लागि यसअघि आइतबार, मङ्गलबार र बिहीबार तीन दिन समय छुट्याउँदै आएकोमा अब दैनिक रूपमा नै यो सेवा उपलब्ध गराउने अस्पतालले जनाएको छ । अस्पतालमा रहेको तीन वटा इन्डोस्कोपी मेसिनबाट अब दैनिक ३० देखि ५० जनासम्मलाई यो सेवा उपलब्ध गराइने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिनुभयो । 

अस्पतालका इसिजी इन्डोस्कोपी विभाग प्रमुख भेषराज बन्जाडेले स्वास्थ्य सेवामा सुधार तथा सहज पहुँच विस्तार गर्दै अस्पतालमा इन्डोस्कोपीका लागि महिनौँ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै दैनिक रूपमा नै यो सेवा उपलब्ध भएको जानकारी दिनुभयो ।

विगतमा इन्डोस्कोपी गर्नका लागि बिरामीले तीन महिना लामो समय पालो कुर्नुपर्ने अवस्था रहे पनि अब भने एकै दिनमा सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो । 

प्रमुख बन्जाडेका अनुसार इन्डोस्कोपीबाट शरीरका विभिन्न भित्री अङ्गमा भएका घाउ तथा रोग पत्ता लगाउने गरिन्छ । इन्डोस्कोपीपछि कोलोनोस्कोपीका लागि समेत अस्पतालले तयारी गरेको छ । पेटमा समस्या भएमा, क्यान्सरको पारिवारिक इतिहास परीक्षण, क्यान्सर पत्ता लगाउन तथा त्यसको निगरानी गर्न, ठुलो आन्द्रामा भएको मासु पत्ता लगाउन र हटाउन तथा शल्यक्रियापछिको निगरानीका लागि कोलोनोस्कोपी गरिने बन्जाडेले बताउनुभयो । 

मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालमा उपचारका लागि आउने बिरामीको सेवालाई सहज बनाउन अस्पताल प्रशासनले सेवा विस्तारको अभियान नै थालेको बताउनुभयो । डा. ढकालले आउँदा दिनमा बिरामीले एकै दिनमा इन्डोस्कोपीको सेवा पाउने बताउँदै यसबाट महिनौँ पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भएको र त्यसका लागि अतिरिक्त शुल्कसमेत नलाग्ने र पहिलेकै शुल्कदरमा सेवा लिन सकिने बताउनुभयो । लुम्बिनी प्रदेश आपूर्ति केन्द्रको सहयोगमा इन्डोस्कोपी मेसिनको व्यवस्था गरी एकै दिनमा सेवा उपलब्ध गराउन थालिएको उहाँको भनाइ छ ।