कालीकोट समाचारदाता
कालीकोट, चैत १४ गते । कालीकोटमा बालविवाहविरुद्धको अभियानमा जुटेका अभियन्ता नै जोखिममा परेका छन् । अभियन्ता नै जोखिममा पर्न थालेपछि बालविवाह रोकिनेमा आशङ्का जन्मेको छ । बालविवाह हुन लागेको ठाउँमा गएर रोक्न खोज्दा आफूहरूले विभिन्न धम्कीको सामना गर्नुपरिरहेको अभियन्ताले गुनासो गर्नुभयो ।
बालविवाहको असरबारे बालबालिका र अभिभावकलाई जानकारी गराउँदै आउनुभएका नरहरिनाथ गाउँपालिका–३ का बाल अभियन्ता मनिका बुढाले बालविवाह रोक्न खोज्दा विभिन्न धम्की सहनु परेको बताउनुभयो । उहाँले बालविवाह रोक्न बालबालिकाका बुवाआमा र आफन्तलाई सम्झाउन खोज्दा उल्टै ज्यान मार्नेसम्मको धम्की आउने गरेको गुनासो गर्नुभयो । उहाँका अनुसार गाउँमा अझै पनि लुकिछिपी बालविवाह भइरहेको छ । विगतको तुलनामा अहिले बालविवाहमा कमी भए पनि धम्कीको सामना गरिरहेको उहाँको भनाइ छ ।
यसै गरी अर्का बाल अभियन्ता नरहरिनाथ गाउँपालिका–२ का पवित्रा विश्वकर्माले बालविवाह, जबर्जस्ती तथा भागी विवाह रोक्न खोज्दा आफूहरूलाई बलात्कार गरिदिनेसम्मको धम्की आउने गरेको बताउनुभयो । उहाँले आफ्नो पढाइलाई थाती राखेर बालविवाह, अनमेल विवाह, भागीविवाह रोकेर समाज रूपान्तरण गर्न खोज्न ज्यान मार्ने धम्की आउने गरेको उल्लेख गर्नुभयो । दिनहुँ धम्की आउने, तनाव दिने, बाटो छेक्ने जस्ता गतिविधिका कारण अभियन्ताहरू नै जोखिममा पर्ने र जसले गर्दा आफ्नो घरपरिवार नै चिन्तामा डुबेको उहाँले बताउनुभयो ।
पवित्राले स्थानीय सरकारका प्रतिनिधिलाई आफूहरू जोखिममा रहेकाले संवेदनशील बनिदिन आग्रह गर्दा गैरजिम्मेवारीपन देखाएको गुनासो गर्नुभयो । जोखिममा रहेका अभियन्तालाई सरकारले सुरक्षा दिनुपर्ने र जोखिम बिमा पनि गरिदिनुपर्ने बाल अभियन्ताहरूको माग छ । नागरिक समाजका अगुवा तथा शिक्षक बिना शाहीले कालीकोट जिल्लामा बालविवाह, अनमेल विवाह, भागीविवाह, जबर्जस्ती विवाह, छाउपडी प्रथा, जातीय विभेदका घटना रोक्न जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।
कुनै पनि गलत गर्नेलाई कारबाही भएको खण्डमा अभियन्ताको मनोबल बढ्ने र सामाजिक कुरीति कम हुने उहाँको भनाइ छ । जिल्लामा पहिलाभन्दा अहिले बालविवाह गर्नेको तथ्याङ्क घटेको भए पनि अझै लुकिछिपी बालविवाह भइरहेकाले यसलाई सबै मिलेर रोक्नुपर्ने शिक्षक शाहीले बताउनुभयो । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बालविवाहका अभियन्ता नै असुरक्षित हुँदै गएकोमा चिन्ता लागेको बताउँदै उनीहरूको सुरक्षामा संवेदनशील बन्नुपर्ने जनाउनुभयो ।