बुलबुले समाचारदाता
सुर्खेत, चैत १४ गते । कर्णाली प्रदेश सरकारले जलाधार संरक्षण नीति अवलम्बन गरेको छ । प्रदेशका विभिन्न जिल्लामा सम्भावित स्थान छनोट गरी जलाधार संरक्षणको योजना अनुरूप काम गर्न लागिएको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलाधार संरक्षणको योजना ल्याएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष सम्भावित क्षेत्रको पहिचान गरी गुरुयोजना निर्माणको योजना बनाइएको मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले गुरुयोजना निर्माणको काम अघि बढेको छ ।
मन्त्रालय मातहतका कार्यालयबाट कार्यान्वयन गर्ने गरी उक्त योजना बनाइएको छ । जलाधार दिगो विकासका लागि एकीकृत जलाधार व्यवस्थापन पद्धतिलाई अङ्गिकार गर्दै तल्लो तथा माथिल्लो तटीय क्षेत्रको सम्बन्ध स्थापित गर्ने गरी भूक्षय नियन्त्रण, जमिनको उत्पादकत्व वृद्धि र पानीका स्रोतको दिगो व्यवस्थापनका लागि प्राकृतिक जल पुनर्भरण पोखरीमार्फत बहुआयामिक उपयोग, वातावरण संरक्षण पारिस्थिकीय प्रणाली तथा जैविक विविधतालाई बढावा दिने गरी कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रको गुरुयोजना निर्माण गर्न लागिएको छ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रको संरक्षण र संवर्धन गर्न गुरुयोजना निर्माण गर्न लागिएको हो । यो वर्ष उत्तरी जलाधार क्षेत्रको प्रिफिजिविलिटी अध्ययनको काम गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
यो वर्ष गुरुयोजना निर्माण गरिने मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । आउँदो वर्षबाट अन्य आयोजना निर्माणका काम अघि बढाइने छ । बाढी, पहिरो, विपत् व्यवस्थापन, नदी खोलाको सिमाङ्कन गर्न र पानीका मुहानको पहिचान गर्नका लागि जलाधार संरक्षण योजना बनाइएको हो । जलाधार कार्यालयले वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, ४, ५ ७ र १२ माथिल्लो भागलाई समेटेर गुरुयोजना निर्माण गर्न लागेको हो । वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा प्रिफिजिविलिटी अध्ययनका काम सुरु गर्न लागिएको कार्यालयका भूसंरक्षण कार्यालय प्रमुख शिखर चपाइँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा गुरुयोजना निर्माणका लागि प्रदेश सरकारले १३ लाख बजेट विनियोजन गरेको छ । अध्ययनले कति जल संरक्षण गर्ने, कति पानीका मुहानको संरक्षण गर्ने, पानीका मुहान कहाँ कहाँ छन् पत्ता लगाउने, ती मुहानको व्यवस्थापन र उपयोग कसरी गर्न सकिन्छ भनेर निर्धारण गर्ने छ ।
उपत्यकाको खानेपानीका स्रोत
बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले जलाधार क्षेत्रको संरक्षण गर्न नयाँ कार्यक्रम ल्याएको हो । पानीका मुहानको परिचान गर्ने र तिनको संरक्षण र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर योजना निर्माण गर्न लागिएको हो । उपत्यकाका मुख्य उत्तरी क्षेत्रका खानेपानीका स्रोत नेवारे खोला, खोर्के खोला, झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला, आँपडाँडी खोला, सोलीघोप्टे खोलालाई समेटेर गुरुयोजना निर्माण गर्ने छ ।
राजधानीमा खानेपानीको खपत बढिरहेको भए पनि पछिल्लो समय खानेपानीका मुहान सुक्दै गइरहेका छन् । जलाधार क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । यो वर्ष गुरुयोजना निर्माण गरिने र गुरुयोजनाले औँल्याएका क्षेत्रमा कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ ।