• १७ चैत २०८१, आइतबार

‘खोकी न सोकी क्षयरोग पो हो कि ?’

blog

बैतडी समाचारदाता    

बैतडी, चैत १४ गते । ‘खोकी न सोकी क्षयरोग पो हो कि ?’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँ गाउँ पुग्न थालेका छन् । समुदायमा क्षयरोगका बिरामी भए पनि आफैँ उपचारमा नआउँदा क्षयरोगी पत्ता लगाउन टोली परिचालन गरिएको हो । यो वर्ष बैतडीमा चार जना थप क्षयरोगी पत्ता लागेसँगै बिरामीको सङ्ख्या १०२ पुगेका छन् । 

पत्ता लागेका ९८ जना पुराना र यो वर्ष थप चार जना गरेर १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ । तथ्याङ्क अनुसार बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरेर १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो ।  

विश्व क्षयरोग दिवसका अवसरमा पारेर सोमबार स्वास्थ्य कार्यालयले सरोकारवालासँग अन्तर्क्रिया गरेको छ । क्षयरोग पत्ता लगाउन समुदाय स्तरमै स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । 

सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थामा निःशुल्क पाइने गरेको छ । क्षयरोगीले छ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने स्वास्थ्यकर्मीले बताएका छन् । 

लगातार दुई हप्तासम्म खोकी लाग्नु, छाती दुखेर स्वास फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझ पख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षण देखिएमा क्षयरोग हुन सक्छ भन्ने मान्यता रहेको छ । पछिल्लो समय ‘खोकी न सोकी क्षयरोग पो हो कि ?’ भन्ने मान्यता अनुसार क्षयरोग पत्ता लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।

पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त कार्यक्रम सञ्चालन भइरहेको स्रोतव्यक्ति जयसिंह बडालले बताउनुभयो । उपकरणसहित स्वास्थ्यकर्मीको टोली परिचालन भएर रोगी पत्ता लगाउने काम भइरहेको उहाँले बताउनुभयो । एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उहाँले बताउनुभयो ।