• १६ चैत २०८१, शनिबार

रुस–युक्रेन युद्ध रोक्न पुटिन–ट्रम्प वार्ता

blog

युक्रेन युद्धका कारण पश्चिमा मुलुकबाट एक्लिएका रुसका राष्ट्रपति पुटिन अहिले कम्युनिस्ट मुलुकहरूको भर परेका छन् ।  

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेनमा चलिरहेको युद्ध रोक्न कुराकानी भएको छ । गत फेब्रुअरी १३ मा भएको नेताद्वयबीचको वार्ता रुस–युक्रेन युद्ध रोक्ने विषयमा केन्द्रित थियो । 

ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यलाई आफ्नो पहिलो कार्यसूची बनाएर प्रयास जारी राखेका छन् । युक्रेन युद्धका कारण पश्चिमा मुलुकबाट एक्लिएका रुसका राष्ट्रपति पुटिन अहिले कम्युनिस्ट मुलुकहरूको भर परेका छन् । उनले युद्धका लागि चीन, उत्तर कोरिया र भियतनामसँग सहयोग मागे ।

रुस र उत्तर कोरिया दुवैसँग परमाणु हतियार छ । रुसको तुलनामा क्षेत्रफलका हिसाबले उत्तर कोरिया निकै सानो भए पनि ऊसँग परमाणु हतियारसहितको अस्त्र भण्डार ठूलो छ । दुवै मुलुकमाथि चर्को अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइएको छ र पश्चिमा मुलुकबाट एक्लाइएको छ । त्यही भएर रुसका राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वैकल्पिक शक्तिका रूपमा आफ्नो पहिचान बनाउँदै निकटता बढाएका छन् ।  

राष्ट्रपति पुटिनले २४ वर्षपछि पहिलो पटक (जुन १९–२०, सन् २०२४) मा उत्तर कोरियाको दुई दिवसीय राजकीय भ्रमण गरे । राजधानी प्योङयाङमा सर्वोच्च नेता किमले रातो कार्पेट ओछ्याएर पुटिनको भव्य स्वागत गरेका थिए । सर्वोच्च नेता किमले रुस भ्रमण गरेको नौ महिनापछि राष्ट्रपति पुटिनले उत्तर कोरिया भ्रमण गरेका हुन् । त्यसअघि सन् २०१९ अप्रिलमा किमले रुस भ्रमण गरेका थिए । 

रुस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरुन्तै सैन्य सहायता पठाउने सम्झौता गरेका छन् । भ्रमणका क्रममा राष्ट्रपति पुटिन र सर्वोच्च नेता किमले शीत युद्धकालीन आपसी रक्षा सन्धि ब्युँताउने खालको सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौतासँगै उत्तर कोरिया वा रुसमा कसैले सशस्त्र हमला गरे दुवै मुलुकले सैन्य सहायता पठाएर प्रतिकार गर्ने छन् । 

उत्तर कोरियासँगको यो सम्झौताले रुसलाई ठूलो राहत मिलेको छ । “दुईमध्ये कुनै एक देशमाथि हमला भयो वा युद्धमा होमियो भने संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ५१ अनुसार अर्को देशले आफ्ना सबै उपलब्ध उपाय प्रयोग गरी तुरुन्तै सैन्य र अरू खालको सहयोग गर्ने छ ।” पुटिन र किमले हस्ताक्षर गरेको सम्झौताको बुँदा नम्बर ४ मा उल्लेख छ ।  

राष्ट्रपति पुटिनले उत्तर कोरियाको भ्रमणसँगै अर्को कम्युनिस्ट मुलुक भियतनामको पनि भ्रमण (जुन २०–२१, सन् २०२४) गरी सम्बन्ध सुधार र मित्रतालाई नवीकरण गरे । यो भ्रमणले पनि उनलाई थप बल प्रदान गरेको छ । भियतनामका कम्युनिस्ट नेतासँगको वार्ताले पनि पुटिनलाई थप उत्साही बनाएको छ । उत्तर कोरियाले जस्तै भियतनामले पनि युक्रेनसँगको युद्धमा रुसलाई समर्थन गरेको छ ।   

सन् २०२२ को फेब्रुअरी २४ देखि रुस र युक्रेन युद्ध सुरु भएको हो । ७२ घण्टामा पूरा युक्रेन कब्जा गर्ने रणनीति अनुरूप आक्रमण सुरु गरेको रुसले तत्काल लक्ष्यमा पुग्न नसकेसँगै युद्ध लम्बिँदै गयो । युक्रेनले एक्लै युद्ध लड्न नसक्ने भन्दै पश्चिमा मुलुकसँग सहयोग माग्यो । युद्ध सुरु भएको दुई महिनामा आत्मसमर्पण गर्ने चरणमा पुगेको युक्रेनलाई पश्चिमा मुलुकको सहयोगले युद्ध जारी राख्न बल पुगेको छ । विस्तारै विस्तारै हतियार, गोलाबारुद, बम र क्षेप्यास्त्रसाथै आर्थिक सहयोग पाउँदै गएपछि युक्रेन युद्धमोर्चाबाट पछि हटेन । अहिले त यो युद्ध दुवै पक्षलाई ठूलो प्रतिष्ठाको विषय बनेको छ । 

रुसलाई हराउन सकिएन भने युक्रेन मात्र होइन सारा युरोपको सुरक्षा खतरामा पर्छ भन्ने पश्चिमा मुलुकको विश्लेषण छ । त्यही भएर पश्चिमा मुलुक जसरी पनि युक्रेनलाई जिताउन लागिपरेका छन् । बेलायत र अमेरिकाले आफ्ना हतियार रुसविरुद्ध प्रयोग गर्न युक्रेनलाई अनुमति दिएपछि रुस–युक्रेन युद्ध तत्काल अन्त्य हुने सम्भावना देखिएन । अमेरिकाका तत्कालीन राष्ट्रपति जोए बाइडेनले अमेरिकी हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिए तर वर्तमान राष्ट्रपति ट्रम्पले त्यसलाई रोके । उनले युक्रेनलाई हतियार र आर्थिक सहयोग नगर्ने बताउँदै युद्ध अन्त्य गर्न दबाब दिएका छन् ।

राष्ट्रपति पुटिनले त रुसमाथि आक्रमण भएमा परमाणु हतियार प्रयोग गर्ने चेतावनीसमेत दिँदै आएका छन् । परमाणु हतियार बनाएको भन्दै उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी हटाउनु पर्छ भन्ने पुटिनको अडान र ढाडसले सर्वोच्च नेता किमलाई पनि ठूलो राहत मिलेको छ ।

उत्तर कोरियालाई तत्कालीन सोभियत सङ्घको सहयोग र समर्थन थियो तर अहिले जस्तो ठूलो महìव दिइएको थिएन । त्यतिबेलाका कुनै सोभियत सरकार प्रमुखले उत्तर कोरिया भ्रमण गरेनन् । कोरिया कब्जा गरेको जापानले दोस्रो विश्वयुद्धको अन्त्यमा आत्मसमर्पण गरेपछि कोरिया विभाजित भएको थियो । अनि उत्तर कोरियामा कम्युनिस्ट शासन र दक्षिण कोरियामा पुँजीवादी शासन कायम भयो । 


उत्तर कोरियालाई सोभियत सङ्घ र दक्षिण कोरियालाई अमेरिकाको साथ, समर्थन रह्यो । किमका हजुरबुवा किम इल सुङले एकीकरण गरेर कम्युनिस्ट कोरिया बनाउन सोभियत सङ्घकै सहयोगमा सन् १९५० मा दक्षिण कोरियामा आक्रमण गरेसँगै कोरियाली युद्ध भएको थियो । तीन वर्षसम्म चलेको यो युद्धमा २५ लाख मानिसको ज्यान गयो भने भौतिक संरचना ध्वस्त भए ।  

सोभियत सङ्घले उत्तर कोरियालाई हतियार मात्रै दियो, प्रत्यक्ष रूपमा युद्ध लडेन । दक्षिण कोरियाका लागि भने अमेरिकाले सैनिक पठाएरै लड्यो । सन् १९५३ मा दुई कोरियाबीच युद्धविराम भयो । युद्ध रोकियो तर दक्षिण कोरियाले भने शान्ति सम्झौतामा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धमै छन् ।

उत्तर कोरियाले सन् २००६ मा परमाणु हतियार बनाएर विश्वको ध्यान आफूतिर खिच्न सफल भयो । सन् २०१८ मा तत्कालीन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सिङ्गापुरमा शिखर वार्तासमेत भएको थियो । यो वार्तासँगै अमेरिका उत्तर कोरियाप्रति केही नरम भयो तर नाकाबन्दी भने कायमै रह्यो । 

रुसले अहिले उत्तर कोरियालाई ठूलो महत्व दिएको छ । सैन्य बलमा उत्तर कोरिया निकै शक्तिशाली भएर आएको छ । दक्षिण कोरिया र जापानको सुरक्षाका लागि दुवै मुलुकमा अमेरिकी सैन्य अखडा छन् । अमेरिकी सैनिक नहुने हो भने उत्तर कोरियाले कुनै पनि बेला दुवै मुलुकमाथि आक्रमण गर्न सक्ने अवस्था छ । चीन, उत्तर कोरिया, भियतनाम र रुसबीच बढ्दै गएको निकटताले दक्षिण पूर्वी एसियामा आफ्नो प्रभाव कमजोर हुन्छ कि भन्ने चिन्ता अमेरिकालाई छ । आर्थिक र सैन्य शक्ति बनेको चीनलाई उछिन्न नदिन पनि रुस र उत्तर कोरियासँग उसको निकटता नबढोस् भन्ने चाहेको अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गराउनेतर्फ तत्काल कदम चाल्नुपर्ने देखिएको छ । 

विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेको रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धको परिणाम घातक हुने देखेर नै युद्ध अन्त्यका लागि प्रयास सुरु गरेका हुन् । अब यो जारी युद्ध अन्त्यतिर गएन तथा रुसविरुद्ध बेलायत र अमेरिकाका हतियार प्रयोग हुन थाल्यो भने यसले क्षेत्रीय युद्ध मात्र होइन तेस्रो विश्वयुद्ध निम्त्याउने खतरा छ । जुन विश्वकै लागि दुर्भाग्य हुने छ । 

  –युवामञ्च   

Author

रामप्रसाद आचार्य