• १६ चैत २०८१, शनिबार

थाबिछेको बेवारिसे दुलडाँडी

blog

मध्यकालका चार नेवार राज्यहरूमा एक थियो, दोलखा । राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार (नेपाल संवत्, यसको गरिमामय इतिहास र वर्तमान अवस्था), “तत्कालीन कान्तिपुर, ललितपुर, भक्तपुर र दोलखा विभिन्न कालखण्डमा अस्तित्वमा आए र यसको सङ्घीय स्वरूप नेपाल मण्डल थियो ।” इतिहासकार बाबुराम आचार्यका अनुसार, “त्रिशूलीदेखि तामाकोशीसम्ममा महाभारतका उत्तरपट्टि रहेका काठमाडौँ, ललितपुर, भक्तपुर र दोलखाका चार रियासतका राजाहरू आफ्ना शासन क्षेत्रलाई नेपाल भन्दथे ।” 

मध्यकालमा यी चार राज्यका राजाहरूमध्ये कान्तिपुरका राजा महेन्द्र मल्लभन्दा अघि दोलखाका राजा श्रीश्री इन्द्रसिंह देवले चाँदीका मोहर आफ्नो नाममा निकालेका थिए । यिनै राजाका पालामा दोलखा राज्यमा अत्यधिक आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास भएर दोलखा ‘अनेक धनीहरू बसेको देश’ कहलाइएको कुरा इतिहासमा उल्लेख छ । यही कारणले होला सन् १८११ मा प्रकाशित आफ्नो पुस्तकमा विलियम किर्कप्याट्रिकले ‘एं एकाउन्ट अफ दी किङ्डम अफ नेपाल’ मा दोलखाबारे यस्तो लेखेका छन्, “काठमाडौँबाट चार दिन हिँड्नुपर्ने तामाकोशीको किनारमा दोलखा नामको प्रसिद्ध पौराणिक नेवार सहर छ ।”    

दोलखाका राजाले १५/१६ शताब्दीतिर काशी वनारसबाट पण्डित जयकृष्ण उपाध्यायलाई दोलखा ल्याएका थिए । उनलाई राजपुरोहितका रूपमा दरबारलगायत दोलखाका धार्मिक, सांस्कृतिक तथा सामाजिक संस्कार गर्न र साइत हेर्ने जस्ता जोतिष कार्य गर्न ल्याइएको थियो । दोलखाको प्रत्येक धार्मिक आध्यात्मिक कार्यमा जोशीको उपस्थिति अनिवार्य हुनुले यो कुराको पुष्टि गर्छ । यिनै पण्डित जयकृष्ण उपाध्यायका सन्ततिले दोलखाका नेवार केटीहरूसँग बिहे गरेपछि हालका जोशी या नेवार, बाहुन भएका हुन् । उसबेला उपत्यकाका राजाहरूले पनि दरबारमा धार्मिक कार्य गर्न वनारसबाट विद्वान् पण्डितहरू ल्याउने गरेका थिए । 

नेपालमै सर्वप्रथम चाँदीको मोहर चलाउने राजा श्रीश्री इन्द्रसिंह देव विसं १५९१ मा राजा भएका थिए । उनैले विसं १६०३ मा चाँदीको सिक्का निकालेका थिए । राजनीतिक सफलताका साथमा आर्थिक उन्नति तथा सांस्कृतिक उत्थान गर्ने  विचारले उनले चाँदीको मोहर निकाल्नुको अतिरिक्त धार्मिक–सांस्कृतिक सुधारसमेत गरेको देखिन्छ । अतः इन्द्रसिंह देवको शासन कालमै काशीबाट उपाध्याय पण्डित ल्याएको हो कि भन्ने पनि अनुमान ‘दोलखाको ऐतिहासिक रूपरेखा’ पुस्तकमा गरिएको छ । 

दोलखाको धार्मिक तथा आध्यात्मिक कार्यमा जोशी परिवारको विशेष भूमिका रहँदै आएको छ । मध्यकालका राजाहरूले नै भीमेश्वरको ‘रास पूजा’ भनिने नित्यपूजा गर्न र बडादसैँ तथा चैतेदसैँमा विभिन्न देवदेवीका पूजाका लागि व्यवस्था गर्न ड्वाकुलुङा टोलका गुनेश्वर जोशीका परिवारलगायत चार गुठियारको व्यवस्था गरेका थिए । जोशी परिवारलगायत चार गुठियारले अहिलेसम्म पनि विभिन्न विध्न कठिनाइका बाबजुद सो कार्य जारी राखेका छन ।  

श्री ५ रणबहादुर शाहका पालामा विसं १८५९ मा चौतरिया बम शाहले उनै पण्डित जयकृष्ण उपाध्यायका सन्तति विद्यानन्द उपाध्यायलाई केही जग्गासमेत गुठीका रूपमा राखिदिएर तलेजु मन्दिरमा दैनिक पूजा गर्ने अधिकारपत्र दिएका थिए । तदनुरूप विद्यानन्द उपाध्यायका सन्तति जोशी परिवारले विसं. १८५९ देखि तलेजु मन्दिरमा दैनिक पूजा गर्दै आएका छन ।

त्यस्तै भारतको काशीबाट ल्याइएका राजपुरोहित जयकृष्ण उपाध्याय दम्पती महादेवको भक्त भएकाले वैशाख शुक्लपक्ष अक्षय तृतीया पर्वका दिन भीमेश्वरको पूजा गर्न खेत, बारी गुठीका रूपमा राखेका थिए । स्मरणीय छ, भीमेश्वरको शिलालाई भीमसेन, महादेव र भैरवका रूप ‘एक शिला तीन अवतार’ मानिन्छ । दोलखाका राजाका पालामा राखेको गुठीलाई चिरस्थायी गर्न विसं. १८६४ मा नेपालका तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले पहिलाको लालमोहरलाई पुनः नवीकरण गरिदिएका थिए । अक्षय तृतीयाको दिन महादेवले पार्वतीसँग विवाह गरेको पवित्र दिनका रूपमा भीमेश्वरमा रुद्री तथा पूजा गर्ने गरिन्छ । साथै भीमेश्वरमा बोका पूजा गरेर दाजुभाइलाई भोज खुवाउने चलन छ । जोशी परिवारले हालसम्म सो कार्य जारी राखेका छन् ।  परिवार बढ्दै गएपछि जोशी परिवार बसेको पहिलो घरले नपुग भएको र भोजन्त उपाध्यायका एक जना छोरा मेजर धनमान जोशी र पत्नी मयूर वाणीले ‘थाबिछे’ घर बनाएका थिए । इँटाले निर्माण गरिएको र कुदिएको बुट्टे सःझ्याल र आँखीझ्याल राखिएको दोलखाका राम्रा पुरानो घरमध्येको एक घर हो–ड्वाकुलुङाको यो घर । मेजर धनमानको आठ पुस्ताले यो घरमा आश्रय पायो । साढे तीन तलाको यो घर २५० वर्षभन्दा पुरानो भएको अनुमान छ । शाहकालमा केही दोलखाली सैनिक सेवामा रही कुमाउ–गढवाल पुगेका थिए । इतिहासमा उल्लेख भएका व्यक्ति मेजर धनमान जोशी सन् ४ मार्च १८१६ मा सुगौली सन्धि भएर नेपालले ठुलो भूभाग गुमाउनुअघि कुमाउ–गढवालमा कार्यरत भएको प्रमाण भेटिएको छ (दोलखाको एतिहासिक रूपरेखा) । 

जनश्रुति अनुसार ड्वाकुछें टोलका मन्त्री परिवारले वनारसबाट जयकृष्ण उपाध्यायलाई दोलखा भाषामा ‘दुलडाँडी’ भनिने  डोलीमा बोकेर ल्याएर दोलखाको ड्वाकुलुङा टोलमा राखेका  थिए । सो डोली विगतमा डोकलुङ्गा टोलको धनमान जोशीको थाबिछे घरको पिँढीमा झुन्ड्याइएर राखिन्थ्यो । सो डोली विवाहमा दुलही बोक्न र दसैँको फूलपातीमा राजकुलमा फूलपाती भिœयाउन प्रयोग गरिन्थ्यो । 

दसैँको फूलपातीमा यो डोलीको विशेष महत्व छ । अहिलेसम्म पनि जोशी परिवारले आफ्नो पुर्खाले राखेको रित पालना गरेर उक्त डोलीमा फूलपाती बोक्ने काम गर्दै आएका छन् । दसैँमा सप्तमी अर्थात् फूलपातीको दिन दिउँसो तत्कालीन राजाका कुलदेवता राजकुलेश्वर तलेजु मन्दिरबाट पुजारी, पुरोहित र गुठियार बाजा बजाएर भीमेश्वर मन्दिरमा जान्छन् । मन्दिरमा भीमेश्वरको विशेष पूजा गरिसकेपछि गुठी पालो परेको दुई जना गुठियारले डोली बोक्छन । अरू गुठियारले केराको थाम बोक्छन् र उत्तर दिशातिर जान्छन् । ड्वाकुलुङा जोशीहरूको मूलघरमा रहेको उक्त डोली फूलपातीको दिन निकालेर सिँगारेर पूजा गरी राखिएको हुन्छ । दोलखाका संस्कृतिका ज्ञाता तीर्थनारायण जोशीका अनुसार, “डोली बोक्ने अघिल्लो व्यक्ति त्यसै साल पालो गर्ने गुठियार हुन्छ । पछिल्लो व्यक्ति पछिल्लो साल पालो पर्ने गुठियार हुन्छ । केराको थाम बोक्नेहरू त्यसपछि पालो पर्ने गुठियार हुन्छन् ।” 

पहिला डोलीलाई विधिवत् पूजा गर्छन् । त्यसपछि बोकालाई सङ्कल्प गरेर बोका पर्साउँछन् । बोका पर्सिसकेपछि डोलीको मुन्तिर राखेर मार हान्छन् । अनि मार हानेको बोकाको टाउको डोलीमा हाल्छन् । बोकाको शरीर चाहिँ तीन डोलीमा घुमाएर पूजा गर्छन् । अन्त्यमा बोकाको टाउको, फलफूल, अदुवा र  बेसार रहेको फूलपातीको डोली बोकेर बाजा बजाएर राजकुलेश्वर तलेजु मन्दिर फर्कन्छन् । राजकुलेश्वरमा विशेष पूजा गरेर फूलपाती भित्र्याउँछन् । 

विगतमा दोलखामा विधिवत् भएका विवाहका साक्षी यो डोली अहिलेसम्म पनि जीर्ण अवस्थामा यही घरको पिँढीमा रहेको छ । धेरै खर्च लाग्ने भएकाले २०१८/१९ सालतिर बाजा बजाएर विवाह गर्नु भनेको प्रतिष्ठाको विषय हुन्थ्यो । अतः कमै मात्राले बाजा बजाएर आफ्नो छोराछोरीको विवाह गर्थे । 

बाजा बजाएर गरेको विवाहमा सोही ड्वाकुलुङा टोलको जोशीहरूको घरमा रहेको दुलडाँडी सजाएर त्यसमा दुलहीलाई राखेर सहर परिक्रमा गराउने प्रचलन थियो । उक्त दुलडाँडी रहेको घरका जोशी परिवारहरूले सन्तान बढ्दै गएपछि स्थान अपुग भएर र नयाँ घर बनाउन सक्षम भएपछि अरू ठाउँमा घर बनाएर पुरानो घर एक/एक गरेर छोड्न थाले । २०७२ सालको भूकम्पले सो घर धराशायी बनाएपछि त्यहाँ आश्रय लिइरहेका एक/दुई बाँकी परिवार पनि घर छोडेर हिँडे । फलस्वरूप  जीर्ण घर मात्र एक्लो नभएर सो दुलडाँडी पनि बेसहारा र बेवारिसे भएको छ ।