• १५ चैत २०८१, शुक्रबार

कुलपतिका लागि सात जनाको दरखास्त

blog

लेखनाथ समाचारदाता

लेखनाथ, चैत ८ गते । गण्डकी विश्वविद्यालयको कुलपति पदका लागि सात जनाको आवेदन परेको छ । आवेदन दिनेमा प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा. कृष्णप्रसाद अधिकारी, प्राडा कुस्माकर न्यौपाने, प्राडा इन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइराला हुनुहुन्छ ।

फागुन २१ गतेबाट १५ दिनको म्याद राखी कुलपतिका लागि सूचना जारी भएकोमा अन्तिम दिन बुधबारसम्म सात जनाको आवेदन परेको हो । प्राध्यापक गौतम त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायका पूर्वडिन हुनुहुन्छ । प्राडा पराजुली पृथ्वीनारायाण क्याम्पस पोखरामा समाजशास्त्र तथा मानवशास्त्रको पूर्वविभागीय प्रमुख हुनुहुन्छ ।

प्राडा देवकोटा गण्डकी विश्वविद्यालयकै पूर्वउपकुलपति हुनुहुन्छ भने कास्कीको मादीका सहप्राध्यापक अधिकारीले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा प्राध्यापन गर्नुहुन्छ । पर्वतका प्राडा न्यौपाने पृथ्वीनारायण क्याम्पस नेपाली विभागका पूर्वविभागीय प्रमुख हुनुहुन्छ भने कास्कीकै लेखनाथका प्राडा तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडिन हुनुहुन्छ । 

पोखराका प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसका निवर्तमान प्रमुख हुनुहुन्छ । विश्वविद्यालयबाट गठित कुलपति सिफारिस समितिले ‘गण्डकी विश्वविद्यालयको कुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८१’ अनुसार आवेदन आह्वान गरेको थियो । 

संस्थापक कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिनुअगावै विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको थियो । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिएको हो । ऐनको दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुने व्यवस्था ऐनमा छ । 

सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य तीन जनाको नाम सिफारिस गर्नुपर्ने छ । यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपति नियुक्ति गर्ने व्यवस्था छ ।

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी), ब्याचलर अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचलर अफ आट्र्स, ब्याचलर अफ ल (बिएएलएलबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) को पढाइ हुँदै आएको छ ।