रमेश पौडेल
सिचुवान (छेन्दु), चैत ८ गते । पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दुका पर्यटन व्यवसायीले पोखरामा चिनियाँ पर्यटकलक्षित पूर्वाधार तयार पार्न सुझाव दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर उडानमार्फत छेन्दु पुगेका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायीबिच नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा त्यस्तो सुझाव दिइएको हो ।
पोखरा पर्यटन परिषद् र छेन्दुस्थित महावाणिज्य दूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा पनि जोड दिए । उनीहरूले पर्यटकीय साझेदारीका लागि आफूहरू तयार भएको बताएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर उडान सुरु भएकामा आफूहरू उत्साहित बनेको बताउनुभयो । उहाँले उडान नियमित भएमा दुवै पक्षलाई हित हुने भन्दै चिनियाँ पक्षसँग पाँच लाखका हाराहारीमा पर्यटक नेपाल पठाउन आग्रहसमेत गर्नुभयो ।
प्रमुख आचार्यले नेपाली पर्यटक यहाँको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न लालायित भएको र प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरामा पोखरा भ्रमण वर्षका अवसरमा चिनियाँ पर्यटकलाई विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।
सिचुवान प्रान्तको परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चार्टर उडान नियमित हुने विश्वास व्यक्त गर्नुभयो । दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबिचको साझेदारी महत्वपूर्ण बन्ने उहाँको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले छेन्दुमा गरिएको बिटुबी एवं सेल्स मिसनबाट दुवै देशका पर्यटन व्यवसायीबिच आपसी मित्रतालाई अझै बलियो बनाउने विश्वास लिइएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरा चिनियाँ पर्यटकले पनि रुचाइएको गन्तव्य भएको बताउनुभयो । पोखरामा धेरै चिनियाँ पर्यटक भित्र्याउन पोखरा–छेन्दु उडानको निरन्तरता आवश्यक भएको उहाँको भनाइ छ ।
छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत सुरेश राउतले पोखरा–छेन्दु उडानलाई नियमित बनाउन महावाणिज्य दूतावासका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरू तयार रहेको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पोखरामा चिनियाँ पर्यटकलक्षित पूर्वाधारहरू विस्तार हुने क्रम पनि बढिरहेको बताउँदै आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । सिचुवान प्रान्तको परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलाइन्सले सुरु गरेको व्यावसायिक चार्टर उडान नियमित हुने विश्वास व्यक्त गर्नुभयो ।