बोमलाल गिरी
नवलपुर, चैत ७ गते । पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारमा ५८ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजन राकेश झाका अनुसार पूर्वी खण्डमा ५८ र पश्चिम खण्डमा झण्डै ५९ प्रतिशत भौतिक प्रगति भएको हो ।
झाले महिनामा झण्डै आठ किलो मिटरका दरले सडक कालोपत्रे गर्ने काम भइरहेको बताउनुभयो । आजदेखि कावासोती र देवचुली नगरपालिका जोड्ने लोकाहा पुल लगायत तीन वटा पुल जोडेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
भारतीय ट्रकले भाँचेको दुम्किवासको नयाँ पुल निर्माणको आधा काम पनि सकिएको र बर्खा लाग्नु अघि नै प्रयोगमा ल्याइने झाले बताउनुभयो ।
म्याद थप भएको चार महिनासम्म काममै नफर्केको चिनीयाँ ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले अहिले पूर्वी र पश्चिम खण्ड दुबैतिरको कामलाई तिब्रता दिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा अधिकारीले बताउनुभयो । अहिले सडक विस्तार सुरु भएको ६ वर्ष यताकै सबैभन्दा रफ्तारमा काम भइरहेको सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी ई. शिव खनालको भनाइ छ ।
अहिले दुबै क्षेत्रमा कालोपत्रे गर्ने, कल्भर्ट बनाउने, माटो भर्ने, पुल बनाउने, दाउन्ने खण्डमा पहाड काट्ने लगायतका काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।
चाईना स्टेटलाई २०८१ को मंसिर २५ गतेभित्र एकतर्फी ७० प्रतिशत कालोपत्रे गर्नुपर्ने र सन् २०२५ को मार्च मसान्त अर्थात् वि.सं. २०८१ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र गरिसक्नु पर्ने सर्त दिइएको थियो ।
यही सर्त मान्न तयार भएपछि एक वर्षका लागि म्याद थपिएको हो । अन्तिम पटक भन्दै थपिएको म्याद आगामी २०८२ को साउन ८ गते सकिँदैछ ।
पहिलो सर्त गुज्रिसकेको छ । विसं २०८१ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र गरिसक्नु पर्ने दोस्रो सर्तअनुसार पनि काम नसकिने ठेकेदार कम्पनीले बताइसकेको छ ।
"सरकारले चैत मसान्तसम्म एकतर्फी कालोपत्रे गरेर सक्न दबाब दिईरहेको छ, सर्त पनि त्यही हो, हामी पनि त्यो प्रयास गरिरहेका छौं," ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजन झाले भन्नुभयो, "प्रयास गर्दा पनि सकिएन भने दाउन्ने खण्डबाहेकको भाग बर्खाअघि सकिन्छ ।"
यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमि सडकमध्ये ७० किमि ६ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६र६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।