देवरामप्रसाद यादव
सप्तरी, चैत ७ गते । सप्तरीको ६ वटा पालिकामा प्रशासनिक भवन निर्माण नहुँदा तत्कालिन गाविस भवनबाटै सेवा प्रवाह भइरहेको छ ।
स्थानीय तहमा दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि काम काज गरिरहेका छन् । पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको तीन वर्ष गरी आठ वर्ष स्थानीय तहको समय अवधि पुगिसकेको छ । यो अवधिमा जिल्लाको ६ वटा स्थानीय तहमा भने अहिलेसम्म आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसक्दा तत्कालिन गाविस भवन हाल वडा कार्यालयबाट सेवा प्रवाह भइरहेको स्थानिय बताउँछन्।
जिल्लाको महादेवा गाउँपालिकासहित ६ वटा पालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । महादेवा गाँउपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्न नसक्दा तत्कालिन गाविस भवन अहिले वडा नं. ६ को वडा कार्यालय ढिकलीबाट सेवा प्रदान गरिरहेको छ । वडा कार्यालयलाई नै कामचलाउ गाउँपालिकाका प्रशासनिक भवन मानेर सेवा प्रवाह गरीरहेको स्थानीय भागवत साह बताउँछन् ।
पालिका केन्द्रको लागी जग्गाको टुङ्गो नलागेपछि भौतिक संरचना निर्माण गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकिशोर साहले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले पनि जग्गाको यकिन नभएकोले तत्कालिन पुरानो गाविस भवनबाटै गाउँपालिकाले सेवा प्रवाह गर्नु परेको बताउनुभयो । उहाँले प्रशासनिक भवन बनाउनको लागी जग्गाको स्थायी टुङ्गो नहुँदा वडा कार्यालयबाटै सेवा प्रदान गर्नु परेको बताउनुभयो ।
गाउँपालिका सबैलाई पायक पर्ने ठाउँबाट सेवा प्रवाह नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । अहिलेको अस्थायी पालिका केन्द्र धेरै जसो वडाका बासिन्दालाई अपायक पर्ने ठाँउमा रहेको स्थानीयको गुनासो छन् । सबैलाई पायक पर्ने स्थान भनेको वडा नं. ५ को चन्द्र नहर अडा हो तर राजनीतिक पूर्वाग्रहले गर्दा अहिलेसम्म प्रशासनिक भवनको लागी ठाउँको टुङ्गो लाग्न नसकेको भन्दै स्थानीय बासिन्दाले विरोधसमेत गर्ने गरेका छन् ।
सुरुवाती वर्षदेखि पालिकाको केन्द्र तोक्ने काममा दलहरूबिच भएको विवादले गाउँपालिकावासीले दुःख पाइरहेको वडा १ का बिनोद यादवको भनाइ छ ।
पलिकाको प्रशासनिक भवनको जग्गाको स्थायी टुङ्गो नलाग्दा एकातिर सेवा प्रवाह सहज हुन सकेको छैन भने अर्कोतिर आफ्नै संरचना पनि बनाउन नसकिएको १ नम्बरका वडाध्यक्ष जयश्वर किशोर दासले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सुनिलकुमार मण्डलले प्रशासनिक भवनको लागी भौतिक संरचना बनाउन नसकिँदा गाउँपालिकाका अन्य कार्यालय भाडामा समेत लिनु परेको बताउनुभयो । पालिकाको प्रशासनिक भवनको लागी जग्गाको टुङ्गो छिटो लागेको भए भौतिक संरचना निर्माण गरी जनतालाई प्रभावकारी सेवा प्रदान गर्न सकिने उहाँले सञ्चारकमीलाई बताउनुभयो।
सप्तरीको ग्रामिण क्षेत्र भनेर चिनिने सो पालिकाका केही वडामा सडक पुगे पनि बाह्रै महिना यातायात सञ्चालन हुन सक्दैन । बिरामीलाई घरबाट स्टेचरमा बोकेर एम्बुलेन्स जाने सडकसम्म ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । यस्तै जिल्लाको कञ्चनरुप नगरपालिकाको पनि प्रशासनिक भवन निमार्णाधीन अवस्थामा रहेकोले तत्कालिन कचनपुर गाविस भवन हाल ८ नम्बर वडा कार्यालयबाट सेवाग्राहीलाई सेवा प्रवाह दिने गरेको नगर प्रमुख ललनप्रसाद गुप्ताले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
यसैबिच जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा पनि प्रशासनिक भवन अहिलेसम्म निर्माण नहुँदा तत्कालिन तिलाठी गाविस भवन हाल वडा कार्यालय १ बाटै सेवा प्रदान गर्नु परेको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो ।
जिल्लाको तिरहुत गाउँपालिकामा पनि प्रशासनिक भवन अहिलेसम्म निर्माण नहुँदा तत्कालिन गोईठी गाविस भवन हाल वडा कार्यालय ३ बाटै सेवा प्रदान गर्नुपरेको गाउँपालिका अध्यक्ष विजयकुमार यादवले बताउनुभयो ।
यस्तै, जिल्लाको अग्नीसायरकृष्णासवरण गाउँपालिकामा पनि प्रशासनिक भवन अहिलेसम्म निर्माण नहुँदा वडा कार्यालय २ स्थित सडक डिभिजनको भवनबाटै सेवा प्रदान गर्नु परेको गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले बताउनुभयो ।
यसैगरी जिल्लाको विष्णुपुर गाउँपालिकामा पनि प्रशासनिक भवन अहिलेसम्म निर्माण सम्पन्न नहुदा वडा कार्यालय ७ बाटै सेवा प्रदान गर्नु परेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले बताउनुभयो ।