टोपलाल अर्याल
रेसुंगा, चैत्र ७ गते । इस्मा गाउँपालिका –६ अमरपुरका ६४ बर्षीय बसन्त परियारले १३ बर्षबाट बाजा बजाउनुहुन्थ्यो । उहाँका पूर्वजको मुख्य पेसा नै लुगा सिलाउने र बाजा बजाउने हो ।
बुबाहरुसंगै हिड्दा–हिड्दै बसन्त पनि बाजा बजाउन अभ्यस्त हुनुभयो । उहाँले उमेरमा नौमति बाजा सबै बजाउनुहुन्थ्यो । गाउँभर पूजा, मेला र उत्सवहरुमा दिनरात बाजा बजाउने पुस्ता अहिले हराउँदै गएको छ । उहाँ बाहेक परियार समुदायबाट बाजा बजाउने गाउँमा कोही छैनन् ।
आफ्नै छोराहरुले समेत बाजा बजाउन छाडेपछि छिमेकीले बजाएनन् भन्नु मूर्खता हुने परियारले सुनाउनुभयो । पुराना बाजा र पुस्ता हराउँदै गएपछि अहिले ब्राह्मण, क्षेत्री समुदायसँग मिलेर काम गरिरहेको बसन्तले बताउनुभयो । ‘मैले हाम्रो परम्परा र पेसा जोगाउन दाजुभाइसँगै निकै जोड गरेँ भएन ।
अहिले अरु समुदायकालाई सिकाउँदै र संगै बजाउँदै आएको छु ’उहाँले भन्नुभयो, ‘म मरे पनि सिकाएकाले सम्झने भएकाले खुसी लागेको छ ।’ अमरपुरमा सात–आठ घर परियार समुदाय छन् । बसन्त बाहेक उनीहरु कसैले बाजा बजाउँदैनन् । जसका कारण गाउँबाट नौमति बाजा लोप हुन थालेपछि द राइजिङ्ग युवा क्लवले बाजा संरक्षणको अभियान अगाडी बढाएको हो ।
गत बर्ष क्लवमा आवद्ध सदस्यहरुले नै बाजा बजाउन सिकेपछि अहिले गाउँका मेला उत्सवहरुमा बाजा बजाउन अरु खोज्न पर्दैन । क्लवमा आवद्ध युवा तथा बिद्यार्थीले प्रतिसदस्य एक हजार पाँचसय उठाएर बाजा बजाउन सिकेका थिए । क्लवकै अध्यक्ष पुष्कर पोख्रेल आफैले ढोलकी बजाउनुहुन्छ । नरबहादुर कुमाल र पुनाराम पोख्रेलले दमाह तथा ओमप्रसाद गौतम माविको कक्षा ७ मा अध्ययनरत बिद्यार्थी सोनु विक र मदन विकले टेम्को बजाउँदै आउनुभएको छ ।
नरसिंहा, कर्नालसंगै सनाईमा पदम विक र रनबहादुर विकले मिहेनत गर्नुभएको छ । गत दशैमा सरायँदेखि बिबाह र उत्सवहरुमा बजाउन थालिएको द राइजिङ्ग युवा क्लव इस्मा गाउँपालिका –६ का अध्यक्ष पुष्कर पोख्रेलले बताउनुभयो । २०७८ सालमा स्थापना भएको क्लवले गाउँमा देउँसी भैलो खेलेर संकलित रकमबाट पँधेरा मर्मत, पिपलचौतारी निर्माण र बिपन्नलाई सहयोग गर्दैआएको थियो । गत बर्ष भैलोको रकमले भाँडाहरु खरिद गरेर भोजभतेरमा भाडामा लगाएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा बिबाह तथा मेला उत्सवका बाजा बजाएको दर छैन् । तर, दुःख हेरेर २५ हजार रुपियाँसम्म दिने गरेका छन् ।
त्यो रकम मध्ये २० प्रतिशत क्लवमा राखेर अरु वितरण गर्ने गरिएको छ । आगामी दिनमा केही क्लवका सदस्यहरुलाई कुक र संस्कृत अध्ययन गराएर क्याटरिङ्गसहित बिबाह, उत्सव सबै काम आफूहरुले गरेर अर्थोपार्जन गर्ने उद्देश्य रहेको क्लव अध्यक्ष पोख्रेलले बताउनुभयो ।
स्थानीय सरकारसँग धेरै पटक आग्रह गरे पनि बाजा सहयोग नपाएपछि कोषमा आग्रह गरेको उहाँले बताउनुभयो । क्लवको बाजा संरक्षण र गाउँमै केही गरौ भन्ने भावनामा हिमा गौतम स्मृति कोषले थप टेवा दिएको छ । कोषले ४० हजारको लागतमा नौमति बाजा सेट खरिद गरेर प्रदान गरिएको कोषका संस्थापक सुरेश आचार्यले बताउनुभयो ।
उहाँले सामाजिक भावना भएका युवाहरुको उर्जालाई सम्बोधन गर्न कोषकोतर्फबाट सानो सहयोग गरेको बताउनुभयो । संयुक्त राष्ट्र संघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको परिवारले बुबा ओमप्रसाद गौतमको नामबाट शिक्षा र आमा हिमाको नामबाट स्वास्थ्य, महिला शसक्तिकरण र सामाजिक विकासका विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ ।