• ७ चैत २०८१, बिहिबार

१२ लाख नगद सहित मानिस नियन्त्रणमा

blog

कल्पना खरेल

(नवलपरासी पश्चिम), चैत ७ गते । नवलपरासी पश्चिम प्रहरीले हुन्डी कारोबारको आशङ्कामा नेपाली १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका ८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेका छन् ।

बरामद गरिएको रकमको स्रोत खुल्न नसकेकोले उनीहरूमाथि अवैध वित्तीय कारोबार ( हुन्डी ) को आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैबाट प्रहरीले छुट्टाछुट्टै ६–६ लाख रुपियाँ नगद सहित भारतीय नम्बर प्लेटको २ थान मोटरसाइकल बरामद गरेको छ । भारतबाट नेपालतर्फ हुन्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सदरमुकाम परासीस्थित रामग्राम ५ बाइपास चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुवै जना विरुद्ध नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी हुन्डी कारोबार सम्बन्धी कसुरमा अनुसन्धान भई हरेको प्रहरीले जनाएको छ  ।