प्राचीन शैक्षिक नगरी तक्षशिलाका राजा अम्भीले अलेक्जेन्डरसमक्ष आत्मसमर्पण गरे । अलेक्जेन्डरले पहिलो र कठोर प्रतिरोध राजकुमार पौरसबाट भयो । युद्धमा पौरसलाई पराजित गरे पनि बहादुरी र साहसको कदर गर्दै अलेक्जेन्डरले पौरसलाई राज्य फिर्ता गरे र उनलाई आफ्नो मित्र बनाए ।
भारतीय उपमहाद्वीपमा अलेक्जेन्डरको आक्रमणलाई प्राचीन इतिहासको एउटा महत्वपूर्ण घटनाका रूपमा लिइन्छ । यो आक्रमण प्राचीन ग्रिक र भारतीय उपमहाद्वीपका संस्कृतीबीच पहिलो प्रत्यक्ष सम्पर्कको माध्यमसमेत बनेको थियो । जसले भारतीय उपमहाद्वीपमा ग्रिक संस्कृतिको प्रभावलाई प्रवेश दिलायो ।
प्राचीन इतिहासका सैन्य नायक अलेक्जेन्डर दी ग्रेट म्यासिडोनिया साम्राज्यका राजा थिए । अलेक्जेन्डरलाई भारतीय उपमहाद्वीपमा ‘सिकन्दर’ भनिन्छ । पर्सियन भाषामा अलेक्जेन्डरलाई ‘इस्कन्दर’ उच्चारण हुने हुँदा भारतीय उपमहाद्वीपमा पर्सियन भाषाकै सिको गरिँदा उनको नाम ‘सिकन्दर’ रहन गयो ।
अलेक्जेन्डरको जन्म इसापूर्व ३५६ मा म्यासिडोनिया (हालको ग्रिस) मा भएको थियो । उनी राजा फिलिप द्वितीय र रानी ओलम्पियसका पुत्र थिए । अलेक्जेन्डरले १३ देखि १६ वर्षसम्म प्रसिद्ध दार्शनिक अरस्तुबाट शिक्षा लिए । अलेक्जेन्डरलाई दर्शनशास्त्र, औषधि र वैज्ञानिक अनुसन्धानमा चासो जगाउने अरस्तु नै थिए तर पछि अलेक्जेन्डर आफ्ना गुरु अरस्तु सैद्धान्तिक दायरामा सीमित रहेको निष्कर्षमा पुगे । अलेक्जेन्डर गैरग्रिकहरूलाई दासका रूपमा व्यवहार गरिनु पर्छ भन्ने मान्यता राख्थे ।
अलेक्जेन्डरले आफ्नो साम्राज्य विस्तारको पहिलो लक्ष्य पर्सिया साम्राज्यलाई नियन्त्रण गर्नु थियो । जसमा उनी सफल रहे । पर्सियाका राजा डारियस तृतीयलाई उनले हराए । त्यसपछि अलेक्जेन्डरको साम्राज्य ग्रिस, इजिप्ट, पर्सियासम्म विस्तार भयो । त्यसपछि उनी भारतीय उपमहाद्वीपतिर अघि बढे । त्यति बेला ग्रिकमा भारतीय उपमहाद्वीप ‘सुनको पन्छी’ का नामले चिनिन्थ्यो । भारतीय उपमहाद्वीप समृद्धि, सम्पन्नता र विश्वव्यापी व्यापारमा जन्माएको आफ्नो प्रभुत्वका कारण पश्चिमा जगत्मा चर्चित थियो । भारतीय उपमहाद्वीपबाट विश्वका अन्य क्षेत्रमा मसला, कपास र अन्य मूल्यवान् वस्तु निर्यात हुन्थे । त्यसैले भारतीय उपमहाद्वीप अलेक्जेन्डरको नजरमा पर्यो । अलेक्जेन्डरको भारतीय उपमहाद्वीप विजयको उद्देश्य त्यहाँको धनसम्पत्ति र स्रोतसाधन हड्प्नु थियो ।
इसापूर्व ३३६ मा पिता फिलिपको हत्यापछि उनी राज्यको उत्तराधिकारी बने । उनले तत्कालै लिङ्केस्टिसका राजकुमारलाई फाँसी दिए । ती राजकुमार अलेक्जेन्डरका पिता फिलिपको हत्याका दोषी थिए । त्यसपछि उनले अन्य सम्भावित प्रतिद्वन्द्वी सबैलाई समाप्त पारे । अनि दक्षिणतिर मार्च गरे र एसिया आक्रमणको योजना बनाए । इसापूर्व ३३५ मा थ्रेस र ट्रिबल्लीलाई पराजित गरे । डान्युब नदी पार गरे । म्यासेडोनियामा आक्रमणका लागि आएका इलिरियन्सलाई उनले परास्त गरेका थिए ।
सिरिया, इजिप्ट र पर्सिया जितेपछि भारतीय उपमहाद्वीपमा आक्रमण गर्नु अलेक्जेन्डरको अन्तिम लक्ष्य थियो । इसापूर्व चौथो शताब्दीमा ग्रिस र इरानबीच ठूलो द्वन्द्व थियो । अन्ततः अलेक्जेन्डरको नेतृत्वमा ग्रिकहरूले इरानी साम्राज्यलाई पतन गराइछाडे । त्यहाँबाट उनी भारतीय उपमहाद्वीपतिर अघि बढे । अलेक्जेन्डरका लागि भारतीय उपमहाद्वीप रहस्यमय भूमि थियो । त्यहाँ रहेको अर्थ, धनमाथि अलेक्जेन्डरले आँखा गाडेका थिए ।
त्यसमा अझ हेरोडोटस जस्ता ग्रिक लेखकले भारतीय उपमहाद्वीपलाई एक काल्पनिक राज्यका रूपमा चित्रण गरेका थिए । त्यतिबेला भारतीय उपमहाद्वीपले विश्व व्यापारमा प्रभुत्व जमाएको पनि थियो । तत्कालीन भारतीय उपमहाद्वीपलाई ग्रिकले ‘एक समृद्ध मुलुक’ का रूपमा हेर्थे । त्यसैले अलेक्जेन्डरको अन्तिम अभीष्ट भारतीय उपमहाद्वीपमाथि विजय हासिल गर्नु थियो ।
इरान विजय गरेपछि अलेक्जेन्डर काबुलतर्फ अघि बढे । त्यहाँबाट खैबर हुँदै भारतीय उपमहाद्वीप प्रवेश गरे । उनले सिन्धु नदीमा पुगेपछि इरानी आक्रमणपछिको प्रभाव भारतीय उपमहाद्वीपमा महसुस भयो । तत्कालीन भारतीय उपमहाद्वीप अहिलेको जस्तो एकीकृत थिएन । भारतीय उपमहाद्वीप सानाठूला कैयौँ राज्यमा विभाजित थियो । भारतीय उपमहाद्वीपको उत्तर–पश्चिमी भेगको राजनीतिक अवस्था अलेक्जेन्डरका लागि अनुकूल मानियो । यस क्षेत्रमा पनि सानाठूला धेरै राज्य थिए । तत्कालीन तक्षशिलाका राजकुमार अम्भी तथा झेलम र चेनाब नदीको बीचमा राज्य गर्ने राजकुमार पौरस थिए । ती दुवैले मिलेर अलेक्जेन्डरका सैनिकको आक्रमणको प्रतिरोध गरेका भए ग्रिकका सैनिक अघि बढ्न सक्दैनथे तर राजा अम्भी र पौरस नमिल्दा अलेक्जेन्डरका सैनिकलाई युद्ध जित्न सजिलो भयो ।
प्राचीन शैक्षिक नगरी तक्षशिलाका राजा अम्भीले अलेक्जेन्डरसमक्ष आत्मसमर्पण गरे । अलेक्जेन्डरले पहिलो र कठोर प्रतिरोध राजकुमार पौरसबाट भयो । युद्धमा पौरसलाई पराजित गरे पनि बहादुरी र साहसको कदर गर्दै अलेक्जेन्डरले पौरसलाई राज्य फिर्ता गरे र उनलाई आफ्नो मित्र बनाए ।
त्यसपछि अलेक्जेन्डरका सैनिक व्यास नदीमा पुगे । उनी अझै पूर्व जान चाहन्थे तर उनका सैनिकले अघि बढ्न अस्वीकार गरे । लामो युद्धबाट थकित, रोग, भोकले अलेक्जेन्डरका सैनिकलाई भारतको गर्मी पनि सहन गाह्रो भयो । सोही कारण ग्रिक सैनिक युद्धबाट पछि हट्न चाहन्थे । त्यसमा पनि सिन्धु उपत्यकामा उनीहरूले प्रतिद्वन्द्वीको रणकौशल देखिसकेका थिए । अर्कोतिर गङ्गाको मैदानमा रहेका राज्य शक्तिशाली थिए । जुन ग्रिक सैनिकका लागि ठूलो चुनौती बन्न सक्थे ।
त्यतिबेला मगधका नन्द राजाको सेना अलेक्जेन्डरको सैन्य बलभन्दा विशाल र बलियो थियो । त्यसैले अलेक्जेन्डरले बारम्बार अघि बढ्न खोज्दा पनि उनका सैनिकले पाइला अघि सारेनन् । जीवनमा पराजय नबेहोरेका अलेक्जेन्डरको आदेश उनकै सैनिकहरूले पालना नगर्दा उनको अभियानमा बिराम लाग्यो । उनले सिन्धुपछि गङ्गाको मैदानमा प्रवेश गर्नै सकेनन् । यसरी उनको पूर्वतिर साम्राज्य विस्तारको सपना पूरा हुन सकेन ।
अलेक्जेन्डरले भारतीय उपमहाद्वीपमा १९ महिना (३२६–३२५ इसापूर्व) बिताए । त्यो उनका लागि निकै कठिन समय थियो । त्यस अवधिमा उनले थप योजना बनाउन सकेनन् । त्यसपछि उनले विजय हासिल गरेका राज्य स्थानीय शासकलाई नै फर्काए । ती राजाले अलेक्जेन्डरको अधीन स्वीकारेपछि ती राज्यलाई तीन भागमा विभाजित गरी त्यहाँ छुट्टाछु्ट्टै ग्रिक गभर्नरमार्फत आफ्नो प्रशासन उनले कायम राखेका थिए ।
अलेक्जेन्डरले भारतीय उपमहाद्वीपमा धेरै समय बिताउन पाएनन् । उनले भारतीय उपमहाद्वीपमा ग्रिक गढी, किल्ला र गभर्नरहरू छोडेर गए । त्यसमा पनि जनताबाट ग्रिक नियन्त्रणविरुद्ध विद्रोहसमेत भयो । सोही कारण उत्तर पश्चिम भेगमा अलेक्जेन्डर शासनको अस्तित्व चाँडै मेटिन पुग्यो ।
ग्रिकहरूद्वारा निर्मित मन्दिर, धरोहरहरू नष्ट गरिए । उनीहरूले स्थापना गरेका शहरको नाम फेरियो । अलेक्जेन्डरको मृत्युपछि उनको साम्राज्यका विभिन्न भाग मौर्य साम्राज्यका चन्द्रगुप्तले नियन्त्रणमा लिए । चन्द्रगुप्त मौर्यले अलेक्जेन्डरको सैन्य व्यवस्थापन र सङ्घर्षका कूटनीतिक उपायबाट लाभ उठाए । त्यसपछि मौर्य साम्राज्यले भारतीय उपमहाद्वीपको अधिकांश क्षेत्र कब्जा गर्यो ।
अलेक्जेन्डरको आक्रमणको समयमा प्राचीन युरोप र प्राचीन दक्षिण एसिया पहिलो पटक एकआपसमा सम्पर्कमा आएका थिए । अलेक्जेन्डरको युद्धले ग्रिक व्यापारी र कालिगडलाई व्यापार व्यवसाय विस्तार गर्न अवसर जुराएको थियो ।
उनले आफ्नो साम्राज्यमा समेटेको भारतीय उपमहाद्वीपका क्षेत्र इरानले जितेको क्षेत्रभन्दा धेरै ठूलो थियो । अलेक्जेन्डरको भारत आगमनबाट ग्रिक र भारतीय उपमहाद्वीपका सभ्यताबीच सांस्कृतिक र व्यापारिक आदानप्रदान भयो । भारतीय उपमहाद्वीपमा अलेक्जेन्डरको आक्रमणको प्रभाव दीर्घकालिक रह्यो । भारतमा ग्रिकहरूको उपस्थिति विशेष गरी गन्धार र सिन्धु क्षेत्रमा थियो । त्यहीँ ग्रिक संस्कृतिको विस्तार र व्यापारका मार्गको स्थापना भयो । ग्रिक कालिगडहरूले भारतीय उपमहाद्वीपका कला र वास्तुकलामा आफ्नो प्रभाव पार्न सफल रहे ।