• १९ चैत २०८१, मङ्गलबार

अर्नामा वंशाणुगत क्षयीकरण

blog

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पाइने अर्ना ।

बाबुराम कार्की 

वराहक्षेत्र, चैत ७ गते  । अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका अर्नाको वंशाणुगत क्षयीकरण हुँदै गएको छ । खुला चरिचरनका कारण आरक्षमा छाडा छोडिएका भैँसी, राँगासँग अर्नाको संसर्ग बढेका कारण दुर्लभ जीवका रूपमा रहेको अर्नाको ‘ब्याक क्रस्ड’ बढ्दै जाँदा वंशाणुगत क्षयीकरण हुँदै गएको हो । 

कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षक अधिकृत रामदेव चौधरीका अनुसार १५–१६ सयको सङ्ख्यामा छाडा छोडिएका गाईभैँसी र अर्नाको  चरन क्षेत्र एउटै हुँदा उनीहरूबाट जन्मिएका ब्याक क्रस्ड बढ्दै गएका छन् । यसरी छाडिएका भैँसी, राँगा र अर्नाबिचको संसर्गबाट जन्मेका अर्नाले गर्दा वास्तविक अर्नाको संरक्षणमा चुनौती थपिँदै गएको छ । 

अधिकृत चौधरीका अनुसार टप्पुमा रहेका अर्नामा विविधता देखिए पनि हालसम्म अर्नाको गुणात्मक पक्षको अध्ययन भएको छैन । वंशाणुगत क्षयीकरण हुनबाट बचाउन वास्तविक अर्नाको संरक्षणका लागि वंशाणुगत तहमा गएर अध्ययन अनुसन्धान हुन आवश्यक रहेको अधिकृत चौधरीको भनाइ छ ।  

अर्नालाई संरक्षण क्षेत्रमा राखेर मात्रै अर्नाको संरक्षण नहुने अर्ना संरक्षणकर्मी विमल तिम्सिना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले अर्नाको वंशाणु क्षयीकरणबारे बेलैमा अध्ययन अनुसन्धान गरी संरक्षणमा नलागे कोशीटप्पुबाट अर्नाको वंश नै नाश हुने हो कि भन्ने चिन्ता बढेर गएको छ ।” लोकल भैँसीका कारण अर्नाको वंशाणुगत क्षयीकरण हुँदै जाने र अन्ततोगत्वा अर्ना लोप भएर जाने उहाँ बताउनुहुन्छ । 

छाडा चरनका लागि छाडिएका भैँसी वा राँगासँग अर्नाको संसर्ग भई जन्मिएका पाडापाडी देख्दा अर्ना जस्तै देखिने भए पनि शुद्ध जङ्गली भैँसी (अर्ना) जस्तो नदेखिने आरक्षका प्रमुख संरक्षक अधिकृत रामदेव चौधरीले बताउनुभयो । उहाँका अनुसार बर्सेनि अर्नाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सङ्ख्यात्मक रूपमा अर्नाको वृद्धि सुखद भए पनि अर्ना ब्याक व्रmस्ड हुँदै जाँदा अर्नाको वंशाणुगत जिन लोप हुन सक्ने खतरा पनि उत्तिकै रहेको छ ।  

बोभिडेई परिवार अन्तर्गत पर्ने लोपोन्मुख जङ्गली जनावर अर्ना बोभिड जातिको दोस्रो ठुलो जनावर हो । कोशीटप्पुमा भएको अर्नाको पुख्र्याैली वासस्थान भारतको आसामस्थित काजिरङ्गा मानिन्छ । ओसिलो घाँसे मैदान, धापिलो क्षेत्र र बाक्लो जङ्गल क्षेत्रको समतल भूभागमा बस्न रुचाउने अर्ना कोशीटप्पुमा भारतको काजिरङ्गाबाट बसाइँ सरी स्थायी रूपमा बर्सौंदेखि बसोबास गर्दै आएको आरक्ष कार्यालयले जनाएको छ । 

२०३२ सालमा आरक्ष स्थापना हुँदा ६३ वटा अर्नाको सङ्ख्या रेकर्ड गरिएकामा पछिल्लो गणना अनुसार पाँच सयको सङ्ख्यामा अर्ना देखिएको छ । विश्वमै अर्ना धेरै पाइने काजिरङ्गापछि नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने प्रमुख संरक्षक अधिकृत चौधरी बताउनुहुन्छ । 

क्षयीकरण हुन नदिन के गर्ने ?

अर्नालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित जनावरका रूपमा राखिएको अर्नाहरूको शारीरिक संरचना स्थानीय घरपालुवा भैँसी, राँगाभन्दा फरक किसिमको हुन्छ । भैँसीको भन्दा ठाडा सिङ, खरानी खैरोदेखि कालो छाला र घाँटी, मुख, आँखा र घुडाका घेरामा सेता धर्का भएका अर्ना पछिल्लो समय विभिन्न किसिमका देखिन थालेका छन् । झट्ट हेर्दा अर्ना जस्तै देखिने भए पनि नियालेर नजिकबाट हेर्दा वास्तविक अर्नाभन्दा फरक किसिमका देखिने अर्नाको सङ्ख्या बढ्दो छ । १७५ वर्ग किमी क्षेत्रमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा अर्नाको महìवपूर्ण वासस्थानका रूपमा रहेको छ । 

आरक्षमा खुला सीमानाकाका कारण स्थानीयका गाईभैँसी चरिचरन रोक्न कठिनाइ भएको छ । अधिकांश आरक्षको क्षेत्र सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको हुँदा घेरबार गर्न नसक्दा लोकल भैँसी र अर्नालाई छुट्याउनै कठिनाइ हुने गरेको आरक्ष कार्यालयले जनाएको छ । खुला चरिचरन र छाडा चौपायको नियन्त्रण गर्न स्थानीयवासीलाई सजगता गराउनुपर्ने संरक्षणकर्मी सुझाउँछन् । आइयुसिएनले विश्वमै खतरामा परेका प्रजातिको रातो सूचीमा सूचीकृत अर्ना विश्वबाटै लोप हुने स्थितिमा पुगेको छ । नेपालको एक मात्र अर्ना पाइने ठाउँ कोशीटप्पु वन्यजन्तु आरक्षमा भएका अर्नाको वंशाणुगत संरक्षण र रेखदेख नगरे भविष्यमा लोप हुने निश्चित देखिन्छ । 

कोशीटप्पु वन्यजन्तु आरक्षबाट मुलुकका विभिन्न स्थानमा अर्नाको ंसंरक्षणका लागि लगिए पनि प्राकृतिक वातावरण अनुकूल नहुँदा कोशीटप्पुमा जस्तो सङ्ख्या वृद्धि नभएको बताइन्छ । कोशीटप्पु वन्यजन्तु आरक्षले मुख्य रूपमा अर्नाको संरक्षण गर्ने भएकाले अर्नाले सम्पूर्ण कोशीटप्पु वन्यजन्तु आरक्षको प्रतिनिधित्व गर्दै आएको छ । अर्नाको ‘ब्याक क्रस’ बढ्दै गए टप्पुबाट वास्तविक अर्नाको लोप हुने भएकाले पनि अर्नालाई संरक्षण गर्नुपर्ने देखिन्छ । विश्वकै दुर्लभ जीव अर्ना पारिस्थितिकीय प्रणाली सन्तुलन राख्नका लागि महìवपूर्ण रहेको विज्ञहरू बताउँछन् । प्रत्येक प्रजातिको बाँच्ने अधिकारलाई सुनिश्चित गरी जैविक विविधता संरक्षण गर्न सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने देखिन्छ ।