नवलपुर समाचारदाता
नवलपुर, चैत ७ गते । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ । थुप्रिएको फोहोर वर्गीकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि कावासोती दुर्गन्धित बन्दै गएको हो ।
कावासोती–३ को केरुङ्गे खोलापारि अङ्कुर सामुदायिक वनमा विगत पाँच वर्षदेखि फोहोर विसर्जन हुँदै आएको थियो । उचित ढङ्गले व्यवस्थापन नगर्दा प्रदूषण बढेको भन्दै विरोध भएपछि फोहोर उठ्न सकेको थिएन । नगरपालिका र सामुदायिक वनबिच फागुन १२ गते ११ बुँदे सहमति भई फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरेपछि मात्र उठाउन सहमति भएको थियो तर फोहोर वर्गीकरणको काम नसकिएकाले फोहोर उठ्न नसकेको हो । कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले अहिले दुर्गन्धरहित फोहोर व्यवस्थापनका लागि पहिले जम्मा भएको फोहोर वर्गीकरण भइरहेको र त्यो काम सकिएपछि मात्रै फोहोर उठ्ने बताउनुभयो ।
त्यसै गरी अङ्कुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले फोहोर वर्गीकरणको काम चलिरहेको र वर्गीकरणको काम सक्न अझै दुई हप्ता लाग्ने भएकाले फोहोर उठ्न नसकेको बताउनुभयो । उहाँका अनुसार अहिले पुरानो फोहोरलाई वर्गीकरण गरी बिक्री हुने फोहोरलाई बिक्री गर्ने र बिक्री नहुने फोहोरलाई जेसिबी र एक्साभेटर लगाएर खाडल खनी पुर्ने र त्यसपछि खोलातिर जान नदिन तटबन्धन निर्माणको काम हुने छ । वर्गीकरणको काम सुरु भएको दुई हप्ता बितिसक्दा पनि अहिलेसम्म ५० प्रतिशत फोहोर पनि वर्गीकरण हुन सकेको छैन । फोहोर नउठ्दा स्थानीय भने आक्रोसित भएका छन् ।