प्रदीप पन्त
बागलुङ, चैत ७ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत बागलुङ खण्ड ट्र्याक खोलेको झन्डै २५ वर्षसम्म पनि पूरा हुन सकेको छैन । राजमार्ग अन्तर्गतको १२५ किलोमिटर लम्बाइको बागलुङ खण्डमध्येको २५ किलोमिटर सडक बर्सौं बितिसक्दा पनि कालोपत्रे हुन नसकेको हो ।
एक हजार ८७९ किलोमिटरको पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गतको सबैभन्दा बढी लम्बाइ बागलुङमा पर्छ । कालोपत्रेका लागि जिम्मा लिएका निर्माण व्यवसायीको बेवास्ताका कारण पाँचौँ पटकसम्म म्याद थप हुँदासमेत काम पूरा हुन नसकेको काठेखोला गाउँपालिकाका जनप्रतिनिधि टीकाराम कँडेलले बताउनुभयो । पटक पटक सम्बन्धित निकायलाई झकझकाउँदासमेत समयमा काम सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।
बागलुङ बजारदेखि घोडाबाँधे सडकको पहिलो खण्डको १३ किमी र बिहँदेखि घोडाबाँधेसम्म दोस्रो खण्डको १२ किमी सडक कालोपत्रे पूरा हुन नसकेको हो । निर्माण व्यवसायीको लापर्बाहीका कारण समयसीमाभित्र काम पूरा नहुँदा यात्रा गर्न निकै कठिन भएको यात्रु हिराबहादुर भण्डारीले बताउनुभयो । बर्सौंदेखि यही सडक हुँदै यात्रा गर्नु परे पनि काम भने पुरानै गतिमा रहेको भण्डारीको भनाइ छ ।
बागलुङ बजारदेखि घोडाबाँधे सडकको दुवै खण्डमा कालोपत्रेका लागि पूर्वाधारसमेत निर्माण नहुँदा २० वर्षदेखि जोखिम मोलेर सवारी चलाउन बाध्य भएको सवारीचालक ध्रुव कुमालले बताउनुभयो । “मैले यस सडकमा सवारी चलाउन लागेको २० वर्ष भयो, अहिलेसम्म सडकमा कुनै सुधार आएको छैन,” कुमालले भन्नुभयो ।
पहिलो खण्डका लागि ४३ करोड ६५ लाख रुपियाँमा भारत/सिद्धिसाई जेभीसँग सम्झौता गरी पाँचौँ पटकसम्म म्याद थप गर्दासम्म अहिलेसम्म १० किमी सडक मात्रै कालोपत्रे भएको छ भने अझै तीन किमी सडकको काम बाँकी छ । दोस्रो खण्डका लागि ४० करोड ५० लाख रुपियाँमा सूर्य कन्स्ट्रक्सनसँग सम्झौता गरी म्याद थप भएको पाँचौँ पटकसम्म कालोपत्रे नभएपछि ठेक्का सम्झौता रद्द गरी पुनः दोस्रो पटक टेन्डर गरी काम अगाडि बढाएको पुष्पलाल मध्यपहाडी राजमार्ग पर्वतका योजना प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुभयो ।
समयमा काम सम्पन्न गर्न ताकिता गरिएको आचार्यको भनाइ छ । अहिलेसम्म बागलुङ खण्डको १५ किलोमिटर सडक डिभिजनलाई हस्तान्तरण गरिसकिएको र अन्य सडक पूरा गरी बुझाउने तयारीसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । पहाडी क्षेत्र हुँदै पूर्वपश्चिम जोड्ने पुष्पलाल (मध्यपहाडी) राजमार्ग बागलुङको मध्य भागबाट गएको छ ।