• ८ जेठ २०८१, मङ्गलबार

झापामा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

blog

बरामद मोटरसाइकल र चोरीमा संग्लन व्यक्ति। तस्बिर सौजन्य झापा प्रहरी

लीलाराज खडका 

विर्तामोड, जेठ १९ गते। झापाको विर्तामोड र आसपपासका क्षेत्रमा मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। 

इलाका प्रहरी कार्यालय विर्तामोडले बिहीवार पत्रकार सम्मेलन गरेर  मोटरसाइकल चोरी गर्ने १० जना र उनीहरुले चोरी गरेका विभिन्न कम्पनीका १२ वटा मोटरसाइकल सार्वजनिक गरेको हो। 

तीन दिन पहिले मात्रै झापाको दमकबाट चार थान मोटरसाइकल र २ जना मोटरसाइकल चोरीमा संग्लनलाई प्रहरीले पक्राउ गरेको थियो। 

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न विर्तामोड नगरपालिका-५ का १८ वर्षीय करण मण्डल, विर्तामोड-३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा-८ का १८ वर्षीय समीर मियाँ, टिकुली-५ सप्तरीका २७ वर्षीय करण महमद, गौरीगंज-५ का १८ वर्षीय ओम प्रकाश यादव, चुलाचुली इलामका १८ वर्षीय राहुल श्रेष्ठ र अन्य १४ र १५ वर्षका झापाकै नाबालाकलाई पक्राउ गरेको हो। 

दुई जना नाबालक भएकाले सार्वजनिक नगरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो। 

प्रहरीले ४ वटा बजाज, ५ वटा हिरो होण्डा, एउटा टीभीएस, एउटा यामाहा र एउटा सुजुकी कम्पनीका मोटरसाइकल बरामद गरेको छ। प्रहरीले चोरीका मोटरसाइकल झापाको अर्जुनधारा १० मा रहेको करण महमदको ग्यारेजबाट बरामद गरेको हो। 

तराई जिल्लामा मोटरसाइकल चोरी गरेर पहाडी जिल्लामा बिक्री गर्ने गरेकोसमेत खुलेको छ। प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ठूलो गिरोहको पहिचान भइसकेको दाबी गरेको छ। पक्राउ  परेका सबै जनालाई चोरी मुद्दामा म्याद थप गरेर  आवश्यक कानुनी कारबाही अगाडि बढाइ सकिएको प्रहरीले जनाएको छ।