नवीनराज कुइँकेल
लमजुङ, चैत ६ गते । हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् । खानेपानीमन्त्री प्रदीप यादवले बेंशीसहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताउनुभएको छ ।
बुधबार बेंशीसहरस्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेंशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना अर्थात् २४ घण्टा स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताउनुभयो ।
“स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो । खानेपानी अभावका कारण बेंशीसहरबासीको दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो”, मन्त्री यादवले भन्नुभयो, “आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ ।” नेपाल सरकारको नीति नै नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्रसहित लमजुङका नागरिकको खानेपानीको समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
नगर विकास कोषबाट लिइने ऋणमा ब्याजदर कम गर्न पहल गरिरहेको र यसले उपभोक्ताहरूलाई आर्थिक रूपमा थप सहज बनाउने विश्वास लिएको बताउँदै उहाँले खानेपानी सेवाको विस्तार तथा नवप्रवर्तनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयले दीर्घकालीन योजना बनाउने बताउनुभयो ।
उहाँले हाल सह–लगानी मोडेलमा उपभोक्ताले ३० प्रतिशत योगदान गर्नुपरेको भएता पनि अब सरकारले नीति परिमार्जन गर्दै ८५-१५ मा रूपान्तरण गरिसकेको बताउनुभयो । जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन उहाँले प्रतिबद्धता जनाउनुभयो ।
२०७४ असारमा निर्माण सुरु भई २०८१ असार मसान्तमा सम्पन्न यो योजनाबाट वडा नं. ६ देखि १० सम्मका तीन हजार ३०० घरधुरीका करिब ४५ हजार जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित भएको बेंशीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालित यो आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत योगदान रहेको छ । कुल लागत २८ करोड ८३ लाख रहेकोमा नेपाल सरकारको २० करोड २८ लाख र उपभोक्ता समितिको ८ करोड ६४ लाख लगानी रहेको छ ।
उक्त आयोजनाले २४ घण्टा निरन्तर गुणस्तरीय पानी उपलब्ध गराउने र जसका लागि २८ एलपिएस क्षमता भएको आधुनिक प्रशोधन केन्द्र निर्माण गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका प्रमुख नरेश रेग्मीले जानकारी दिनुभयो ।