• ५ चैत २०८१, मङ्गलबार

आगलागीले घर गोठ जलेर नष्ट

blog

आगलागीबाट जलेर नष्ट भएको घर गोठ । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत ५ गते । मकवानपुरको मकवानपुरगढीमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ । मङ्गलवार बिहान आगलागी हुँदा मकवानपुगढी गाउँपालिका –२ बासपानीका कृष्णबहादुर दर्लामी मगरको घरगोठ जलेर नष्ट भएको हो । 

जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको दुई तल्ले कच्ची घरमा खोले पकाउन बालेको आगोबाट घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरीक्षक बीरेन्द्र रायमाझीले जानकारी दिनुभयो ।

आगलागीका कारण घरमा रहेको धान १५ मुरी, चामल एक बोरा, आलु ४ बोरा, सुनको तिलहरी, सुनको झुम्का, सुनको हातको बाला, बच्चाको कल्ली बालागरी अन्दाजी पाँच तोला सुन, लत्ताकपडा र भाँडावर्तन गरी करिब १० लाख २५ हजार मूल्य बराबरको क्षति भएको छ । 

प्रहरी र स्थानीयको सहयोगमा आगलागी एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।