रामकृष्ण बोहरा
बागलुङ, चैत्र ४ गते । बागलुङ नगरपालिका –१२ अमलाचौरको जंगलमा लागेको आगो गाउँ पस्दा पात्लेखेत गाउँमा दुई घर जलेर नष्ट भएको छ ।
जंगलबाट सुरु भएको आगो गाउँ पस्दा पात्लेखेतका निलप्रसाद रेग्मी र डण्डपाणी रेग्मीको घर जलेर नष्ट भएको हो । निलप्रसादको घर सबै जलेको भए पनि डण्डपाणीको घर जल्दै गर्दा स्थानीयबासीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट निलप्रसादको घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद लगायतका सामग्रीहरु जलेर खरानीमा परिणत भएको पूर्व वडासदस्य रुद्र पुलामीले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण भने संकलन भइसकेको छैन् ।
‘गाउँमा जनशक्ति कम छ, भएका बुढाबुढी र केटाकेटी घरमै आगो आइसक्दा समेत निभाउन सक्ने अवस्थामा हुनुहुन्न’ पुलामीले भन्नुभयो ।
सोमबार दिउँसो १ बजे जंगलमा सुरु भएको आगो ३ बजे बस्ती पसेको थियो । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको सिमानामा रहेको जंगल क्षेत्रबाट सुरु भएको आगलागी चारैतर्फ फैलिएको थियो । आगो निरन्तर बस्तीतर्फ फैलिएकाले जोखिम कायम रहेको पुलामीले बताउनुभयो । आगलागीका कारण मानवीय तथा पशुधनको क्षति भने भएको छैन् ।