समुन्नत हुनु समृद्ध हुनु हो । समृद्ध हुनु भनेको उन्नतिशील हुनु पनि हो । सबै सूचकले सम्पन्न भई परम सन्तुष्टि, खुसी र आनन्द महसुस हुनु र कुनै पनि पक्षबाट अभावको महसुस नहुनु नै समृद्धि प्राप्त गर्नु हो । समृद्ध हुनाको भाव वा प्रभाव नै समृद्धि हो । समृद्धिमा नवीनता र सृजनशीलताको मुख्य भूमिका हुन्छ । सर्वजन हिताय, सर्वजन सुखाय नै समृद्धिको उत्तम अवस्था हो । समृद्धि हासिल गर्ने सबैको चाहना हुन्छ । प्रकृति र संस्कृतिको यथोचित संरक्षण गर्दै शान्तिपूर्ण मार्गबाट मानव विकासको उच्च अवस्था चुम्नुलाई समृद्धि हासिल भएको मान्न सकिन्छ । समृद्ध भएको समाजले पौरख गरेर गौरव हासिल गरेको अनुभूति गर्छ ।
स्थानीयवादमा आधारित भई समृद्धि प्राप्त गर्नु सबैभन्दा मौलिक, जनप्रिय र उन्नत उपाय हो । स्थानीयवादमा आधारित समृद्धिले स्थानीय जनतालाई आत्मगौरवको अनुभूति गराउँछ । एकै वाक्यमा भन्ने हो भने जनताको आर्थिक तथा सामाजिक जीवन प्रणालीमा रूपान्तरणकारी परिवर्तन हुनु नै समृद्ध हुनु हो । समृद्धिलाई संसारभरका शासक तथा प्रशासकले आफ्नो प्रमुख गन्तव्य बनाएको हुन्छ । कुनै देश किन अगाडि छ भनेर मूल्याङ्कन गर्दा समृद्धिकै सूचकलाई आधार मान्ने गरिन्छ ।
एग्रो पुलिङ के हो ?
कृषि उपजमार्फत कृषक र उपभोक्ताको जीवन समुन्नत बनाउन काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको एक विशेष कार्यक्रम नै एग्रो पुलिङ हो । खेती किसानीबाट उत्पादन हुने अन्नपात, पशुपन्छी, दुध घिउ, फलफूल आदि वस्तुलाई कृषि उपजका रूपमा बुझ्न सकिन्छ । खासमा कृषि उपजलाई खाद्यवस्तुका रूपमा समेत चिन्न सकिन्छ । खाद्यवस्तु उत्पादन गर्ने नेपालभरिका कृषकलाई सम्बन्धित स्थानीय तहमार्फत कृषि कर्ममा सहज वातावरण बनाउने र त्यसरी उत्पादन भएको कृषिउपजको बजारीकरणको उचित प्रबन्ध गरी न्यायोचित मूल्यमा काठमाडौँवासीलाई गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने मुख्य उद्देश्यले काठमाडौँ महानगरपालिकाले एग्रो पुलिङ कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
एग्रो पुलिङ कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाले एग्रो पुलिङ कार्यविधि, २०८१ स्वीकृत गरेको छ । कार्यविधिको प्रस्तावनामा काठमाडौँ महानगरवासीलाई अन्य स्थानीय तहसँगको सहकार्यमा प्रकृतिसम्मत कृषि प्रणालीको प्रवर्धन गर्दै गुणस्तरीय र ताजा खाद्यान्न सहज रूपले उचित मूल्यमा प्राप्त गर्ने कार्यलाई सहजीकरण गर्ने उद्देश्यले कार्यविधि जारी गरेको भन्ने व्यहोरा उल्लिखित छ । यस कार्यक्रम सञ्चालनपश्चात् नेपालभरिका अन्य स्थानीय तह अन्तर्गत उत्पादित कृषिउपजको सहज ढुवानी भई काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा आउने बिक्री केन्द्रबाट आमउपभोक्ताका लागि सहज र उचित मूल्यमा रासायनिक विषादीरहित खाद्यवस्तुको उपलब्ध हुने छ ।
एग्रो पुलिङ कार्यान्वयन कसरी ?
एग्रो पुलिङ कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहसँग संस्थागत रूपमा सम्झौता गर्ने छ । यसका लागि काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचनामार्फत अन्य स्थानीय तहलाई आह्वान गरेर वा स्वेच्छिक रूपमा समेत एग्रो पुलिङ कार्यक्रममा सहभागी हुन इच्छुक अन्य स्थानीय तहले पेस गरेको प्रस्तावलाई उपयुक्तता र सम्भाव्यताको आधारमा अध्ययन गरी छनोट गरिने व्यवस्था रहेको छ ।
कुनै विशेष खाद्यवस्तुको उत्पादन हुने पकेट क्षेत्रका रूपमा पहिचान कायम गरेको र त्यस प्रकारको कृषि उपजको प्रवर्धन गरी उत्पादन वृद्धि गर्न सम्भव भए सो खाद्यवस्तु काठमाडौँसम्म ढुवानी गर्न सकिने सम्भावना नै सम्झौताको मुख्य आधार हुने छ । मूल कुरो सो क्षेत्रको गाउँपालिका वा नगरपालिकाको कार्यपालिकाले निर्णय गरी काठमाडौँ महानगरपालिकासँग एग्रो पुलिङ कार्यक्रममा सहभागी हुन इच्छुक भई प्रस्ताव पेस गर्नुपर्ने छ । कार्यक्रम सुरु नहुँदै सात स्थानीय तहले एग्रो पुलिङ कार्यक्रममा जोडिन प्रस्ताव पेस गरिसकेका छन् ।
एग्रो पुलिङ कार्यक्रममा खाद्यवस्तुको प्राथमिकता
काठमाडौँ महानगरपालिकाले जारी गरेको एग्रो पुलिङ कार्यविधि, २०८१ को दफा ८ ले एग्रो पुलिङ कार्यक्रम अन्तर्गत बिक्री वितरण हुने खाद्यान्नको प्राथमिकीकरण गरेको छ । प्राथमिकीकरणले खाद्यवस्तुको वर्गीकरण यस प्रकारले गरेको छ :
(क) चामल, गहुँ, मकै, कोदो र फापर,
(ख) मास, मुसुरो, रहर र मुङको दाल,
(ग) सिमी, गहत, बोडी र भटमास,
(घ) आलु, तरुल र पिँडालु,
(ङ) लसुन, प्याज, अदुवा, बेसार, टिमुर र खोर्सानी,
(च) तेल, घिउ र दुग्धजन्य पदार्थ,
(छ) माछा, अण्डा, कुखुरा, खसी र राँगाको मासु, र
(ज) मौसमी हरियो तरकारी र फलफूल ।
एग्रो पुलिङ कार्यक्रम सम्बन्धमा नीतिगत र व्यवस्थापकीय प्रबन्ध गर्न गठित निर्देशक समितिले यसबाहेकका अन्य खाद्यवस्तुसमेतलाई एग्रो पुलिङ कार्यक्रममा समावेश गर्न सक्ने छ ।
खाद्यवस्तुको उत्पादन प्रवर्धन
कृषिप्रधान देश भनेर चिनिएको नेपाल अहिले आएर सबै खाले खाद्यवस्तु आयात गर्ने राष्ट्र बन्न पुगेको छ । समाजले कृषि कर्मलाई सम्मानित पेसा व्यवसायका रूपमा स्वीकार नगर्नु, कृषकका अनेकन समस्या समाधानमा शासकीय प्रणाली नै उदासीन हुनु, कृषक केन्द्रित कार्यक्रम नबन्नु र बाह्य बजारसँग प्रतिस्पर्धा गर्न सक्ने खालको कृषि कर्मलाई व्यावसायिक र आधुनिक प्रविधिमैत्री हुने गरी प्रवर्धन गर्न नसक्नु नै नेपाल कृषिप्रधान देशबाट स्खलित हुँदै जानुका प्रमुख कारण हुन् ।
नेपालका प्रत्येक भूमि कुनै न कुनै कृषि उपजका लागि प्रसिद्ध न छन् नै, त्यसको अतिरिक्त हरेक गाउँ कृषि कर्मका लागि प्रशस्त सम्भावना बोकेर बसेको छ र यसका लागि कसै न कसैले सार्थक पहल गर्न आवश्यक छ । यस्तो पहल गर्ने उपयुक्त निकाय भनेको हाल देशमा रहेको ७५३ वटा स्थानीय तह नै हो । यसै तथ्यलाई हृदयाङ्गम गरी सबै स्थानीय तहलाई सहजीकरण गर्ने गरी काठमाडौँ महानगरपालिकाले एग्रो पुलिङ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ महानगरपालिकाको सहयोग
एग्रो पुलिङ कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहसँग सम्झौता गरी तत् तत् स्थानीय तहको भौगोलिक क्षेत्रमा हुने विशेष कृषि उत्पादनलाई प्रवर्धन गर्न आवश्यकता अनुसार अनुदान, प्रविधि, सामग्री, प्राविधिक सहयोग र जनशक्ति उपलब्ध गराउने छ । यसरी अन्य स्थानीय तहलाई सहयोग उपलब्ध गराउँदा त्यस्ता खाद्यान्नको हालको उत्पादन परिमाणमा वृद्धि हुने, रासायनिक विषादीको प्रयोगलाई निरुत्साहित गरी जैविक विषादीको प्रयोगलाई प्रवर्धन गर्ने, माटोमा प्राङ्गारिक पदार्थ वृद्धि हुने, जैविक मलमा लगानी वृद्धि हुने, खाद्य सुरक्षा सुनिश्चित गर्न योगदान पुग्ने, जलवायु परिवर्तनको असर न्यूनीकरणमा सघाउ पुग्ने र माटो तथा मानव स्वास्थ्य र खाद्य सङ्कटलाई न्यूनीकरण गर्न मद्दत पुग्ने हुनुपर्ने छ ।
काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहलाई उपलब्ध गराउने सहयोग वित्तीय र भौतिक दुवै हुन सक्ने छ । यसरी उपलब्ध गराउने सहयोग आवश्यकता र उपयुक्तताको आधारमा काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहसँग सम्झौतामा नै उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
खाद्यवस्तुका लागि उत्पादक संस्था
काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहसँग सम्झौता गर्दाको बखत नै खाद्यवस्तुको उत्पादक संस्था किटान हुने छ । खासमा जसले खाद्यवस्तुको उत्पादन गर्छ वा कृषि कर्ममा संलग्न हुन्छ त्यो व्यक्ति वा संस्था नै उत्पादक हो । सम्बन्धित स्थानीय तहको सहजीकरण र समन्वयमा खाद्यान्न उत्पादन गर्ने, सङ्कलन गर्ने, गुणस्तर परीक्षण गर्ने र ढुवानी गरी महानगरपालिकाले तोकेको वितरक संस्थालाई खाद्यान्न आपूर्ति गर्ने कृषक समूह वा कृषि सहकारी वा कम्पनी नै खाद्यवस्तुको उत्पादक संस्थाको रूपमा रहने छ । यस्तो उत्पादक संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका कृषकको समूह निर्माण गरी वा नगरी पनि कृषकसँग समन्वय गरी खाद्यवस्तु सङ्कलन गर्न सक्ने छ । यसका लागि सम्बन्धित स्थानीय तहको सहजीकरण र सहयोग भने अनिवार्य हुने छ ।
वितरक संस्था
एग्रो पुलिङ कार्यक्रममा उत्पादक संस्थाले आपूर्ति गरेको खाद्यान्नलाई भण्डारण गर्ने, परीक्षण गर्ने, प्याकेजिङ गर्ने, लेबलिङ गर्ने, आमउपभोक्ताका लागि मूल्य निर्धारण गर्ने, बिक्रीवितरणको प्रबन्ध मिलाउने आदि जिम्मेवारी मूलतः वितरक संस्थाको हुने छ । वितरक संस्थाले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र महानगरवासीका लागि सहजतापूर्वक खाद्यवस्तु उपलब्ध गराउन आवश्यकताका आधारमा विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्ने छ । वितरक संस्था काठमाडौँ महानगरपालिकाले तोक्ने छ । सामान्यतः वितरक संस्था कृषि सहकारी वा कम्पनी हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
सम्बन्धित वडा समितिको सिफारिसमा काठमाडौँ महानगरपालिकाले वितरक संस्थाका लागि खाद्यान्न बिक्रीवितरण गर्न सहकारी संस्था, पार्टी प्यालेख, संस्थागत तथा सामुदायिक विद्यालय, वडा कार्यालय र पार्क तथा सार्वजनिक स्थान उपलब्ध गराउन सक्ने कानुनी व्यवस्था छ ।
खाद्यवस्तुको मूल्य निर्धारण
खाद्यवस्तु उत्पादन गर्ने कृषकसँग खाद्यान्न खरिद गर्दा उत्पादक संस्थाले सम्बन्धित स्थानीय तहको अनुमति लिई खरिद मूल्य निर्धारण गर्नुपर्ने छ भने वितरक संस्थाले भने काठमाडौँ महानगरपालिकाको अनुमति लिई बिक्री मूल्य निर्धारण गर्नुपर्ने छ । यसरी मूल्य निर्धारण गर्दा खाद्यान्न उत्पादन गर्ने कृषकलाई न्यायोचित मूल्य दिने र काठमाडौँका आमउपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय खाद्यान्न प्राप्त हुने कुरालाई विशेष ध्यान दिनु पर्छ ।
खाद्यान्नको गुणस्तर सुनिश्चित गर्नुपर्ने
एग्रो पुलिङ कार्यविधि, २०८१ को दफा १५ ले खाद्यान्नको गुणस्तर सुनिश्चित गरिनुपर्ने व्यवस्थासमेत गरेको छ । गुणस्तर खाद्यान्नको विभिन्न कार्य र चरणमा गर्नुपर्ने छ । गुणस्तर कायम गर्ने जिम्मेवारी मूलतः उत्पादक र वितरक संस्थाको हुने देखिन्छ । बिउको गुणस्तर कायम गर्ने, सुरक्षित उत्पादन गर्न र प्याकेजिङ तथा ढुवानीको चरणमा खाद्यान्नको गुणस्तर कायम गर्ने कार्य उत्पादक संस्थाको हुने देखिन्छ भने खाद्यान्न भण्डारण र बिक्रीवितरणको चरणमा खाद्यान्नको गुणस्तर कायम गर्ने कार्य वितरक संस्थाको हुनेछ । खाद्यान्नको गुणस्तर कायम भए नभएको अनुगमन, नियमन तथा सुपरीवेक्षण गर्ने कार्य काठमाडौँ महानगरपालिका र सम्झौता गर्ने अन्य स्थानीय तहको हुने छ ।
स्थानीय तह छनोट हुने आधार
निर्दिष्ट कृषि उपज उत्पादन गर्न पकेट क्षेत्रका आधारमा काठमाडौँ महानगरपालिकाले एग्रो पुलिङ कार्यक्रम सञ्चालन गर्न अन्य स्थानीय तह छनोट गर्ने छ । छनोट गर्दा नेपाल सरकारले तोकेको पकेट क्षेत्र र महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले स्थलगत अध्ययन गरेको प्रतिवेदनसमेतलाई आधार मान्ने छ । स्थानीय प्रविधि, सिप, श्रम, रैथाने बिउ, सामूहिक खेती, प्राङ्गारिक मलको प्रयोग गरी खाद्यान्न उत्पादन गर्ने स्थानीय तहलाई प्राथमिकता दिने कार्यविधिले तय गरेको छ ।
कम्पनी स्थापना गर्न सकिने
काठमाडौँ महानगरपालिकाले एग्रो पुलिङ कार्यक्रम कार्यान्वयनका लागि वितरक संस्थाका रूपमा काम गर्ने गरी कम्पनीसमेत स्थापना गर्न सक्ने कानुनी व्यवस्था कार्यविधिले गरेको छ ।
एग्रो पुलिङमार्फत रूपान्तरण
एग्रो पुलिङ कार्यक्रम सबै स्थानीय तहमा बसोबास गर्ने नेपाली किसानको खेतबारीलाई आम्दानीसँग जोड्ने र उत्पादित कृषि उपजको बजारीकरणको समस्या समाधान गर्ने एक मात्र विशेष कार्यव्रmम हो । यसबाट देशलाई फेरि कृषिमा आत्मनिर्भर बनाउन सक्छ भने कृषि पेसालाई यसले व्यावसायिक र नयाँ पुस्ताको आयआर्जनको दरिलो र भरपर्दाे स्रोत बन्न सक्छ । युवा पुस्तालाई देशभित्र रोजगारी दिई रोक्न यो भन्दा उत्तम उपाय अर्को देखिएको छैन । यसतर्फ सबै स्थानीय तहको सकारात्मक सोच र सहकार्यको उत्कट चाहना आवश्यक छ । आफ्नो स्थानीय तह विशेष रूपमा कुन खाद्यान्नका लागि पकेट क्षेत्र बन्न सक्छ वा बनेको छ यसतर्फ अध्ययन अनुसन्धान गरी काठमाडौँ महानगरपालिकासँग सम्पर्क र साझेदारी गर्न एग्रो पुलिङ कार्यव्रmममा जोडिन अग्रसर हुनुपर्ने छ ।