सुलीकोट समाचारदाता
सुलीकोट, चैत ३ गते । ऐतिहासिक जिल्ला गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ । देशभरका ३५ जना चर्चित साहित्यकार जिल्लाको इतिहासको अध्ययनका लागि ‘स्रष्टा पदयात्रा’ का लागि शनिबार गोरखा सदरमुकाम हुँदै नेपालका प्रथम सिहद लखन थापाको जन्मस्थल सहिद लखन गाउँपालिका–७ सालिक भएको काउले भन्ज्याङ आइपुगेको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।
पदयात्रा नेपाल काठमाडौँका अध्यक्ष शीतल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरू सहिद लखन गाउँपालिका आइपुगेका छन् । पदयात्राका क्रममा स्रष्टाहरूले जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख रचना तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गर्ने छन् । पदयात्रामा चर्चित गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार खोलाघरे साइलो, मन्दिरा मधुश्री, शान्ति सापकोटा, गीता रेग्मी, हरिश कल्पित, डा. बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ ।
पदयात्रामार्फत गोरखाको इतिहास चिन्न र चिनाउन मद्दत पुग्ने पदयात्राका अध्यक्ष शीतल गिरीले बताउनुभयो । स्थानीय कला संस्कृतिलाई जोगाउन सके मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले गुरु गोरखनाथको प्रसादका रूपमा रहेको ‘रोट’ लाई मात्र चिनाउन सके पनि जिल्लाको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यकारहरूको पदयात्राले गोरखा भ्रमण वर्षलाई थप उचाइमा पुर्याउनका लागि महत्वपूर्ण सहयोग पुग्ने गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले बताउनुभयो ।