• ३ चैत २०८१, आइतबार

लाट्टे आर्टमा गुरुङ प्रथम

blog

चितवन, चैत ३ गते । भरतपुरमा दुई दिनसम्म आयोजना भएको ‘लाट्टे आर्ट’ प्रतियोगितामा चितवनका सहिल गुरुङ प्रथम हुनुभएको छ । कफी ओ क्लक र हिमालयन चियाले भरतपुरमा आयोजना गरेको प्रतियोगितामा देशभरका ४६ जना प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ प्रथम हुनुभएको हो । कावासोतीका अभिशेक सुस्लिङले दोस्रो स्थान प्राप्त गर्नुभएको छ भने तृतीय चितवनकै टेकमायाँ गुरुङ र काठमाडौँका अनिश राईले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।  

प्रतियोगितामा दमक, इटहरी, धरान, काठमाडौँ, कावासोती, बुटवल, हेटौँडा, पोखरा र चितवनबाट ४६ जना प्रतियोगी सहभागी भएको कार्यक्रम संयोजक सुदिश थापाले जानकारी दिनुभयो ।  पहिलो चरणमा सहभागी ४६ जनाबाट छानिएका २१ जनालाई सेमिफाइनलमा प्रतिस्पर्धा गराई नौ जनालाई फाइनल प्रतिस्पर्धामा लगिएको थियो । फाइनलमा पुग्ने नौ जनामध्ये उत्कृष्ट छ जनालाई पुरस्कार प्रदान गरिएको हो ।