• १ चैत २०८१, शुक्रबार

इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न चीनकोआग्रह

blog

बेइजिङ, चैत १ गते । चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग आग्रह गरेको छ ।

सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेको थियो ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले जनवरीमा ह्वाइट हाउसमा फर्केपछि इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गर्नुभएको छ तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्धहरू कायम रहन्छन् तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानले अत्यधिक सबन्धित युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको बताएपछि यो सम्झौतालाई थप महत्त्व दिइएको थियो ।

बेइजिङले शुक्रबार इरानका उपविदेशमन्त्री काजेम गारिबावादी र रुसी उपविदेशमन्त्री सर्गेइ र्याबकोभलाई वार्ताका लागि आमन्त्रण गरेको थियो । चिनियाँ कूटनीतिज्ञ वाङ यीले इरानी आणविक मामिलामा वार्ता र संवादबाट व्यापक सहमति निर्माण गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले स्थिति फेरि नाजुक मोडमा पुगेको छ । हामीले शान्तिका लागि समय निकाल्नुपर्छ, राजनीतिक र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्नुपर्छ र बल प्रयोग र अवैध प्रतिबन्धको विरोध गर्नुपर्छ ।”

‘शान्तिपूर्ण’ परमाणु कार्यक्रम

गारीबादीले बेइजिङमा भएको ‘रचनात्मक’ वार्ताको प्रशंसा गर्नुभएको छ । “इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रकृतिको छ,” उहाँले भन्नुभयो ।  “हाम्रो आणविक कार्यक्रम कहिल्यै पनि अशान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गरिएको छैन,” गारिबावादीले भन्नुभयो ।

तर दुर्भाग्यवश, केही देशहरूले यस सम्बन्धमा अनावश्यक सङ्कट सिर्जना गर्न खोजिरहेका छन् । “वर्तमान परिस्थितिको मूल कारण संयुक्त राज्य अमेरिकाको एकतर्फी बहिर्गमन हो,” गारिबाबादीले भन्नुभयो ।

रुसी र इरानी अधिकारीले शुक्रबार चीनका उपविदेशमन्त्री मा झाओसुलाई भेटेर इरानको आणविक मुद्दा र साझा चासोका अन्य विषयमा विचार आदानप्रदान गरेको बेइजिङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उक्त बैठकपछि माले ‘राजनीतिक र कूटनीतिक संलग्नता र पारस्परिक सम्मानमा आधारित संवाद’का लागि चीनको समर्थन रहेको दोहोर्‍याउनुभएको थियो ।

माले भन्नुभयो, “हामीले सबै गैरकानुनी र एकपक्षीय प्रतिबन्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ ।

उहाँले भन्नुभयो, “सम्बन्धित पक्षहरूले वर्तमान परिस्थितिको मूल कारणहरू समाप्त गर्न र प्रतिबन्ध, दबाब र बल प्रयोगको धम्कीलाई त्याग्ने काम गर्नुपर्छ ।” रासस/एएफपी