धीरेन्द्रप्रसाद साह
जनकपुर, फागुन २९ गते । गाउँका झुपडीदेखि सहरका महलसम्म गुञ्जायमान भइरहने जोगिरा अचेल सुन्न छोडिएको छ । जोगिरा गाउने कला नयाँ पुस्तामा पुस्तान्तरण नहुँदा सुन्न छोडिएको हो । नयाँ पुस्तालाई सिक्ने अभिरुचि नहुँदा यसको सिकाइ पुस्तान्तरण नभएको हो । नयाँ प्रविधि र इन्टरनेट पहुँचले विभिन्न माध्यमप्रति बढेको आकर्षणले पनि पुरानो शैली, परम्परामा अभिरुचि कम जागृत भएको कारण नयाँ पुस्तामा जोगिरा गाउने कला सिप बिरलै पाइने गरेको छ ।
एक दशकअघि सामाजिक सद्भाव, भाइचारा, बन्धुत्व र एकताको पर्व होलीको आगमनदेखि गाउँबस्तीका झुपडीदेखि सहरसम्म होलीमा गाइने गीत जोगिरा सर्वत्र सुन्ने गरिन्थ्यो । अचेल मोबाइल र युट्युबमा जोगिरा सीमित हुँदै गएको देखिन्छ । मधेश प्रदेशका गाउँ गाउँमा मध्यरातिसम्म फागुपर्वको आगमनसँगै जोगिरा सामूहिक रूपमा गाइने चलन थियो तर अहिले त्यसरी गाउने गरेको बिरलै सुनिन्छ । नयाँ प्रविधिको आगमनसँगै आधुनिकतामा ढल्किँदै गएको समाजमा यस्ता गीत रेडियो, टिभी, युट्युब माध्यमबाट बढी सुन्ने र हेर्ने गरिरहेको ३५ वर्षीय डोमन साहले बताउनुभयो । होली पर्व नजिकिएसँग स्थानीय एफएम रेडियोले मैथिली, भोजपुरी, हिन्दी भाषामा होलीको जोगिरा बजाउने गरेका छन् । व्यक्तिगतबाहेक गाउँटोल, सहरका चोकचौराहा, पान पसल, होटेललगायतका स्थानमा यी माध्यमबाट अधिकांश समय जोगिराले गुञ्जायमान भइरहेका छन् ।
“पहिला एफएम रेडियो थिएन, प्रविधिको पहुँच पनि धेरै थिएन,” एफएमका प्राविधिक अर्जुन मण्डलले भन्नुभयो, “फागु (होली) भन्दा एक महिनापहिलेदेखि नै प्रत्येक गाउँबस्तीमा सामूहिक भेला भएर जोगिरा गाउने गरिन्थ्यो । त्यतिबेला गाउँका दलानमा मृगङ्द, झ्याली, हार्माेनियम, मादल, ढोलकका तालमा साँझदेखि राति अबेरसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धको छुट्टाछुट्टै समूह बनाई जोगिरा गाउने चलन थियो । अहिले त्यसरी गाएको भेट्न मुस्किल छ ।
जोगिरा गाउने गबैयाले जोगिराका माध्यमले देवीदेवताको वन्दना गर्ने, हाँसोठट्टा, पे्रमबिछोड र हर्षविनोदका भावगीत गाउने गरिन्थ्यो । जोगिरा गीत रेडियो, टिभी, युट्युबले जीवन्तता दिएर संस्कृतिको जगेर्ना गर्न मद्दत गरिरहेको भए पनि व्यक्तिको गायन कला, नृत्य, वाद्यवादन कलामा ह्रास आएको कलाकार भूपेन्द्रकुमार मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो, “जोगिराप्रति सबैको चासो छ तर समय अभाव तथा समुदायमा पहिले जस्तो गाउँमै बस्नेको कमी छ । जसले गर्दा जोगिरा नयाँ प्रविधिको भर परेको छ ।”
बस्तीका वृद्धवृद्धाका अनुसार जो जहाँ गए पनि घर फर्केर आउँथे र एक महिनासम्म गाउँ गाउँमा राति अबेरसम्म जोगिरा गाएर रमाउँथे । उमेर समूहमा यसरी गाइने जोगिराले सामाजिक सद्भाव, भाइचारा, बन्धुत्व तथा सामाजिक एकता सुदृढ हुँदै जाने गथ्र्यो । वर्षभरि भएका आपसी मनमुटाव, द्वन्द्व, कलह, बिर्सेर एकताबद्ध गर्न जोगिराले ठुलो सहयोग पु¥याउने गरेको बुझाइ छ । होलीपर्वका दिन रङसँगै खेलिने फगडोलको पूर्वअभ्यासका रूपमा समेत जोगिरा गाइन्थ्यो । शिक्षा र संस्कृतिसँग जोडिन नसकिए जोगिरा गीत गाउने कलाकार उत्पादन हुन नसक्ने निश्चित नै देखिन्छ । मधेश प्रज्ञा–प्रतिष्ठानका सदस्य दिनेश यादवले भाषा, साहित्य, कला संस्कृति, गीतसङ्गीतमा काम भइरहेको बताउनुभयो । मधेश प्रदेश सरकारले प्रतिष्ठानका माध्यमबाट लोककला, लोकसंस्कृतिको संरक्षण संवर्धनको काम गरेको उहाँको भनाइ छ ।