• २९ फागुन २०८१, बिहिबार

बगैँचाले सजिएको धरान

blog

धरान समाचारदाता 

धरान, फागुन २९ गते । धरान उपमहानगरपालिकाको अधिकांश घर फूलहरू ढकमक्क भएका छन्  । हरेक घर मा फुलेका फूलले पूर्वको सुन्दर नगरी भनेर चिनिन धरानको सौन्दर्य बढाएको छ । यहाँका करेसाबारीमा नभए पनि फूलबारी भने हुने गरेको छ । सुकुमवासी बस्तीदेखि लाहुरे बस्तीसम्म फूलले ढकमक्क हुने गर्छन् ।  कतिपय स्थानमा घरको जग्गाभन्दा ठुला फूलबारी रहने गरेको छ । 

२०४६ सालदेखि धरान–१० मा बसोबास गर्दै आउनुभएकी कृष्णकुमारी लिम्बूले आफ्नो घरअगाडि लालुपाते, बेगमबेली, पिटेनिया जस्ता फूल ढकमक्क फुलाउनुभएको छ । घरको ढोकादेखि कोठाभित्र साथै छतमा समेत फूलले सजाइएको छ । श्रीमान्सँग पल्टनमा हुँदा फूल धेरै देखेकाले नेपाल घर आएदेखि फूल रोप्न थालेको उहाँले बताउनुभयो । पहिला पहिला त नगरपालिकाले फूलबारी हुनेको प्रतिस्पर्धा पनि गराउने चलन थियो । उहाँले बताउनुभयो । 

उहाँ २०६२ सालमा धरान नगरपालिकाले फूलबारीको प्रतिस्पर्धा गराउँदा आफू प्रथम भएको पनि स्मरण गर्नुभयो । यसै गरी धरान–१२ निवासी एलिना राई पनि फूलको सोखिन भएकाले आफ्नो घर वरपर धेरै थरीका फूलले सजाउनुभएको छ । उहाँले आफ्नो अाँगन मात्र नभएर घरकोठा पनि सजाउनुभएको छ । फूल फुल्दा मनमा आनन्दित हुने,  शान्ति मिल्ने भएकाले सानैबाट फूल किनेर नै ल्याएर रोप्ने गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “फूलहरू हेर्दा सकारात्मक सोच आउँछ मन पनि भुलाउन सजिलो हुन्छ ।” यहाँका बगैँचामा विशेष गरी गुलाब, मखमली, चमेली र ओर्किड जस्ता फूलहरू देख्न पाइन्छ ।

केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने गरेको भएपछि अहिले लाहुरेहरू लाहुरतिरै पलायन हुन थालेका छन् । यद्यपि  लाहुरेहरूले छोडेको छाप भने रहेकै छ, सफा धरान फूलबारीको सहर धरान अहिले पनि उस्तै रहेको छ । धरान नगरपालिका प्रमुखमा हर्कराज राई निर्वाचित भएसँगै  फूलहरू रोप्ने चलन झनै बढेको छ । अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको छ । नगरप्रमुख राईले सञ्चालन गरेको श्रमदान अभियानमार्फत खोलाको बगर र डाँडाकाँडा, सडकको छेउछाउ, खोलाका किनारलगायत, धरान–तरहराको सडकखण्ड, धरान–भेडेटार सडकखण्डको बाटोमा समेत फूल बिरुवाले ढकमक्क छ । यसले आन्तरिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । 

यसै गरी उपमहानगरपालिकाको लगानीमा भानुचोकदेखि छाताचोकसम्मको मुख्य सडकको दायाँबायाँ फलामको रेलिङमा गमला राखेर फूल रोपिएका छन् । यसले पनि धरानको सुन्दरता बढाएको छ । धरानको सफा, हरियाली, वातावरण र घर घरमा रहेको फूलबारीले पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ । फूललाई सोखका रूपमा रोप्दारोप्दै व्यवसायी बनेर कतिपयले त राम्रो आम्दानी पनि गरिरहनुभएको छ । धरान–२० का युवा युमेनहाङ राई पनि सानैदेखि फूलका सोखिन भएकाले फूलहरू सङ्कलन गर्दै रोप्ने क्रममा कोभिड–१९ को महामारीपछि एभरेस्ट नर्सरी खोली व्यावसायिक रूपमा नर्सरी चलाउँदै आएको बताउनुहुन्छ ।