बैतडी समाचारदाता
बैतडी, फागुन २९ गते । चोरीसिकारी जस्ता वन्यजन्तु अपराधका कारण मानव–वन्यजन्तुबिच द्वन्द्व बढेको निष्कर्ष निकाल्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी तालिम दिन सुरु गरेको छ । वन्यजन्तु अपराध नियन्त्रणका लागि अग्रमोर्चामा खटिने डिभिजन वन कार्यालयसहित विभिन्न निकायका कर्मचारीलाई पाँचदिने तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।
उहाँले प्रदेशका नौ वटै जिल्लामा तालिम दिने कार्यक्रम अन्तर्गत पहिलो चरणमा यही फागुन १९ देखि २३ सम्म बैतडी, डडेलधुरा र अछाममा तालिम सम्पन्न भएको बताउनुभयो । प्रशिक्षकका लागि प्रशिक्षण तालिम लिइसकेका वनकर्मी तथा डिभिजन वन कार्यालय, संरक्षित क्षेत्र कार्यालय, नेपाल प्रहरी, सरकारी वकिल कार्यालय, जिल्ला अदालत, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायबाट प्रशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो ।
चितुवा–मानव द्वन्द्व
बैतडीमा २०६८ सालदेखि चितुवा–मानव द्वन्द्वमा परी हालसम्म २८ मानिसको ज्यान गएको छ । सोही सङ्ख्यामा चितुवाको समेत पासोमा परेर मृत्यु भइसकेको छ । चितुवाले खाने आहारा मानिसले चोरीसिकारी गर्न थालेपछि द्वन्द्व बढेको विज्ञको भनाइ छ । मावन–वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न संरक्षण कोषले बैतडीको तल्लो स्वराड क्षेत्रका विभिन्न ठाउँमा ५० वटा स्वचालित क्यामरा जडान गरेर चितुवाको अध्ययनसमेत सुरु गरेको छ ।
चितुवा प्रभावित बैतडीको तल्लो स्वराड क्षेत्रका तीन वटा पालिकाका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा ५० वटा स्वचालित क्यामरा जडान गरेर अनुसन्धान सुरु भएको छ । अध्ययन टोलीले १५ दिनसम्म चितुवा र वन्यजन्तुको गतिविधि रेकर्ड गरेर फर्किएको छ । क्यामरामा रेकर्ड भएका गतिविधिको अध्ययनपछि चोरीसिकारी नियन्त्रण गर्न अग्रमोर्चामा खटिने कर्मचारीलाई तालिम र समुदायसँग छलफल गर्न सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो ।
समुदायलाई सचेतना र सहयोग
अध्ययन टोलीले वन्यजन्तुको अनुगमन गरेर वन्यजन्तुको वासस्थान र जैविकमार्गको पहिचान गरेर नक्साङ्कन गरेको छ । सुदूरपश्चिम प्रदेशमा बाघ, चितुवा र अन्य वन्यजन्तु संरक्षणका लागि रणनीति तर्जुमा गरेर सीमापार संरक्षण अन्तर्क्रिया, संरक्षित क्षेत्रको व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वस्तुभाउको सुरक्षित गोठ, खोर निर्माण, वन्यजन्तु उद्धार केन्द्र, उपकरण र जनशक्ति परिचालन, मानव–वन्यजन्तु सहअस्तित्व विकासका लागि संरक्षण शिक्षा जस्ता क्रियाकलाप सुरु भएका छन् ।
मानव र चितुवाको द्वन्द्व घटाउन मेलौली नगरपालिका–९, विशालपुरगाउँका स्थानीयलाई चितुवा मान्छेको शत्रु होइन भन्ने बुझाउन थालिएको छ । चितुवाबाट जोगिन मानिसले आफ्ना आनीबानी परिवर्तन गर्ने विषयमा तालिम दिएर ३६ परिवारलाई वैकल्पिक जीविकोपार्जनका लागि ३२ लाख रुपियाँ सहयोग प्राप्त भएको सामाजिक अगुवा नरिराम लोहारले बताउनुभयो । चितुवा प्रभावित बस्ती छनोट गरेर बाख्रापालनका लागि खोर निर्माण, अदुवा, बेसार खेती र कृषि उपज सङ्कलन केन्द्रका लागि समुदायले सहयोग प्राप्त गरेका हुन् । चितुवा प्रभावित बस्तीका दुई वटा सामुदायिक वनका समूहलाई आयआर्जन गर्न १८ लाख रुपियाँ उपलब्ध गराइएको छ । उक्त रकम छ प्रतिशत ब्याजदरमा समुदायले जीविकोपार्जनका लागि ऋण पाउने छन् । चितुवा र मानवबिच सहअस्तित्व कायम गर्न स्थानीय मेलौली सामुदायिक सिकाइ केन्द्र र विशालपुर सामुदायिक सिकाइ केन्द्रका पदाधिकारी यो अभियानमा लागेको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो ।