नेत्र शाही
जुम्ला, फागुन २९ गते । पछिल्लो समय महिलाको नेतृत्वमा योजना निर्माण हुन थालेका छन् । यहाँको हिमा गाउँपालिका–२, कोइरेली गाउँका सुषमा रोकायाले सामाजिक स्तरको विकास निर्माणका काममा महिलाले सक्रियता देखाउन थालेको धेरै भएको बताउनुभयो ।
उहाँले यस पटक पनि उल्लेख्य महिलाको सहभागितामा गाउँमा खानेपानीको कुलो खन्ने काम भएको उल्लेख गर्नुभयो । स्थानीय अगुवा चन्द्रबहादुर रोकायाका अनुसार उहाँ जस्तै उक्त गाउँका उपभोक्ता समितिमा बसेका महिला पुन्नकला रोकाया, शान्ति रोकाया, हरिकला रोकाया, कन्नकला रोकायालगायत धेरै महिलाले विकास निर्माणका काममा अगुवाई थालेका छन् । उनीहरूले गाउँबाट झन्डै पाँच किलोमिटर टाढाबाट पानी ल्याउने योजनामा सरिक भएका छन् ।
हिउँदे सिजनमा यस क्षेत्रका पुरुष धेरै जसो रोजगारीका सिलसिलामा भारत तथा नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गर्न जाने भएकाले कुनै काम तथा योजना भएमा महिलाले नै धान्ने गरेका छन् । स्थानीय चन्द्रवीर रोकायाका अनुसार यस वर्ष गाउँबाट झन्डै चार हजार सात सय मिटर टाढा दुवाडेको रिकखोलाबाट कुलो खनेर पानी ल्याइएको छ । त्यसमा अधिकांश श्रम तथा काम गर्ने महिला छन् । हिमा गाउँपालिकामा खानेपानी क्षेत्रमा खानेपानीमा काम गर्दै आएको सुस्वा परियोजना संयोजक सुमित्रा शाहीका अनुसार विकास निर्माणका योजनामा काम गर्न महिलाको अगुवाई सराहनीय भएको बताउनुभयो । हिउँदे सिजनमा व्यापार तथा विभिन्न सवालमा पुरुष जिल्लाबाहिर गएको समयमा विकासको कामको अगुवाई महिलाले लिने गरेका छन् ।
उहाँका अनुसार बर्सौंदेखि खानेपानी अभाव रहेको कोइरेल गाउँमा हिमा गाउँपालिकाको सहकार्य तथा सुस्वा आयोजनाको सहकार्यमा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । कोइरेली खानेपानी तथा सरसफाइ योजनाको निर्माण कार्य सम्पन्न गर्न स्थानीय महिला बढी अग्रसर बनेका छन् । जाडो समयमा जुम्लामा हिउँ तुसारोले गर्दा विकास निर्माणको काम गर्न सकिँदैन । योजनामा पुस, माघ, फागुनको जाडोमा महिलाले विकास निर्माणमा सक्रिय भएर गाउँमा खानेपानीको काम सकिएको हो । अहिले पनि समुदायमा महिलाले विकास निर्माण गर्न सक्दैनन् भन्ने धारणा रहेको छ । अवसर पाए हरेक काम गर्न सक्षम छौँ भन्ने उदाहरण बनेका छन् कोइरेली गाउँकी महिला ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार खानेपानीको अभाव भोगिरहेको कोइरेली गाउँलाई मध्यनजर गर्दै हिमा गाउँपालिकाको लागतमा खानेपानी निर्माण अन्तिम चरणमा पुगेको हो । गाउँपालिकाका अनुसार यो योजनामा जम्मा ४४ घरमा एक घर एक धारा र एक हिमा आधारभूत विद्यालयमा धारा निर्माण हुने छ । खेर गएको खानेपानीको उपयोग गर्न दुई वटा सिँचाइ पोखरी निर्माण गरेर स्याउ, करेसाबारी, कोसेबालीको सिँचाइ गरिने छ । कोइरेली खानेपानी तथा सरसफाइ योजनाको कुल लागत ६७ लाख ९७ हजार ७२५ रहेको मध्ये हिमा गाउँपालिकाको ५४ लाख ६६ हजार र उपभोक्ताको श्रमदान १३ लाख ३१ हजार रहेको छ ।